लागुऔषधसहित १० जना पक्राउ

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थ ४ केजी ७ सय ५० ग्रामसहित झापा भद्रपुर नगरपालिका-४ ठेगाना भएका २५ वर्षीय सुमन लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

एयर ईन्डियाको उडानद्वारा काठमाडौंबाट नयाँ दिल्ली हुँदै ओमन जान लागेका उनलाई विमानस्थलको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको लगेजभित्र फल्स बटन बनाई सेतो प्लाष्टिकले बेरिएको अवस्थामा विस्कुट आकृति बनाएको र लगेजभित्र रहेको सन पापडीको दुई वटा प्याकेट समेतमा गरी उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय मिलिग्राम दाङ बबई गाउँपालिका-३ बस्ने २८ वर्षीय भरत कुमार केसीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह बाँके र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज बाँकेबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको रा.७ प ६(२) नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक केसीलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

बाँकेकै  कोहलपुर नगरपालिका-१२ चप्परगौडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ९० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-६ बस्ने २१ वर्षीय नन्दराम गडरिया र २० वर्षीय अनिल हरिजन गौतम रहेका छन् । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगंज बाँके र ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरीले भे.१२ प ६३१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहनगरपालिका-३ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो पदार्थ २ ग्राम ७ सय ६० मिलिग्रामसहित गोदावरी नगरपालिका-२ बस्ने १९ वर्षीय योगेन्द्र बहादुर देउवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीकै गोदावरी नगरपालिका(४ गोदावरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ २ सय ६० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-३ बस्ने २० वर्षीय आशिष भण्डारी र सोही ठाउँ बस्ने २३  वर्षीय राजेन्द्र बोहरा रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले अत्तरियाबाट गोदावरीतर्फ जाँदै गरेको सुपप्र ०१००९ प ४९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ सालघारीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ ग्राम ९९ मिलिग्रामसहित दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१८ डेरा गरी बस्ने १८ वर्षीय किशोर र २४ वर्षीय प्रशान्त कुँवर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

झापाको, झापा गाउँपालिका-४ स्थित झापा बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम १ सय २० मिलिग्रामसहित काठमाडौं चन्द्रागिरी नगरपालिका(१५ बस्ने ३८ वर्षीय अच्युत कुमार मगरलाई  प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?