मेडिकल व्यवसाय गर्ने नाममा १ करोड ९५ लाख रुपैयाँ ठगी

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 6 mins

राजविराज । सप्तरी सदरमुकाम राजविराज स्थित डेन्टल क्लिनिकका सञ्चालकले मेडिकल व्यवसाय गर्ने नाममा १ करोड ९५ लाख रुपैयाँ ठगी गरेको रहस्य खुलेको छ ।

राजगढ गाउपालिका ३ नर्घो घर भएका डा विवेक झाले मेडिकल व्यवसायका लागि भन्दै पटक पटक गरी उक्त रकम लिएको जिल्लाको बोदे बरसाईन नगरपालिका–८ रजेपट्टीका ३९ वर्षीय मनिकलाल यादवले पत्रकार सम्मेलन मार्फत बताउनु भएको हो ।

१ करोड ९५ लाख सापटी लिएको २ वर्ष बितिसक्दा पनि रकम फिर्ता नगरेको पीडित पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयाे ।

झाले मेडिकल व्यवसायको नाममा आफूसँग तीन वर्ष यता पटक पटक गरी १ करोड ९५ लाख रुपैयाँ सापटी लिएको र फिर्ता दिन अस्वीकार गर्दा आफू सहित पुरै परिवार समस्यामा परेको दुखेसो व्यक्त गर्नुभयाे ।

सापटी लिएको रकम माग्दा उल्टै मिटरब्याजमा फसाई दिने र तह लगाई दिने भन्दै चेतावनी डा. झाले दिने गरेको उहाँले सुनाउनु भयो । डा. झाको राजविराजको नेता चौकमा बालाजी डेन्टल क्लिनिक समेत सञ्चालनमा छ ।

“मेडिकल व्यवसायका लागी केही रकम चाहिएको छ ४/५ महिना भित्रै फिर्ता गरिदिन्छु भने पछि विश्वासमा परी पटक पटक गरेर १ करोड ९५ लाख रुपैयाँ डा. झालाई दिएकाे उहाँले बताउनु भयाे ।  उहाँले भन्नुभयो, 'तर ३ वर्ष बितिसक्दा पनि रकम फिर्ता पाइएको छैन ।'

केही रकम हातहातै नगदै र १ करोड २८ लाख रुपैयाँ बैङ्किङ कारोबार मार्फत डा. झाको खातामा सोझै जम्मा गरिदिएको बताउँदै उनले पत्रकार सम्मेलनमा बैंक स्टेटमेण्ट, भाउचर, लगायतका कागजात समेत प्रमाणका रुपमा पेश गरेका छन् ।

मनिक लाल विगत १३ वर्ष देखि साउदी अरेबिया स्थित जर्मनीको डिवि– ईन्जिनियरींग एण्ड कन्सलटेन्सी वल्ड वाईड कम्पनीमा इन्जिनियर पदमा काम गर्दै आएका थिए । दैनिक १२/१३ घण्टा मिहिनेत गरेर कमाएको पैसा विश्वासमा परी सापटी दिँदा अहिले आएर डा. झाले फिर्ता दिन नमानेको र पचाउने नियत देखाएको उहाँको गुनासो छ । निकै प्रयास गर्दा पनि झाले पैसा फिर्ता गर्ने नियत नदेखाएपछि मनिक लालले सामाजिक स्तरबाट दबाब बनाउन सुरु गरेका थिए ।

साे कुरा समाजमा बाहिरिए पछि प्रतिष्ठा गुम्ने डरले डा. झाले २०७८ साल असोज ८ गते आफ्नो नाममा रहेको सनराइज बैंक लिमिटेड शाखा राजविराजको खाता नं. ०२४१०१४६९२०१४ बाट साटिने गरी १ करोड ९५ लाखको चेक मनिक लाललाई दिए । तर खातामा रकम न भएका कारण ४ पटक चेक बाउन्स भएकाे उनले सुनाए ।

डा. झा विरुद्ध बैङ्किक कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) अन्तर्गत कारवाहीका लागी प्रहरी हुँदै अदालत सम्म  पुगेकाे बताउनु भयाे ।

सोही अनुसार उच्च अदालत जनकपुरको वाणिज्य इजलासले २०८० जेठ २ गते जिल्ला प्रहरी कार्यालय सप्तरीलाई पक्राउ पुर्जी अनुमति सहितको सक्कल मिसिल पठाएपछि प्रहरीले सक्रियता देखायो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी नरेश कुमार सिंहका अनुसार बैङ्किङ कसुर मुदामा अहिले डा. झा प्रहरी हिरासतमा छन् । ८ दिन अघि जेठ २३ गते काठमाडौंबाट टेकु प्रहरी परिसरको मदतले पक्राउ परेका डा. झालाई हिरासतमा राखी अनुसन्धान भइरहेको उहाँको भनाई छ ।

डा. झालाई छुटाउन आफन्तजनले २ दिन अघि जनकपुर–राजविराज इजलासमा बन्दी प्रत्यक्षीकरण रिट समेत दायर गरेका थिए । उनको तर्फबाट बहसपैरवीमा सहभागी कानून व्यवसायीले डा. झा निर्दोष भएको र झूटो अभियोग लगाएर थुनामा राखेको जिकिर गरे पनि अदालतले सो रिट निवेदन खारेज गरेको थियो ।

पीडित पक्षले न्याय खोज्दै जाँदा राजनैतिक पहुँच र पैसाको चलखेल गरी आफुहरुलाई असुरक्षित बनाउने प्रयास समेत सुरु भएको भन्दै शान्ति सुरक्षाको व्यवस्थाका लागी पहल गरिदिन समेत पत्रकार सम्मेलनमा आग्रह गरेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?