वर्तमान यथार्थ र माधव नेपालको टिप्पणी

हिमालय टाइम्स
Read Time = 6 mins

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ । पार्टीको आन्तरिक निर्णय र छलफलका विषय यहाँ उठान गर्न खोजिएको होइन । उक्त पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालका भनाइलाई यहाँ चर्चा गर्न खोजिएको हो । उहाँले कांग्रेसको घमण्ड र माओवादीको सत्ताकेन्द्रित सोचले वर्तमान सत्ता गठबन्धन बनेको बताउनुभएको छ । त्यसैगरी उहाँले राष्ट्रपति निर्वाचनसम्म पनि गठबन्धन टिक्दैन भन्ने टिप्पणी पनि गर्नुभएको छ । उहाँका यी कुराहरू मननीय छन् । मानिसले उहाँका जे जस्ता कमजोरी देखाउने गरेका भए पनि उहाँको वर्तमान अवस्थामा राखेको अडान प्रशंसानीय छ । निर्वाचनका बेला उहाँले विनापैसा विदेश पठाइदिने भनेर चुवावी सभामा बोल्नुभएको कुराले उहाँको आलोचना निकै चुलिएको थियो तर निर्वाचनमा विजयी बनेर आएपछि कम्तीमा पनि उहाँले तत्कालीन सत्तारुढ गठबन्धनलाई धोका दिनुभएन ।

उहाँ सत्तामा जान हतार गर्नु भएर र निर्वाचन पहिले जे जस्ता सहमति गरेर दलहरू निर्वाचन गरेर गएका थिए त्यो वचनबद्धता कायम राख्नुभएको छ । उहाँले कांग्रेसको घमण्ड र माओवादीको सत्ताकेन्द्रित सोचले नयाँ गठबन्धन बनेको भनेर गरेको टिप्पणीमा सत्यता छैन भन्न सकिँदैन । आफ्नो लामो समयदेखिको गठबन्धन तोडेर क्षणिक स्वार्थका लागि जता पनि ठिक्क हुने प्रवत्ति माओवादीमा देखिएकै हो । जसले संसद्मा जम्मा ३२ सिट जितेको छ त्यही दल प्रधानमन्त्रीको माग गरेर कांग्रेससामु प्रस्तुत भएको थियो । अन्य कुनै शर्त उसले नस्वीकारेपछिको परिस्थिति हो वर्तमान अवस्था । उता नेपाली कांग्रेस पनि अलिकति लचकदार बन्न नसकेकै हो । प्रधानमन्त्री माओवादीको मागअनुसार उसैलाई छोडिदिएर आफू अन्य महत्वपूर्ण पदमा रहन सक्थ्यो तर त्यसो गरेन ।

त्यसै कारण अस्थिर स्वभावका पुष्पकमल दाहाल फड्को मारेर एमालेसँग अँगालो मार्न पुग्नुभयो । यी सबै अवस्था विकसित बन्दै आइरहेको परिस्थतिमा माधव नेपाल विचलित बन्नपुग्नु भएन । त्यही कारणले हाल उहाँले कांग्रेस र माओवादीका सम्बन्धमा यति टिप्पणी गर्न सक्नुभएको हो । हालको गठबन्धनका सम्बन्धमा उहाँले राष्ट्रपतिको आगामी निर्वाचनसम्म नटिक्ने भनेर उहाँले बताउनुभएको छ जसमा केही अनुमान तथा केही विश्लेषण रहेको छ । अनुमान भनेको कुरा मिल्न पनि सक्छ र नमिल्न पनि । अहिले ठीक लागेको परिस्थिति भोलि बेठिक ठहरिन सक्छ । अहिलेको अवस्था हेरेर उहाँले यस्तो टिप्पणी गर्नुभएको हो, भोलि त्यो अवस्था नरहन सक्छ । तर, गठबनधनको अहिलेको शैली हेर्दा यो त्यति धेरै परसम्म पुग्छ भन्नेमा सबैले आशंका गरेका छन् ।

माधव नेपालको पनि त्यही आशंका, अनुमान हो र यसैमा आधारित भएर उहाँले उक्त टिप्पणी गर्नुभएको हो । अहिले नेपालको राजनीति चरम रूपमा धमिलिएको छ । धमिलो पानीमा सबैले माछा मार्नखोज्ने हुन् । स्वदेशी र विदेशी चलखल हुने यस्तै बेलामा हो । अहिले नेपाली कांग्रेसमा निराशा छाएको बेला छ तर लामो इतिहास र नेपालको प्रजातन्त्रको एकमात्र संवाहक भएकाले कांग्रेस इतिहासमा यस्ता परिस्थितिको धेरै पटक सामना गरेको छ । २०१७ सालको काण्डसमेत भोगेको र २०१८/०१९ सालमा त्यसको प्रतिवाद गर्ने क्रममा ठूलो पराजय उक्त पार्टीले भोगेको छ । २०३१ सालको सशस्त्र क्रान्तिको पराजयपछि आफ्ना पार्टीका धेरै योद्धालाई गुमाएर पनि आजका मितिसम्म धैर्यपूर्वक नेपालको मूलधारमा रहेर राजनीति गर्दै आएको छ ।

२०७४ सालमा पनि नेपाली कांग्रेस प्रतिपक्षमा थियो तर संयोगबस् यसैले सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आयो । अहिले पनि नेपाली कांग्रेस त्यस्तै परिस्थितिको पर्खाइमा छ जो असम्भव छैन । किनभने हालको सरकार सातवटा पार्टीहरूको मोर्चा हो, कुनै बेला उक्त मोर्चा विघटन हुनसक्छ । मोर्चाका सबै घटक सन्तुष्ट हुन नसकेको अवस्थामा मोर्चा कसिलो रूपमा रहन सक्दैन । अहिलेको अवस्था यही हो । त्यसकारण एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भन्नु भएका कुरामा वर्तमान गठबन्धनको कारकका रूपमा रहेका एमाले-नेपाली कांग्रेस र माओवादी केन्द्रप्रतिको विश्लेषण हो जो यथार्थको धेरै नजिकमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?