अख्तियारद्वारा विद्युत प्राधिकरणका तत्कालीन इञ्जिनियरविरुद्ध एक करोड ४२ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका तत्कालीन मेकानिकल इञ्जीनीयर कृष्णप्रसाद यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले यादवविरुद्ध रु एक करोड ४२ लाख ५२ हजार पाँच सय ५० बराबरको बिगो जरिवाना, कैद सजायकोसमेत माग गरेको छ ।

प्राधिकरणको विभिन्न कार्यालयमा कार्यरत रहँदा स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ । आयोगका अनुसार २०४८ फागुन १ गतेदेखि सार्वजनिक सेवामा प्रवेश गरेका यादवको वैध आय रु एक करोड ७१ लाख ४६ हजार ४४ बराबर देखिन्छ ।

इञ्जीनीयर यादव २०७९ जेठ १ गतेसम्म सेवामा रहेको पाइएको छ । सो अवधिमा रु तीन करोड १३ लाख ९८ हजार पाँच सय ९४ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ ।

वैध आयको तुलनामा लगानी तथा खर्च बढी रहेको तथा त्यसको कुनै स्रोत समेत नखुलेको पाइएको आयोगले दायर गरेको मुद्दामा उल्लेख छ । वैध आय भन्दा बढी रहेको रु एक करोड ४२ लाख ५२ हजार पाँच सय ५० बराबरको बिगो कायम गरिएको आयोगले जनाएको छ ।

आयोगले गैरकानुनी रुपमा आर्जन गरेको तथा स्रोत नखुल्ने सम्पत्ति श्रीमती मञ्जुदेवी यादवको नाममा जग्गा खरिद, घर निर्माण, शेयर खरिदलगायतका प्रयोग गरेको पाइएको छ । आयोगले स्रोत नखुलेको सम्पत्ति जफथ गर्न समेत माग गरेको प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?