साफ च्याम्पियनसिप : लेबनानले बंगलादेशलाई हरायो

Read Time = 2 mins

बैंग्लोर । भारतको बैंग्लोरमा जारी साफ च्याम्पियनसिप २०२३ अन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा लेबनानले बंगलादेशलाई हराएको छ । भारतको बैंग्लोरस्थित कान्तिरभा रंगशालामा भएको खेलमा लेबनानले बंगलादेशमाथि दुई-शून्यको जित निकालेको हो ।

आमन्त्रित टोलीका रूपमा पहिलोपटक साफ च्याम्पियनसिप खेलेको लेबनानका लागि कप्तान हसन मातुक र खलिल बादेरले एक-एक गोल गर्नुभयो । पहिलो हाफमा प्रतिस्पर्धात्मक खेल भए पनि दुवै गोल दोस्रो हाफमा सम्भव भएका थिए ।

खेलको ७९औँ मिनेटमा कप्तान हसन मातुकको गोलबाट लेबनानले अग्रता लिएको थियो । इन्जुरी समयमा खलिल बादेरले गोल गर्दै लेबनानको जित पक्का गर्नुभयो । समूह ‘ए’ मा बुधबार नेपाल कुवेतसँग तीन-एकले पराजित हुँदा आयोजक भारतले पाकिस्तानलाई चार-शून्यले हराएको थियो ।

साफ च्याम्पियनसिप असार १८ गतेसम्म हुनेछ । यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउनेछन् । यसपटक कुवेत र लेबनानले आमन्त्रित टोलीका रूपमा साफ खेल्नेछन् ।

साफमा नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा साबिक विजेता भारत, कुवेत र पाकिस्तान रहेका छन् । समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।

दोस्रो खेलमा नेपालले ९ असारमा आयोजक भारतसँग र तेस्रो खेल १२ असारमा पाकिस्तानविरुद्ध खेल्नेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?