युथ ओपन फाइभ के रनको तयारी पूरा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एथलेटिक्स परिवार नेपालको आयोजनामा शनिबार हुने युथ ओपन फाइभ के रनको सम्पूर्ण तयारी पूरा भएको छ । ‘चेतनशील युवा सशक्तीकरण’ भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगिता दशरथ रंगशालामा सञ्चालन हुनेछ ।

प्रतियोगितामा तीन विभागीय टिमका खेलाडीसहित देशभरका ४८ जिल्लाबाट ३८६ जना खेलाडीले नाम दर्ता गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो । जसमा १३२ जना महिला छन् । प्रतियोगिताको विजेता (महिला र पुरुष)ले ट्रफी, पदकसहित समान २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले १० हजार, तेस्रोले पाँच हजार, चौथो र पाँचौं हुनेले समान दुई हजार र छैटौं देखि दशौं स्थानसम्म हासिल गर्ने खेलाडीले समान एक हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

दशरथ रंगशालाबाट सुरु हुने दौड सुन्धारा, वीर अस्पताल हुदै केशलमहल पुग्नेछ । त्यसपछि नारायणहिटी संग्राहलयको दक्षिण गेट हँुदै घण्टाघर, भृकुटीमण्डप, भद्रकाली, शहीद गेट, सुन्धारा हुँदै दशरथ रंगशालामा आएर समापन हुनेछ ।

एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले युवा खेलाडीलाई एक्सपोजर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभएको छ । प्रतियोगिताको सम्पूर्ण म्यानेजमेन्ट ‘प्रो स्पोर्ट्स प्रा.लि’ ले गर्नेछ । प्रतियोगितालाई काठमाडौं महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, नेपाल एथलेटिक्स एसोसिएसन, नेपाल इनभेष्टमेन्ट मेगा बैंंक, खेलपाटी, इको प्यानल नेपाल, लुम्बिनी हेल्थकेयरलगायतले सहयोग गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?