‘कोरिया रिटर्नी’हरू आन्दोलित

भन्छन्- सन् २०२२ सेप्टेम्बरमा परीक्षा दिएर पास भए पनि अझै जान पाएनौँ

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । भाषा परीक्षा पास गरेर पनि लामो समयदेखि कोरिया जान नपाएको भन्दै युवाहरूले वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखा ग्वार्कोस्थित कार्यालयमा धर्ना दिएका छन् । कार्यालय अगाडि आइतबार एक हजारभन्दा बढीले धर्ना दिएका हुन् । कोरियामा पाँच वर्ष बसेर फर्किएकाहरूले पुनः इपिएस परीक्षा उत्तीर्ण गरेको तर जान नपाएको भन्दै उनीहरू कार्यालय पुगेका थिए । पहिलोपटक जानेलाई प्राथमिकतामा राखेपछि यसअघि गएर आएकाहरूले आन्दोलन थालेका हुन् । आइतबार बिहान ग्वार्को पुगेका ‘कोरिया रिटर्नी’हरूले त्यहाँ प्रदर्शनसमेत गरेका थिए । उनीहरूले कार्यालय प्रमुखलाई ज्ञापनपत्र पनि बुझाएका छन् ।

कोरियामा पाँच वर्ष काम गरेर फर्किएकाहरू पुनः परीक्षा दिएर जान पाउने व्यवस्था भए पनि इपिएस पास गर्दा पनि आफूहरू जान नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । सरकारले कोरिया सरकारसँग वार्ता गरेर पीडितहरूको माग सम्बोधन गर्नुपर्ने उनीहरूको माग छ ।
सन् २०२२ को सेप्टेम्बरमा परीक्षा दिएर पास भएकाहरू पनि अझै कोरिया जान नपाएको भन्दै परीक्षार्थीहरू आन्दोलित भएका हुन् । दुःख गरेर भाषा परीक्षा पास हुँदा पनि एकपटक कोरिया गएर फर्किएकाहरूलाई लैजान रोजगारदाताले आनाकानी गरेकोमा उनीहरूको आपत्ति छ । वैधानिक रूपमा कोरियाबाट फर्किएकाहरूले लामो समयसम्म कोरोना महामारीका कारण कम्प्युटर प्रणालीमा दिनुपर्ने सिभिटी परीक्षा दिन पाएका थिएनन् । नियमित परीक्षामा भाग लिएर नाम निकालेपछि पनि पछि आफूहरूको लेबर एग्रिमेन्ट जारी नभएको आन्दोलनमा उत्रिएका युवाको माग छ ।

भाषा परीक्षा पास भएर पनि कोरिया जान नपाएको भन्दै कोरियाबाट फर्किएकाहरू आन्दोलित भएको इपिएस शाखा प्रमुख पुष्पराज कट्वालले जानकारी दिनुभयो । कोरियाले आफू कामदार छनोट गरेर लैजाने भएका कारण नेपालको यसमा केही भूमिका नरहने उहाँको भनाइ छ । ‘सिभिटी परीक्षामा पनि पूर्णांक ल्याउने मात्रै पास भएका थिए । जसका कारण कतिपयका रोष्टरमा नाम चढाउन समस्या भएको हो । यो विषयमा सम्बन्धित पक्षसँग छलफल भइरहेको छ । आन्दोलन गर्दै समस्या समाधान हुँदैन ।’ उहाँले भन्नुभयो ।

गत साउनयता मात्रै दक्षिण कोरियामा करिब २० हजार नेपाली रोजगारीका लागि पुगेका छन् । २० हजार लगेकोमा ६ हजार कमिटेड (पहिले गएर फर्किएका) र १४ हजार नयाँ भाषा परीक्षा पास गरेर जाने श्रमिक छन् । नेपाल कोरियाको रोजाइमा पहिलो नम्बरमा पर्न थालेको छ । यसअघि देशअनुसार कोटा तोक्दा वार्षिक सातदेखि १० हजारसम्म तोकिन्थ्यो । पछिल्लो समय नेपालबाट कोरिया पठाउने प्रक्रिया छिटो र रोष्टममा पनि पर्याप्त संख्या रहेकाले कोरियाले धेरै नेपाली लैजान थालेको हो । कोरियाले १६ वटा देशका लागि एकमुष्ट कोटा तोक्न थालेको छ । जुन देशले सहज रूपमा छिटो श्रमिक पठाउँछ त्यही देशबाट बढी लैजाने गरेको छ ।

हाल दैनिक कोरियन भाषा उत्तीर्ण गरेका युवाहरू रोजगारीका लागि कोरिया गइरहेको शाखाले जनाएको छ । मासिक एक हजारको हाराहारीमा नेपाली युवा कोरिया गइरहेका शाखाले जनाएको छ । अहिले कोरियामा करिब ४० हजार नेपाली कार्यरत रहेको शाखाको तथ्यांकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?