तिला गाउँपालिकाद्वारा नीति तथा कार्यक्रमका लागि सुझाव संकलन

विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । जुम्लाको तिला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी कार्य प्रारम्भ गरेको छ । यसका लागि तिलाले सुझाव सङ्कलनलाई तीव्र बनाइरहेको छ ।

आगामी आवको नीति, बजेट तथा कार्यक्रम तर्जुमाका लागि आईतबार राजनीतिक दल,बुद्धिजीवी, सञ्चारकर्मी, समाजसेवी, पेसाकर्मी कर्मचारी,निस्वर्तमान वडाध्यक्ष र आम नागरिकबाट राय सुझाव माग गरिएको तिला गाउँपालिमा उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिनुभयो ।

आगामी असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको र यसैको तयारीस्वरुप सुझाव सल्लाह सङ्कलन कार्यलाई सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, वन वातावरण, सेवा प्रवाह र सुशासनका सवालमा आफ्ना सुझाव सल्लाह र राय पेस गर्न सकिने गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताउनुभयो ।

नीति, बजेट तथा कार्यक्रम गाउँपालिकाले ल्याउँदा यहाँका स्थानीयको आवश्यकता र दिगो विकास आयोजनालाई विशेष प्रथामिकतामा राखेर बजेट ल्याउनुपर्नेमा यहाँका सरोकारवालाहरुले सुझाव दिएका थिए।

जिल्लाका अन्य स्थानीय तहहरुले पनि आगामी आवको नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव सङ्कलन गरिरहेका छन् ।

राय सुझावकै आधारमा आगामी वर्षको नीति, बजेट तथा कार्यक्रम ल्याइने तिला गाउँपालिमा निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन बहादुर विष्टले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?