एनआरएनए जापानद्वारा रविन शर्मा सम्मानित

हिमालय टाइम्स
Read Time = 4 mins

टाेकियाे । एनआरएनए जापानको एघारौँ राष्ट्रिय महाधिवेशनको अवसरमा नेपाल र नेपालीको हितमा काम गर्ने जापानमा रहेका लगभग १७० क्रियाशील संस्थाहरू मध्ये ‘सर्वप्रिय नेतृत्व उत्कृष्ट संस्था-२०२३ बाट’ अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरका अध्यक्ष रविन शर्मालाई सम्मान गरिएको छ। ‘जापानमा रहेर निरन्तर रूपमा नेपाली भाषा, साहित्य तथा विभिन्न सामाजिक अभियानहरूमा क्रियाशील रही योगदान पुर्याइरहनुभएको हुनाले वहाँको उच्च कदर गर्दै सम्मान गरिएको एनआरएनए जापानका प्रवक्ता सुवाश लामिछानेले बताउनुभयाे ।

एनआरएनए जापानका अध्यक्ष शीवप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिकाे रुपमा जापानका लागि नेपाली राजदूतावासका महामहिम राजदुत दूर्गा बहादुर सुवेदी रहनु भएकाे थियो ।

विभिन्न सामाजिक संघसंस्थाहरुमा क्रियाशील व्यक्तिहरुको सहभागिता रहेको सो कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्रदेश सांसदहरू माननीय द्रोण कुवँर, माननीय रूपा बिक पोख्रेल,आइसिसि उपाध्यक्ष महेश श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

शान्तिकुमारी पौडेल शर्मा र केशवप्रसाद उपाध्यायको सन्तानको रूपमा २०५० साल कात्तिक २७ गते भारतको नागाल्याण्डमा जन्मिएका रविन शर्माको स्थायी घर पर्वत जिल्लाको कुस्मा नगरपालिकाभित्र पर्ने चुवा पाखाथोक हो । उहाँ अहिले रोजगारीको सिलसिलामा जापानको एक प्रतिष्ठित रेमिट्यान्स कम्पनीमा काम गर्नुहुन्छ । समाज सेवा र परोपकारी काममा समेत अग्रसर रविन एनआरएनए जापानका सल्लाहकार हुनुहुन्छ। अध्ययनको क्रममा पोखरामा रहँदा रेडियो नाटक र रंगमञ्चमा समेत अभिनय गर्नुभएका रविनले जापानमा हुने अधिकाँस कार्यक्रमहरुको सहजिकरण, उद्घोषणका साथै समस्यामा परेका नेपालीहरुलाई सहयोग जुटाउन समेत पहल गर्नुहुन्छ । साहित्यिक जगतमा उमेरले बल्ल ३ दशक पार गर्नुभएका रविन जापानमा मात्र हैन विश्वभरी नै परिचित हुनुहुन्छ ।

सन् २०१४ मा अनेसासको आजीवन सदस्य बन्नुभएका रविन अनेसास जापान च्याप्टरको कार्यसमिति सदस्य, सचिव, महासचिव हुँदै अध्यक्ष बन्नुभएकाे हाे। नयाँ कवि तथा साहित्यानुरागीहरुलाई कृति प्रकाशनमा प्रोत्साहन गर्ने र जापानमा रहेका बालबालिकाहरुलाई नेपाली भाषा, साहित्य र परम्परा सिकाउनुका साथै नेपाल चिनाउनुपर्छ भन्ने सोचका साथ अघि बढ्नुभएका रविनले अनेसासको कार्यक्रममा बालबालिका र तिनका अभिभावकलाई समेत सहभागी गराउने गर्र्नुहुन्छ । आगामी दिनमा पनि अनेसासमै रहेर परदेशमा रहेका तेस्रो पुस्ताहरुको मानसपटलमा नेपाली भाषाको मोह जागृत गराउने आफ्नाे लक्ष्य रहेको उहाँकाे भनाइ छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?