सत्तारुढ गठबन्धन पवित्र,एमालेले गरेको अपवित्र : माधव नेपाल

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेकपा (एमाले)ले गरेको गठबन्धन अपवित्र भएको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताउनु भएको छ ।

अध्यक्ष नेपालले गणतन्त्र र संविधान जोगाउने काम गरेकाले सत्तारुढ गठबन्धन भने पवित्र भएको दावी गर्नु भयो । सत्तारुढ गठबन्धनले मंगलबार ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उहाँले एमालेले बनाएको विपक्ष गठबन्धन भने अप्राकृतिक तथा अपवित्र दुवै भएको जिकीर गर्नु भयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चिने र लोकतन्त्र मास्ने कामलाई रोक्नका लागि गठन भएकाले सत्तारुढ गठबन्धन प्राकृतिक र पवित्र रहेको अध्यक्ष नेपालको तर्क थियो ।

उहाँले जहानिँया राणा शासनको अन्त्य गर्ने, पञ्चायती निरंकुशता अन्त्य गर्न सफल काँग्रेस र कम्युनिष्टहरुबीचको गठबन्धन अव पनि सफलताको विन्दुमा पुगी छाडने बताउनु भयो । अध्यक्ष नेपालले भन्नु भयो, ‘पहिलो कुरा गठबन्धनको बारेमा प्रश्नहरु उठलान । यो गठबन्धन प्राकृतिक हो कि अप्राकृतिक ? यो प्रश्न खडा हुन्छ । अर्को विपक्ष जुन गठबन्धन बनाएका छन । त्यो पवित्र गठबन्धन होकी अपवित्र गठबन्धन ? यहाँ प्राकृतिक, अप्राकृतिक मात्र होइन । यो नेचुरल पनि हो र पवित्र पनि हो । अर्को हाम्रो जुन विपक्षको गठबन्धन छ । त्यो अननेचुरल पनि हो । र, अपवित्र पनि हो ।

पहिलो हाम्रो गठबन्धन गणतन्त्र र संविधान जोगाउनका लागि भएको हो । संविधान रक्षाको लागि, संविधान कुल्चने काम भएको थियो । दुई दुई पटक संविधान कुल्चने काम भएको थियो । मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयत्न भएको थियो । जब्बर्जस्ती समयभन्दा पहिले नै अधिकार मागेर प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्ने काम गरेको थिए । तत्कालीन प्रधानमन्त्रीले । त्यसको विपक्षमा हामी उभियौं । देशको संविधान जोगायौं । संविधान मात्रै जोगाएको होइन, लोकतन्त्र पनि जोगायौं । जुन हिसावबाट मुलुक अधिनायकवादको बाटोमा जाँदै थियो । संविधानको आफूखुशी व्याख्या गर्दै, तोडमरोड गर्दै, अपब्याख्या गर्दै जाने प्रवृत्ति देखिएको थियो । त्यसलाई हामीले ठिक लिगमा बसाल्यौं । गणतन्त्र पनि मास्ने अभियान सुरु हुन खोज्दै थियो । त्यसलाई पनि जोगाउने काम हामीले ग¥यौं । अस्थिरताको अवस्थाबाट देशलाई जोगाएर स्थिरताको बाटोमा लग्यौं । यसरी पवित्र उद्देश्यका साथ यस्ता पार्टीहरुसँग हामीले गठबन्धन ग¥यौं । जुन पार्टीबीच एकताको लामो परम्परा रहँदै आएको छ । राणाशाहीको विरुद्धमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी मिलेपछि मात्रै हामीले राणाशासनलाई धराशायी बनाउन सक्यौं । पञ्चायती निरंकुशतालाई पनि यी दुईटा पार्टी नमिलेसम्म हामीले पराजित गर्न सकेका थिएनौं । जुन दिन हामीले मिलेर, एकतावद्ध भएर आन्दोलन सुरु ग¥यौं । यो सफलताको शिखरमा पुग्यो ।’

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनलाई विजयी गराउनका लागि एकतावद्ध भएर अगाडि बढन पनि गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । गठबन्धनको तर्फबाट आगामी निर्वाचनका लागि साझा प्रतिवद्धता पत्र कात्तिक २ गते (भोली) सार्वजनिक हुने भन्दै उहाँले जनताको घरदैलोमा पुगेर त्यसको प्रचार अभियानलाई तीव्रता दिनुपर्ने बताउनु भयो । अध्यक्ष नेपालले भन्नु भयो, ‘गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनका लागि तपाईहरु एकतावद्ध भएर, योजनावद्ध भएर अवश्य पनि सफलताको विन्दुमा पु¥याउनु हुनेछ भन्ने मैले आशा र विश्वास लिएको छु । हाम्रो सहकार्य जति सशक्त हुँदै जानेछ, जति धेरै हामी समन्वय गर्दै जानेछौं । जति धेरै हामी जनताको माझमा पुग्नेछौ. । हाम्रो विजय त्यति सुनिश्चित हुनेछ ।’

अध्यक्ष नेपालले मुलुकको शासन संचालनमा त्रुटी, कमीरहेको औंल्याउँदै त्यसलाई सुधार गरेर अघि बढन पनि सरकारलाई सुझाव दिनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?