चर्चामा सत्ता : प्रधानमन्त्रीलाई सरकार टिकाउन सकस

सत्तारुढ दलकै नेताहरूबाट सत्तासमीकरण परिर्वतनका अभिव्यक्ति

अनिल क्षेत्री
Read Time = 13 mins

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटका कारण सत्तागठबन्धनभित्र उत्पन्न खटपट र अविश्वासले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकार टिकाउन धौ धौ परेको छ । बजेटप्रति सत्तारुढ दलका सांसदहरूले तीव्र विरोध गरिरहेका छन् । सत्तारुढ गठबन्धनका घटक एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले त बजेट संशोधन नभए पास गर्न नदिने औपचारिक निर्णय गरिसकेका छन् ।
सरकारलाई समर्थन गरिरहेको दल जनमत पार्टीले बजेट संशोधन नभए सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने चेतावनी दिएको छ । त्यसो त बजेटलाई लिएर प्रमुख प्रतिपक्षी दल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपासहित अन्य साना दलले पनि चर्को विरोध गरिरहेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई सत्ता टिकाउन पनि गठबन्धन दललाई रिझाउनै पर्ने बाध्यता छ । गत मंगलबार बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकमा बजेट संशोधन गर्ने सहमति भएको बताइएको छ । बजेटप्रति असन्तुष्ट सत्तारुढ दललाई रिझाउन प्रधानमन्त्री प्रचण्डले संशोधनको आश्वासन दिए पनि अर्थमन्त्री डा.प्रकाशशरण महत भने संशोधन गर्ने पक्षमा हुनुहुन्न । अर्थमन्त्रीको बजेट नै संशोधन गर्नुपर्ने बाध्यता आउनु सत्ता र नैतिक संकट भएको राजनीतिक क्षेत्रका जानकारहरूको तर्क छ । बजेटकै कारणले प्रचण्डलाई सरकार टिकाउन मुस्किल पर्ने देखिएको छ । संसद्मा बजेट फेल भए सरकार ढल्छ ।

पछिल्ला दिनमा प्रधानमन्त्री प्रचण्डसँग सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि असन्तुष्ट रहेको निकट नेताहरूको भनाइ छ । एकातिर विश्वासपात्र अर्थमन्त्री महतको बजेटमाथि प्रश्न उठ्नु, अर्कातिर चीनबाट हतियार खरिद प्रकरणमा प्रचण्डले आफूमाथि दोष लगाउनुले पनि देउवाको असन्तुष्टि बढाएको देउवा निकट नेताहरूको जिकिर छ । देउवा प्रधानमन्त्री भएको बेला नेपाली सेनाका लागि करिब ६ अर्बको हातहतियार खरिद गर्ने निर्णय भएको थियो । चीनबाट हतियार खरिद गर्ने निर्णय भारत र अमेरिकी चासोमा प्रधानमन्त्री प्रचण्डले देउवाकै पालामा भएको भन्दै पन्छिएको कांग्रेस संस्थापन पक्षका नेताहरूको जिकिर छ । प्रचण्डको त्यही जवाफपछि भारत र अमेरिकाले हतियार खरिद प्रकरणमा देउवासँग चासो राखेका थिए । त्यही प्रश्नपछि रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिले उक्त निर्णय तामेलीमा राख्नुभएको छ ।

सत्तागठबन्धनभित्र भइरहेको विवादमै एमालेका नेताहरूले चलखेल गर्न खोजिरहेका छन् । एमाले, सत्तागठबन्धन र कांग्रेसभित्रको अन्तर्विरोधमा खेलेर वर्तमान सरकार ढाल्ने दाउ हेरिरहेको छ । एमालेका प्रभावशाली नेताहरू कांग्रेसको संस्थापन इतर पक्षका नेता डा.शेखर कोइरालालाई सरकारको नेतृत्वका लागि हिम्मत जुटाउन सन्देश सम्प्रेषित गरिरहेका छन् । एमालेको जोड चाहिँ एमाले-कांग्रेस गठबन्धनको सरकार बनाउनेमा छ । एमालेका दोस्रो तहका नेताहरू सत्तासमीकरण फेरबदलका लागि संवादमा रहेको कोइरालानिकट नेताको दाबी छ ।

सरकारको आयु प्रत्येक दिन एक दिनका लागि हो : बर्तौला
सत्तागठबन्धनमा खटपट परिरहेको बेलामा एमालेका सचेतक महेश बर्तौलाले पार्टीले चाहेमा एक हप्ताभित्र सरकार ढाल्नसक्ने दाबी गर्दै भन्नुभएको छ, ‘यो सरकारलाई हामीले कुनै मिहिनेत गर्नुपर्दैन । यदि एमालेले चाहे यसलाई ढाल्न प्रयत्न गर्ने हो भने हामी एक हप्ताभित्रमा ढाल्न सक्छौं । यो सरकारको आयु प्रत्येक दिन एक दिनका लागि हो । भोलिपल्ट, अर्काे एक दिनका लागि हो । आफ्नै अन्तरविरोधले ढल्छ ।’ गठबन्धन दलहरूबीच बजेटको विषयले असन्तुष्टि बढिरहेका बेलामा सचेतक बर्तौलाको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । तर, नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले अहिले एमालेले सरकार ढाल्न कुनै गृहकार्य नगरेको दाबी गर्नुभएको छ । तर, गठबन्धनमा खटपट भइरहेको बेला पार्टीले आफ्नो कदम चाल्ने प्रयास गर्नु अस्वभाविक नभएको जिकिर गर्दै उपमहासचिव रिमालले भन्नुभयो, ‘एउटा जिम्मेवार पार्टी भएपछि देशको हितका लागि जुनसुकै बेलामा जस्तोसुकै कदम चाल्नसक्छ । त्यो कसरी हुन्छ भन्ने समयले देखाउँछ ।’

