एमालेको उम्मेदवार छनोट मापदण्ड, समानुपातिकमा नदोहोर्याउने, प्रत्यक्षतर्फ जित्नेलाई उठाउने

डिबी शर्मा
Read Time = 10 mins

-डिबी शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी निर्वाचनमा उम्मेदवार छनोटको मापदण्ड तय गरेको छ । शनिबार सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकले उम्मेदवार छनोटको मापदण्ड तय गरेको हो । पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार एमालेले पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्धता, लोकप्रियता र विजयको सुनिश्चितता भएका व्यक्तिलाई उम्मेदवार बनाउने भएको छ । त्यस्तै, पार्टीप्रतिको निष्ठा र आन्दोलनको योगदान, सन्तुलन र समावेशिता, निर्वाचन कानुन बमोजिमको योग्यता पुगेको व्यक्तिलाई प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनाउने मापदण्ड तय गरेको उहाँले जानकारी दिनुभयो । समानुपातिकका लागि बन्दसूचीकोे उम्मेदवार प्रस्ताव गर्दा सन्तुुलन, समावेशीता र अवसरको न्यायोजित वितरणलाई समेत ध्यानमा राख्नुपर्ने बैठकले निर्णय गरेको छ ।

स्थानीय तह वा अन्य कुनै पनि तहका बहालवाला जनप्रतिनिधिलाई राजीनामा गराएर प्रतिनिधिसभा वा प्रदेशसभामा उम्मेदवार सिफारिस गर्न नहुने निर्णय एमालेले गरेको छ । ‘पछिल्लोपटक भएको कुनै पनि निर्वाचनमा पराजित उम्मेदवारहरू कसैलाई पनि प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष वा समानुपातिकतर्फको उम्मेदवार बनाउनु उपयुक्त हुन्न,’ केन्द्रीय समिति बैठकका निर्णय सुनाउँदै गुरुङले भन्नुभयो, ‘तर जनाधार भएका र निर्वाचन प्रयोजनलाई समेत ध्यानमा राखेर अन्य पार्टीबाट प्रवेश गराइएकाको हकमा विशेष निर्णय लिन उपयुक्त हुन्छ । प्रत्यक्ष निर्वाचित हुने क्षेत्रमा कतिपटक उम्मेदवार बन्ने भन्नेतर्फ व्यावहारिक हुन्न । त्यहाँ पार्टीको जनाधार मात्रै होइन । निर्वाचन दाउपेच, आवश्यकता र नेतृत्वको पक्षलाई पनि ख्याल गरिन्छ । जित्ने सम्भावना बढी र संसदीय भूमिका प्रभावकारी भएकाहरूलाई नै उम्मेदवार बनाइन्छ ।’ गुरुङका अनुसार बैठकले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार निर्वाचन आयोगमा सिफारिस गर्ने अख्तियार अध्यक्ष केपी शर्मा ओलीलाई दिने निर्णय पनि गरेको छ । बैठकले पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ ।

भदौ २२ गतेभित्र उम्मेदवार सिफारिस गरिसक्न सम्बन्धित कमिटीलाई निर्देशन, एकजना महिला अनिवार्य

नेकपा एमालेले भदौ २२ गतेभित्र उम्मेदवार सिफारिस गरिसक्न पार्टीको सम्बन्धित निर्वाचन क्षेत्र समन्वय कमिटीलाई निर्देशन दिएको छ । सम्बन्धित प्रतिनिधिसभा क्षेत्रीय समन्वय कमिटीले प्रतिनिधिसभा र सम्बन्धित प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले सोही क्षेत्रको उम्मेदवार सिफारिस गर्न बैठकले निर्देशन दिएको गुरुङले जानकारी दिनुभयो । एउटा मात्रै निर्वाचन क्षेत्र रहेका जिल्लाहरूले जिल्ला कमिटीको बैठकबाट उम्मेदवार सिफारिस गर्नुपर्ने छ । उहाँका अनुसार एकजना महिला अनिवार्य रहने गरी दुवै निर्वाचनका लागि तीनजना उम्मेदवार सिफारिस गर्नुपर्नेछ । उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मेवारी केन्द्रीय कमिटीलाई दिइएको छ । सिफारिस गरेका कुनै पनि उम्मेदवारहरूले पार्टीले अन्तिम निर्णय नगरेसम्म आफू उम्मेदवार भएँ भनेर कुनै पनि गतिविधि नगर्न पनि सचेत गराएको छ ।

