चितवनको इच्छाकामना पूर्णविद्युतिकरण गाउँपालिका घोषणा

हिमालय टाइम्स
Read Time = 5 mins

चितवन । चितवन जिल्लाकाे इच्छाकामना गाउँपालिकालाई पूर्णविद्युतिकरण पालिका घोषणा गरिएको छ ।

शनिवार गाउँपालिकाको वडा नम्वर १ कालिङमा आयोजित एक कार्यक्रममार्फत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पालिकालाई पूर्णविद्युतिकरण घोषणा गर्नुभएको हो । गाउँपालिका पूर्णविद्युतिकरण भएसँगै स्थानीयहरु हर्षित भएका छन् ।

गाउँपालिकालाई पूर्णविद्युतिकरण घोषणा कार्यक्रममा बोल्दै निर्देशक घिसिङले प्राधिकरण देशव्यापी विद्युतिकरणको अभियानमा लागेको भन्दै शतप्रतिशत विद्युतिकरणको अन्तिम चरणमा रहेको बताउनु भयो । उहाँले इच्छाकामनामा पूर्णविद्युतिकरण भनेपनि घरघरमा बिजुली बाल्न केही समय लाग्ने बताउनु भयो ।

कार्यकारी निर्देशक घिसिङले घरघरमा पोल र तार पुगिसकेको हुनाले पूर्णविद्युतिकरण घोषणा गरिएको बताउनु भयो । उहाँले मिटर वितरण र मिटर जोड्ने कामलाई तिब्रता दिने भन्दै गाउँपालिकाले सहजिकरण गर्न आवश्यक रहेको बताउनु भयो । निर्देशक घिसिङले विपन्न समुदाय बसोवास गर्ने ठाउँमा अन्तिम चरणमा विद्युतिकरण भइरहेको भन्दै विपन्न वर्गमा निःशुल्क मिटर बक्स वितरण गरेको बताउनु भयो ।

इच्छाकामनामा विद्युतिकरणको काम सम्पन्न गर्न तदारुकताका साथ काम गरिएको भन्दै गाउँपालिकाले धेरै सहयोग गरेको उहाँको भनाई छ । उहाँले बिजुली नपुगेको ठाउँमा बत्ती बाल्ने प्रमुख दायित्व प्राधिकरणको भएको भन्दै एक वर्षभित्र देशका शतप्रशितमा ठाउँमा बिजुली बाल्ने बताउनु भयो । उहाँले पहिले विद्युत माग्दै नागरिक प्राधिकरणमा धाउनुपर्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले २० युनिटसम्मको बिजुली महिनाको जम्मा ३० रुपैयाँमा उपलब्ध गराएको निर्देशक घिसिङले जानकारी दिनुभयो । उहाँले इच्छाकामनामा विद्युत मर्मत सम्भारका लागि सानो युनिट खोल्ने तयारी गरिएको भन्दै यहाँका चेपाङलाई नै रोजगार दिने बताउनु भयो ।

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले पछिल्लो एक वर्षमा इच्छाकामनामा दु्रत गतिमा विद्युतिकरणको काम गरिएको बताउनु भयो । उहाँले विद्युत प्राधिकरण र स्थानियको सहयोगको कारण समयमै काम सम्पन्नको चरणमा रहेको बताउनुभयो । अध्यक्ष गुरुङले विशेष गरेर चेपाङ बस्ती रहेको वडा नम्बर १ र २ मा बिजुली पुग्न नसकेको क्षेत्रको विद्युत पुर्‍याउन पालिकामा एक वर्षको प्राप्त हुने बजेट बराबरको बजेट विद्युत प्राधिकरणबाट प्राप्त भएपछि सम्भव भएको बताउनु भयो । उहाँले गाउँपालिका र प्राधिकरणबाट विपन्नलाई निःशुल्क मिटरबक्स, तार र केही एमसिबी समेत वितरण गरिएको अध्यक्ष गुरुङले बताउनु भयो । लालपूर्जा नभएकालाई मिटरबक्सका लागि एक हजार धरौटी राख्ने व्यवस्था रहेकोमा अवस्था हेरेर तिर्न नसक्ने विपन्नका लागि गाउँपालिकाले नै जम्मा गरिदिने उहाँले बताउनु भयो ।

इच्छाकामना गाउँपालिकामा करिव ६२ सय घरधुरी छन् । गाउँपालिकामा विद्युतिकरणका लागि १५ करोड ४७ लाख खर्च भएको भएको छ । त्यसमा वडा नम्बर १ मा १ करोड ७५ लाख, वडा नम्बर २ मा ४ करोड ६७ लाख,वडा नम्बर ३ मा ४६ लाख,वडा नम्बर ४ मा १ करोड २४ लाख, वडा नम्बर ५ मा १ करोड ८ लाख,वडा नम्बर ६ मा ५ करोड ७१ लाख र वडा नम्बर ७ मा ५३ लाख बजेट विनियोजन भएको थियो । यस योजनाअन्तर्गत पालिकामा २५ सय पोल गाडिएको र १३ वटा ट्रान्सफर्मर थपिएको छ । प्राधिकरणको निर्देशनअनुसार नै चेपाङ समुदायलाई निःशुल्क मिटरबक्स उपलब्ध गराइरहेको छ । पूर्णविद्युतिकरण घोषणा कार्यक्रममा स्थानियलाई निःशुल्क मिटरबक्स समेत वितरण गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?