सिएनआईमा अग्रवालको अध्यक्षतामा नयाँ नेतृत्व

Read Time = 5 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई)को अध्यक्षमा राजेशकुमार अग्रवाल चयन हुनुभएको छ । सिएनआईको २०औँ वार्षिक साधारणसभाले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहनुभएका अग्रवाल विधानअनुरूप स्वतः अध्यक्षमा चयन हुनुभएको हो । अग्रवाल डेढ दशकदेखि सिएनआईको राष्ट्रिय परिषद् सदस्य, उद्योग समिति सभापति, राजस्व समिति सभापति, रोजगारदाता परिषद् संयोजक हुँदै परिसंघको उपाध्यक्ष बन्नुभएको थियो । काठमाडौंमा जन्मनुभएका अग्रवाल सन् १९९२ देखि उद्योग क्षेत्रमा हुनुहुन्छ । आरएमसी गु्रपका कार्यकारी निर्देशकसमेत रहनुभएका उहाँ सिमेन्ट, स्टिल, खाद्यलगायतका क्षेत्रमा आबद्ध हुनुहुन्छ ।

सिएनआईका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवालले नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाललाई शपथ ग्रहण गराउँदै पदभार हस्तान्तरण गर्नुभयो । सिएनआईको राष्ट्रिय परिषद् सदस्यमा सञ्जय गोल्छा, राजबहादुर शाह, विदुषी राणा, अजितविक्रम शाह, हेमराज ढकाल, आशिष अग्रवाल जजोडिया, मनिष खेम्का, द्विराज शर्मा (शिवाकोटी), धु्रवप्रसाद रिजाल, वर्षा श्रेष्ठ, हितेश गोल्छा, आशिष गर्ग, सपना सापकोटा, वीरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् । त्यस्तै, लक्ष्मीप्रसाद सुवेदी, गोकुल भण्डारी, सन्दिप शारदा, मोहित केडिया, अमित मोर, अमितकुमार बेगानी, चन्द्र टण्डन, रोहित गुप्ता, निर्वाण चौधरी, वरुणकुमार तोदी, राहुलकुमार अग्रवाल, शरदकुमार टिवडेवाला, विक्रम सिंघानिया, मिलनबाबु मल्ल, दीपक अग्रवाल, विशाल अग्रवाल, सौरभ दुगड, विकास दुगड, दिलीप अग्रवाल, गोपालकुमार अग्रवाल, आदित्य संघाई पनि निर्वाचित भएका छन् । निर्वाचित राष्ट्रिय परिषद् सदस्यबाट सर्वसम्मतरूपमा सातजना उपाध्यक्ष चयन भएका छन् । उपाध्यक्षमा निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर र भीम घिमिरे रहेका छन् भने अमित मोर र भीम घिमिरे पहिलोपटक उपाध्यक्ष बन्नुभएको हो । स्थायी आमन्त्रित सदस्यमा सन्दिप शारडा, गोकुल भण्डारी र छायाँ शर्मा मनोनीत भएका छन् ।

पदभार ग्रहण गर्दै नवनियुक्त अध्यक्ष अग्रवालले सिएनआईले विगतदेखि हासिल गर्दै आएका उपलब्धि संस्थागत गर्दै थप नयाँ उचाइमा पुर्‍याउन सक्रियरूपमा लाग्ने बताउनुभयो । सरकारमा छिटो-छिटो परिवर्तन हुने नीति नियम, चर्को ब्याजदर, समग्र मागमा आएको कमी, उत्पादनमा कमी, घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका निजी क्षेत्रले भोगिरहेको समस्या समाधानका लागि प्रभावकारीरूपमा प्रस्तुत हुने उहाँले बताउनुभएको छ ।

साधारणसभामा विभिन्न छ विधामा अवार्ड प्रदान गरिएको थियो । सबैभन्दा सक्रिय उपाध्यक्षमा रोहित गुप्ता, सबैभन्दा सक्रिय राष्ट्रिय परिषद् सदस्यमा अनलराज भट्टराई, सिएनआईले आयोजना गरेका कार्यक्रममध्ये मस्ट हृयापिनिङ इभेन्ट वुमन लिडरसिप समिट, समिति परिषद्मध्येबाट सबैभन्दा सक्रिय समितिको अवार्ड पर्यटन समितिले प्राप्त गरेको छ भने सबैभन्दा सक्रिय प्रदेश परिसंघको अवार्ड लुम्बिनी उद्योग परिसंघ र सर्वोत्कृष्ट कर्मचारीको अवार्ड उपनिर्देशक रवि प्रजापतीले प्राप्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?