खानेपानीको मारमा कोइलाबासका स्थानीय

विवेक खड्का दाङ, संवाददाता
Read Time = 3 mins

दाङ । दाङको गढवा गाउँपालिका-८ कोइलाबासका स्थानीय खानेपानीको मारमा पर्न थालेका छन् । पानीको मुहान सुक्न थालेपछि कोइलावासमा खानेपानीको अभाव देखिन थालेको वडाध्यक्ष खालिक सिद्धिकीले बताउनुभयो । गर्मी सुरु हुन नपाउँदै पुस महिनामा डिप बोरिङको मूल सुकेपछि खानेपानीको समस्या देखिन थालेको गढवा गाउँपालिका-८ का अध्यक्ष सिद्धिकीले बताउनुभयो ।

जसकारण कोइलाबासका करिब १२० घर परिवारलाई खानेपानीको समस्या भएको अध्यक्ष सिद्धिकीले बताउनुभयो । बाह्य तथा आन्तरिक पर्यटकको आवागमनसमेत बढी हुने समयमा खानेपानी अभाव हुँदा होटल व्यवसायमा समेत समस्या भएको होटल व्यवसायी बताउँछन् । राप्तीको प्रवेशद्वारको रूपमा रहेको कोइलाबासमा नेपालसँगै भारततिरबाट घुमफिरका लागि मानिसहरू आउने गरेको स्थानीय बताउँछन् । तर, खानेपानीको समस्या हुँदा कोइलाबासमा पर्यटक, होटल व्यवसायलाई प्रत्यक्ष असर परेको उहाँले बताउनुभयो ।

सरसफाइ, कपडा धुने, भाडा धुने लगायतका कामका लागि खोलाको पानी प्रयोग गर्न सकिने भए पनि खाना पकाउने र खोलाका लागि भने शुद्ध पानी आवश्यक रहे पनि समस्या भइरहेको स्थानीयको भनाइ रहेको छ । खानेपानीको अभावको कारणले गर्दा कोइलाबासमा रहेका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरूलाई समेत समस्या भएको शान्ति पुनस्थापना गृह कोइलाबासकी सीमा जिसीले बताउनुभयो ।

पानी अभाव हुँदा मुख्य गरी अस्पतालमा तथा विभिन्न संघसंस्थामा सरसफाइ एवं विशेषगरी शौचालय फोहोर र दुर्गन्धित हुनुका साथै संक्रमणको समस्या हुने गरेको जिसीले बताउनुभयो । सरोकारवाला निकायहरूले खानेपानीका लागि राम्रो व्यवस्था गर्न सके स्थानीयवासीसँगै बाहिरबाट कोइलावास घुमफिरका लागि आउनेहरूका लागि समेत सहज हुने उहाँ बताउनुहुन्छ । वडाध्यक्ष खालिक सिद्धिकीले कोइलावासमा खानेपानी समस्या समाधानका लागि छिट्टै पहल गरिनेसमेत बताउनुहुन्छ । ‘स्थानीयका लागि खानेपानी सबैभन्दा आवश्यक हो । त्यसका लागि वडा कार्यालयले पहल गरिरहेको छ’, वडा अध्यक्ष सिद्धिकीले भन्नुहुन्छ, ‘अहिलेको स्रोतले काम नगरेकाले वैकल्पिक स्रोतको खोजीको कार्य भइरहेको छ ।’ कोइलावास नेपाल-भारत सीमा नाकाअन्तर्गत एक मात्र जिल्लाको प्रमुख नाकाका रूपमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?