उपमहासचिव रिमाल र सचेतक बर्तौलाको भनाइलाई बल पुग्ने गरी सत्तारुढ दलका जिम्मेवार नेताहरूबाटै एकपछि अर्कोगरी सरकार फेरबदलको आशयका अभिव्यक्ति आउन थालेका छन् ।

ओली कम्युनिष्ट सरकार ढालेर कांग्रेसको सरकार बनाउन लाग्दैछन् : नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट सरकारलाई ढालेर दलाल पुँजीवादी कांग्रेससँग सरकार बनाउन तयारी गरिरहेको बताउनुभएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ओलीले नेपाली कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु जस्ता अभिव्यक्ति दिइरहेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले हाम्रो पार्टी नेपालको राजनीतिमा एउटा महत्वपूर्ण शक्तिको रूपमा उदाएको छ । नेकपा एमालेका अध्यक्ष केपी ओली अहिले बर्बराइरहेको तपार्इंहरूले सुनिरहनुभएको छ । अर्थात् हामीले चालिरहेको कदमलाई सकारात्मक रूपमा लिनुपर्नेमा समाजवादी शक्तिलाई एकताबद्ध बनाएर समाजवादविरोधी शक्तिलाई एक्लो बनाउने काममा लाग्नुपर्ने, विस्तार गर्न शुभकामना दिनुपर्ने, हामीले त गरेनौं, तपाईंहरूले गर्नुभयो भन्नुपर्ने हो । ठूलो पार्टीले गर्नुपर्ने हो तर चाहेन, कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन चाहेन ।

समाजवादी शक्तिलाई एकताबद्ध बनाउन चाहेन, अहिले पनि उसले के गर्न चाहिरहेको छ भन्ने पत्रिकामा पढ्नुभएको होला, केपी ओलीले नेपाली कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु भनिरहेको छ । कस्तो विडम्बना होला, कस्तो चरित्र होला, अहिले कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहेको सरकारलाई ढालेर शेरबहादुर, दलाल पुँजीवादसँग उदार पुँजीवादसँग, काल्पनिक समाजवादसँग मात्र आफूलाई जोडेका छन् । उसलाई अघि बढाउन खोजिरहेका छन् ।’ अध्यक्ष नेपालले नेपाली कांग्रेस काल्पनिक समाजवादी, उदार पुँजीवादी र दलाल पुँजीवादी पार्टी भएको पनि आरोप लगाउनुभयो ।

चित्त बुझेन भने गठबन्धन फेरिन्छ : थापा
सरकारबारे विपक्षी दल एमालेका नेताहरूको अभिव्यक्तिभन्दा एक कदम अगाडि बढेर सत्तारुढ दलको प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताउनुभएको छ । गठबन्धन ठीक ढंगले चलने र चित्त बुझेन भने गठबन्धन फेर्ने कुरा नौलो नभएको स्पष्ट पार्दै महामन्त्री थापाले कांग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको समेत जिकिर गर्नुभयो । समाजवादी मोर्चामा अझै नेकपा एमाले पनि थपिएर कम्युनिष्ट एकै ठाउँमा भए पनि कांग्रेसलाई फरक नपर्ने दाबी गर्दै महामन्त्री थापाले भन्नुभयो, ‘हाम्रो पार्टीका लागि मान्छे ज्यान गए जाओस्, कांग्रेस छोड्दिन भन्छ भने आज हामी सरकार गए जाओस् भन्न नसक्ने ? जाओस् न त सरकार । पाँच वर्ष जाओस्, १० वर्ष जाओस् । हेर्दा सानो देखिन्छ । हामीले प्रायश्चित गर्नैपर्छ कि हामीले हाम्रो सरकार नबन्ला, अरूको सरकार बन्ला भन्ने डरले चुनावअघि नै गठबन्धन गर्‍यौं । चुनाव पछाडि सरकार बन्ने, बदल्ने सामान्य कुरा हो । हामी अहिले एक गठबन्धनमा छौं, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ । नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन । बन्छ, भत्किन्छ भइराख्छ ।’ निर्वाचन प्रणालीकै कारण देशमा गठबन्धन गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

त्यसो त प्रधानमन्त्री प्रचण्डले ५४ सिटको समाजवादी मोर्चा निर्माण गरेपछि कतिपय कांग्रेसका नेताहरू ससंकित बनेका छन् । प्रचण्डले कांग्रेस र एमालेलाई दबाबमा राख्न नै मोर्चा गठन गरेको उनीहरूको बुझाइ छ । कांग्रेस सभापति शेरबहादुर देउवाको सिंगापुर बसाईले पनि सत्ता समीकरण फेरिनसक्ने आशंकालाई थप मलजल पुगेको छ । तर, कांग्रेस संस्थापन पक्ष एमालेले चाहेको भए पनि तत्काल सत्तासमीकरण परिर्वतन गर्ने पक्षमा छैन । सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सत्तागठबन्धन परिवर्तन हुने कुनै सम्भावना नरहेको र अहिले चलेका हल्ला अनावश्यक भएको दाबी गर्दै भन्नुहुन्छ, ‘कांग्रेस र एमालेबीच तत्काल सत्ताको साझेदारी गर्ने तहको धरातल विकास भएको छैन । एक चरण सरकारको नेतृत्व गरेपछि माओवादीले कांग्रेसलाई सत्ता हस्तान्तरण गर्छ, सरकार परिर्वतन सम्बन्धमा भएका हल्लाहरू अनावश्यक हुन् । विपक्षीले चलाएको हल्ला हो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?