कर फस्र्योटमा भ्रष्टाचार प्रकरण

चूडामणि शर्मासहित तीन जनालाई नौ वर्ष कैद र जनही चार अर्बभन्दा बढी जरिवाना

डिबी शर्मा
Read Time = 7 mins

काठमाडौं । विशेष अदालतले कर फस्र्योट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेशप्रसाद ढकाल र सदस्य सचिव तथा आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मालाई भ्रष्टाचार मुद्दामा जनही नौ वर्ष कैद सजाय सुनाएको छ । मंगलबार विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले उनीहरूलाई नौ वर्षको कैद सजाय सुनाएको हो । विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार लुम्बध्वज महतलाई नौ वर्ष एक महिना कैद सुनाएको हो भने ढकाल र शर्मालाई नौ/नौ वर्ष कैद सुनाएको छ । इजलासले जेठ १८ गते नै उनीहरूलाई दोषी ठहर गरेको थियो ।

विशेष अदालतले कर फस्र्योट आयोगको भ्रष्टाचार मुद्दामा हालसम्मकै सबैभन्दा बढी बिगो र जरिवाना निर्धारण गरेको छ । विशेष अदालतले यसअघि नै उनीहरूमाथि ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४७ रुपैयाँ कुल बिगो कायम गरेको थियो । दामासायीले भाग लगाउँदा हरेकले दुई अर्ब पाँच करोड ४६ लाख ९८ हजार ९४९ रुपैयाँ बिगो तिर्नुपर्ने प्रवक्ता दिपेन्द्रनाथ बताउनुभयो । राजस्व चुहावटको मुद्दामा बिगोको दोब्बर सजाय हुने भएकाले उनीहरूले जनही चार अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँ जरिवाना तिर्नुपर्ने छ । बिगो र जरिवाना गरेर हरेकको भागमा चार अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँ तिर्नुपर्ने छ ।

उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कर फस्र्योट आयोग ऐन, २०३३ ले दिएको क्षेत्राधिकारबाहिर गएर बदनियतपूर्वक करदाताहरूसँग कर फस्र्योट सम्झौता गरी सरकारलाई प्राप्त हुने ठूलो मात्राको राजस्व रकम चुहावट गरेर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले २०७४ साल असारमा उनीहरूविरुद्ध १० अर्ब ९६ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनीहरूले विभिन्न व्यापारीलाई अनियमित तरिकाले कर छुट दिएको अख्तियारको आरोप थियो ।

२०७१ सालमा गठन गरेको कर फस्र्योट आयोगले बक्यौताका रूपमा रहेको ३० अर्ब ५२ करोड रुपैयाँ फस्र्योट गरी नौ अर्ब ५४ करोड रुपैयाँ मात्रै असुल गर्ने निर्णय भएको थियो । यति ठूलो परिमाणमा कर छुट दिँदा राज्यलाई ठूलै नोक्सानी परेको निष्कर्षसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर गरेको करिब ६ वर्षपछि फैसला आएको हो ।

गैरकानुनी सम्पत्ति आर्जन गरेको अर्को मुद्दामा भने अदालतले उनीहरूलाई सफाइ दिएको थियो । चुडामणिविरुद्ध तीन करोड ६३ लाख ७२ हजार ९६१ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबीसहित अख्तियारले छुट्टै मुद्दा दायर गरेको थियो । तर, यो मुद्दामा भने चुडामणि शर्माले सफाइ पाएका छन् ।

प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैया सिराहाका तत्कालीन प्रहरी सहायक निरीक्षक सचिनकुमार भदैसवारविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो । मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक भदैसवारले जाहेरी दर्ता गर्ने क्रममा सेवाग्राहीसँग नौ हजार घुस लिएको अख्तियारको ठहर छ । घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको कार्यालय बर्दिबासबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

चार लाख घुससहित तीन कर्मचारी पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई चार लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको टंगाल र इटहरीबाट गएको संयुक्त टोलीले आयोजना व्यवस्थापक हुतराज चौहान, इञ्जिनियर रविन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई घूससहित कार्यालय परिसरबाटै पक्राउ गरेका हो । सडक निर्माणका लागि अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिएबापत उनीहरूले निर्माण व्यवसायीबाट घुस लिएको अवस्थामा मंगलबार नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?