उखरमाउलो गर्मीमा छिन-छिनमा बिजुली जाँदा सास्ती

रासस
Read Time = 4 mins

बाँके । भगवती रिजाल खुद्रा व्यावसायी हुनुहुन्छ । उहाँ बाँकेको कारकाँदोस्थित एउटा सटर भाडामा लिएर किराना पसल सञ्चालन गर्दै आउनुभएको छ । बिजुली छिनछिनमा आउने जाने गर्दा पसलमा राखिएको रेफ्रिजिरेटरले काम गर्न छाडेको छ । रिजाल चिसो बनाउन राखिएका पेयपदार्थ बिक्री गर्न नपाएपछि तनावमा हुनुहुन्छ ।

चार वर्षदेखि किराना पसल सञ्चालन गर्दै आउनुभएकी रिजाल विगत वर्षभन्दा यसवर्ष विद्युत् आपूर्ति अनियमित हुँदा व्यापारमा घाटा लागेको बताउनुहुन्छ ।

‘चार वर्र्षमा रेफ्रिजिरेटर यसअघि कहिल्यै बन्द भएन’, उहाँले भन्नुभयो, ‘कम भोल्टेजका कारण फ्रिज नचेलेको हुनाले यो गर्मीमा चिसो बनाउन राखिएको पेयपदार्थ नै चिसो नभएर बेच्न पाएकी छैन । ग्राहक आउँछन् सोध्छन् । चिसो छैन भन्नुपर्ने हुन्छ ।’

भगवतीजस्तै सोही वडामा किराना पसल चलाउँदै आउनुभएका रामचन्द्र गिरीको व्यथा छ । बिजुली आउने जाने हुँदा फ्रिज चल्न पाएको छैन । ‘गर्मीमा धेरै बिक्री हुने भनेकै दही हो । तर बिजुली झ्याप्प आउने र जाने गर्दा दही पग्लिएर दूधजस्तै हुन्छ’, उहाँले भन्नुभयो, ‘दूधजस्तै दही ग्राहकले किन्न मान्दैनन् ।’

गिरीले किराना पसलमा हरियो सागसब्जी पनि बेच्ने गर्नुहुन्छ । तर चर्को घामका कारण हरियो तरकारी सुकेर खेर जाँदा तरकारीबाट नाफा कमाउन नसकेको उहाँले बताउनुभयो ।

‘बिहानै हाटबजार गएर ल्याएको हरियो तरकारी चर्को घामले सुकाइदिन्छ । साग सुकेर फाल्नुपरेको छ’, गिरीले भन्नुभयो । गर्मीको सयममा विद्युत् प्राधिकरणले बेलाबेला बत्ती काटिरहने तथा कम भोल्टेजका कारण व्यापार गर्न कठिन हुँदै गएको उहाँले बताउनुभयो ।

कम भोल्टेजका कारण बेकरी व्यवसायीको अवस्था झनै दयनीय छ । बेकरी सञ्चालक रामकिशोर बर्मा अत्यधिक गर्मीका कारण व्यापार चौपट भएको बताउनुहुन्छ । नेपाल विद्युत् प्राधिकरणले अनियमितरूपमा विद्युत् प्रवाह गरेपछि उहाँको व्यवसाय धरापमा परेको हो । ‘बेकरीमा केकका प्रकार धेरै हुन्छन्, चौबीसै घन्टा फ्रिजको आवश्यकता पर्दछ’, बर्माले भन्नुभयो, ‘एक महिनायता एउटा फ्रिज नै बिग्रिएको छ । अर्को फ्रिजले पनि राम्रोसित काम गर्न सकिरहेको छैन ।

विद्युत् सेवा प्रवाह भरपर्दो नभएको भन्दै विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रविरुद्ध स्थानीयले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले विद्युत् कार्यालय घेराउ गर्दै आएका छन् । प्राधिकरणको नेपालगन्जस्थित वितरण केन्द्रलाई चार बुँदे ज्ञापनपत्र बुझाइएको स्थानीय नमस्कार शाहले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?