वेष्टइण्डिजसँग नेपालको हार

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । आइसिसी एक दिवसीय विश्वकप छनोटअन्तर्गत बिहीबार भएको खेलमा नेपालले वेष्टइण्डिजसँग १०१ रनको हार बेहोरेको छ । हरारे स्पोर्ट्स क्लबमा भएको खेलमा वेष्टइण्डिजले दिएको ३४० रनको ठूलो लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३८ रनमा समेटियो ।

नेपालका लागि आरिफ सेखले ६३ रनको अर्धशतकीय पारी खेल्नुभयो । ९३ बलमा उहाँले ४ चौका र एक छक्का प्रहार गर्नुभयो । यस्तै, गुल्सन झाले ५८ बलमा ५ चौका र एक छक्कासहित ४२ रन जोड्नुभयो । अन्त्यमा करण केसीले २७ बलमा ४ चौका र एक छक्कासहित २८ रन जोड्नुभएको थियो ।

नेपालले ओपनर कुशल भुर्तेललाई ५ रनमै गुमाएको थियो । अर्का ओपनर आसिफ सेखले २८ रन जोड्नुभयो । कप्तान रोहित पौडेलले ३०, दीपेन्द्रसिंह ऐरीले २३ रन जोडे पनि नेपालका लागि जित पर्याप्त भएन ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइण्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३९ रन बनाएको थियो । यो ओडिआईमा नेपालले पाएको हालसम्मकै उच्च स्कोरसमेत थियो । यसअघि युएईले ३ सय १० रन बनाएको थियो ।

वेस्टइण्डिजका कप्तान शाई होपले १ सय २९ बलमा १० चौका र ३ छक्कासहित १ सय ३२ रनको शतकीय पारी खेल्नुभयो । यस्तै, निकोलस पुरनले ९४ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रनको पारी खेलेपछि वेष्टइण्डिजले ठूलो स्कोर बनाएको हो । उहाँको क्याच दुईपल्ट विकेट किपर आसिफ शेखले छुटाउनुभएको थियो ।

नेपालले एक समय वेस्टइण्डिजलाई १५.३ ओभरमा ५५-३ को स्थितिमा ल्याए पनि चौथो विकेटका लागि पुरन र होपले २ सय १६ रनको दोहोरो शतकीय साझेदारी गर्दै वेष्टइण्डिजलाई खेलमा फर्काउनुभयो । दीपेन्द्रसिंह ऐरीले ४४औँ ओभरको अन्तिम बलमा पुरनलाई कट एण्ड बोल्ड गर्दै यो साझेदारी तोड्नुभएको थियो ।

करण केसीको दोस्रो ओभरको तेस्रो बलमा ओपनर कायल मेयर्सलाई कुशल भुर्तेलबाट क्याच गराउँदै पहिलो विकेट लिनुभएको थियो । गुल्सन झाले पाँचौँ ओभरको पहिलो बलमा जोनसन चाल्र्सलाई विकेटकिपर आसिफ शेखबाट क्याच गराउँदै पभेलियन फर्काउनुभयो । नेपालका लागि सन्दीप लामिछानेले ब्रेन्डन किङलाई ३२ रनमा बोल्ड गर्दै तेस्रो विकेट झार्नुभयो । ब्रेन्डनले ४२ बलमा २ चौका र २ छक्का प्रहार गर्नुभयो ।

यस्तै, वेस्टइण्डिजका रोभम्यान पावेलले १४ बलमा ३ चौका र १ छक्कासहित २९ रन बनाउनुभयो । त्यसबाहेक किमो पल १ रन, जेसन होल्डर १० बलमा २ चौकासहित १६ रनमा नटआउट रहनुभयो ।

नेपालका लागि स्पिनर ललितनारायण राजवंशीले १० ओभरमा ५२ रन खर्चेर ३ विकेट लिनुभयो । यस्तै, सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ५० रन खर्चेर १ तथा दीपेन्द्रसिंह ऐरीले ७ ओभरमा ४५ रन खर्चेर १ विकेट लिनुभयो । करण केसीले १० ओभरमा १ मेडनसहित ८१ रन खर्चेर १ तथा गुल्सन झाले ८ ओभरमा ६४ रन खर्चेर १ विकेट लिनुभयो ।

आइसिसी विश्वकप छनोटमा नेपाल समूह ‘ए’मा छ । उक्त समूहमा नेपाल, वेस्टइण्डिज, जिम्बाबे, अमेरिका र नेदरल्याण्ड्स छन् । समूह ‘बी’मा आयरल्याण्ड, श्रीलंका, युएई, स्कटल्याण्ड र ओमान छन् । प्रतियोगिता १८ जुन देखि ९ जुलाईसम्म जिम्बाबेमा हुनेछ ।

अब नेपालले २४ जुनमा नेदरल्याण्ड्ससँग खेल्नेछ । यदि समूह चरणमा शीर्ष तीनमा पर्न सके नेपालले सुपर सिक्समा स्थान बनाउनेछ ।
सुपर सिक्समा हरेक समूहबाट शीर्ष तीन टोली आउनेछन् । सुपर सिक्समा सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।

यदि नेपाल सुपर सिक्समा स्थान बनाउन नसके प्लेअफ खेल्नेछ । फाइनल भने जुलाई ९ मा हरारे स्पोर्ट्स क्लबमा हुनेछ । नेपालले सोमबार नै २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेको छ ।

नेपाली टोलीमा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल(कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, श्याम ढकाल र अविनाश बोहोरा रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?