नागरिकता पीडितको आन्दोलनमा प्रहरीको बल प्रयोग

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नागरिकताको माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलनरत सर्वसाधारणमाथि प्रहरीले बल प्रयोग गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाउँदा आफूहरू नागरिकताबाट वञ्चित भएको भन्दै नागरिकता पीडित संघर्ष समितिले मंगलबार माइतीघरमा प्रदर्शन गरेका थिए । त्यस क्रममा आन्दोलनरत सरोज शाहले माइतीघरमै आत्महत्या प्रयास गर्नुभएको थियो । उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेश मैनालीका अनुसार आत्महत्या प्रयास गर्ने साहलाई उद्दार गरिएको छ ।

लामो समयदेखि नागरिकता नपाएका बाराका सरोज साहले घाँटीमा डोरी लगाएर आत्महत्या प्रयास गर्नुभएको थियो । सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ । उपचारका लागि साहलाई ट्रमा सेन्टर लगिएको छ । संघर्ष समितिका राष्ट्रिय अध्यक्ष इन्द्रजीत सापिले भन्नुभयो, ‘नागरिकताविहीन नेपालीको दुख र संवेदनामाथि सम्बन्धित पक्षले रातदिन खेलवाड गरिरहेको छ । कहिले संसदले त सरकारले त कहिले अदालतले हाम्रो अधिकार हनन् गरिरह्यो ।’

साफिका अनुसार संघर्ष समितिका ३४ जनालाई प्रहरीले पक्राउ गरेको छ । नागरिकता ऐन कार्यान्वयनमा लैजानुपर्ने माग राख्दै उनीहरूले आन्दोलन गरेका हुन् । यही समूहले मंगलबार सर्वोच्च अदालत परिसरमा नारा जुलुस गरेको थियो । निषेधित क्षेत्रमा नारा जुलुस गरिएको भन्दै प्रहरीले ३४ जनालाई नियन्त्रणमा लिएको हो । साफिले भन्नुभयो । शान्तीपूर्ण रूपमा माइतीघरमा आन्दोलन गरिरहेका हामीमाथि प्रहरीले अमानवीय तरिकाले कुटपिट ग¥यो । प्रहरीको लाठी प्रहारबाट धेरै मान्छे घाइते भएका छन् । एक जनाको टाउको फुटेको छ । दुई जना गम्भीर घाइते हुनुहुन्छ । नागरिकता ऐन रोकेर हामीलाई थप पीडा र दुख दिने हो भने हामी कडा रूपमा आन्दोलन गर्छौं ।’

नागरिकता नपाउँदा मानव अधिकार खोसियो : आयोग
दशौं लाख नेपाली आमाबुवाका सन्तानले नागरिकता नपाउँदा उनीहरूको मानव अधिकार खोसिएको छ । नागरिकता नहुँदा व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने हक समेत खोसिएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । नागरिकताको विषय नागरिकको राष्ट्रियता, शिक्षा आर्जन गर्ने, पेसा र रोजगारी प्राप्त गर्ने, सम्पत्तिको अधिकार, सामाजिक न्यायलगायतका हरेक पक्षसँग जोडिएको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बताउनुभयो । नागरिकता प्राप्त गर्ने अधिकारको संरक्षणका लागि आयोगमा पीडितहरूले ज्ञापनपत्र समेत बुझाएका थिए ।

यसबारे आयोगले सोमबार आधिकारी धारणा समेत सार्वजनिक गरेको छ । नागरिकता प्राप्तिको अधिकारबाट नेपालीलाई वञ्चित गर्न नहुने आयोग भनाइ छ । नागरिकता प्राप्तिका लागि धर्ना, आन्दोलन एवम् आत्मदाहको प्रयास गर्ने अवस्थाको सिर्जना हुनु लोकतान्त्रिक राज्यका लागि अत्यन्त दुःखदायी स्थिति रहेको आयोगले जनाएको छ । जन्मसिद्ध नागरिकता भएका व्यक्तिका सन्तानलाई सरकारले नागरिकताबाट बञ्चित गरेको भन्दै पीडितहरूले जेठ २२ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्नामा दिँदै आएका छन् ।

धर्नास्थलमा मानवअधिकार आयोगले स्थलगत अनुगमन पनि गरेको छ । अनुगमनको क्रममा १६ वर्षदेखि ३५ वर्षसम्मका नागरिकहरू धर्नामा बसेको पाइएको थियो । यो उमेर समूहका नागरिकहरूले अध्ययन, पेसा, व्यवसाय गरी जीवन यापन गर्न समस्या भइरहेको आयोगले जनाएको छ । ‘नागरिकता नहुँदा उच्चशिक्षा अध्ययन गर्न, वैदेशिक रोजगारमा जान, नेपालमै रोजगारी तथा पेसा व्यवसाय गर्न नपाएको पाइएको छ’, आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले भन्नुभयो । व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकारका सबै पक्षसँग जोडिएको नागरिकता सम्बन्धी समस्या समाधान गर्न सबै पक्षलाई गम्भीर बन्न आयोगले आग्रह गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?