‘सिफारिस, सिफारिस मात्रै हो । अन्तिम निर्णय होइन,’ उहाँले भन्नुभयो, ‘निर्णय नभएसम्म सिफारिसमा परेका कुनै पनि व्यक्तिले आफ्नो उम्मेदवारी पक्का भएजस्तो व्यवहार गर्न मिल्दैन । केन्द्रले आवश्यक ठानेमा कुनै पनि तहको प्रत्यक्ष वा समानुपातिक तहको निर्णयमा पुनर्विचार गर्न सक्छ ।’

समानुपातिक मत भनेको पार्टीको लोकप्रियताबाट प्राप्त हुने मत भएको भन्दै समानुपातिकतर्फको बन्दसूची तयार गर्दा सबै मिलेर कमाउने र दामासायीमा वितरण गर्ने भन्ने पक्षलाई ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । दामासायी वितरण भनेको प्राप्त अवसरको न्यायोचित वितरण भएको उहाँको भनाइ छ । समानुपातिकको कुनै पनि निर्वाचन प्रणालीबाट प्रतिनिधित्व हुने स्थानमा एकचोटि अवसर प्रयोग गरेका पार्टीका नेता, कार्यकर्ता वा समर्थकहरूलाई आमरूपमा दोहोर्याउनु नहुने उहाँले बताउनुभयो । ‘केहीमा म मात्रै जित्छु, मै मात्रै योग्य छु भन्ने कुरा अहिलेको चुनौतीपूर्ण समयमा उपयुक्त होइन,’ उहाँले भन्नुभयो, ‘तसर्थ, हामी सबैले मभन्दा लोकप्रिय कमरेड को हो ? भनेर खोजी गर्न आवश्यक छ ।’

ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा जाने भएको छ । केन्द्रीय कमिटी बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको हो । बैठकले ओलीको नेतृत्वमा एकल बहुमतको सरकार निर्माण गर्ने गरी चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । ओली पहिलोपटक माओवादी केन्द्रको समर्थनमा २०७२ मा नौ प्रधानमन्त्री हुनुभएको थियो । दोस्रोपटक २०७४ फागुनमा पनि माओवादी केन्द्रकै समर्थनमा प्रधानमन्त्री हुनुभएको थियो ।

वामपन्थी गठबन्धनका लागि आह्वान

नेकपा एमालेले चुनावी वामपन्थी गठबन्धनका लागि आह्वान गरेको छ । एमालेको शनिबार सम्पन्न केन्द्रीय कमिटी बैठकले वामपन्थी दलहरूबीच एकता र गठबन्धनका लागि आ≈वान गरेको पोलिटब्युरो सदस्य विशाल भट्टराईले बताउनुभयो । ‘वामपन्थी शक्तिहरू एक भएर जाँदा देशमा परिवर्तनका लागि सहज हुन्छ,’ उहाँले भन्नुभयो । बैठकमा उहाँका अनुसार साँचो वामपन्थी भए एकताका लागि आउन ओलीले आ≈वान गर्नुभएको थियो । विचार मिल्नेहरू एकठाउँमा उभिएर चुनावमा जान ओलीले आह्वान गर्नुभएको थियो ।

युवा केन्द्रित निर्वाचन परिचालन कमिटी गठन गर्ने

एमालेले आसन्न निर्वाचनलाई ध्यानमा राखी युवा केन्द्रित निर्वाचन परिचालन कमिटी बुथ कमिटी गठन गर्ने भएको छ । शनिबार सम्पन्न केन्द्रीय कमिटी बैठकले अनेरास्ववियू, राष्ट्रिय युवासंघ, नेपाल, खेलकुद महासंघ, जिफन्ट, भूपू सैनिक संघ, प्रहरी संगठनका युवाहरू रहेको १५ देखि २५ जनासम्मको कमिटी निर्माण गर्ने निर्णय गरेको गुरुङले जानकारी दिनुभयो । स्थान र सक्रियता हेरी अन्य जनसंगठनका प्रतिनिधिहरूलाई पनि यसमा सामेल गराइने उहाँको भनाइ छ । पार्टीलाई बहुमतमा पुर्याउन आवश्यक मत वृद्धिका लागि हरेक पार्टी सदस्यलाई दुई भोट थप्न र पाँच भोट संरक्षण गर्ने नीति अघि बढाउने निर्णय पनि गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख गुरुङले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?