अख्तियारले जोख्यो पशुपतिनाथको शिवलिंगमा राखिएको जलहरी, कति रहेछ तौल ?

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पशुपतिनाथको शिवलिंगमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर (क्यारेट) परीक्षण गरेको छ ।

पशुपतिनाथ मन्दिरको गर्भगृहमा तीन वर्षअगाडि राखिएको सुनको जलहरीमा अनियमितता भए/नभएको विषयमा छानबिन गर्न आयोगको विशेष टोलीले आइतबार साँझ मन्दिर पुगेर जलहरी नापजाँच गरेको हो। अख्तियारको टोलीले गर्भगृहबाट जलहरी निकालेर नापजाँच गरेको हो।

आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको जलहरी नापतौल र परीक्षण गरेको थियो ।

स्रोतका अनुसार जलहरी, जलहरीमा लगाइएको दुई थान पेटिकासमेत गरी जम्मा १०६.४३२५ किलोग्राम सुन देखिएको छ । सुनको जलहरी कस्नलाई बनाइएका काँटीको नापतौल १.३७५ किलोग्रम देखिएको छ । सुनको गुणस्तर परीक्षणमा २२ क्यारेटको सुन जलहरीमा प्रयोग भएको पाइएको छ ।

धार्मिक मान्यता अनुसार एक पटक शिवलिंगमा राखिसकिएको जलहरी निकाल्न मिल्दैन । तर जलहरीमा प्रयोग भएको सुनको तौलमा विवाद भएपछि पशुपति क्षेत्र विकास कोषले क्षमा पूजा गरेर जलहरी निकालेर तौल लिइएको हो ।

स्रोतका अनुसार दक्षिण भारतबाट पण्डित बोलाएर पशुपतिनाथमा क्षमा पूजा गरिएको थियो ।

नापजाँचका लागि गर्भगृहबाट टुक्राटुक्रा पारेर जलहरी बाहिर निकालिएको थियो। गर्भगृहबाट बाहिर निकाल्दा जलहरीलाई सेतो कपडामा बेरिएको थियो। मन्दिर परिसरमा राखेर जलहरीको नापजाँच गरिएको हो। जलहरी गर्भगृहबाट बाहिर निकाल्नुअघि पशुपतिका पुजारीले मन्दिरमा पूजा गरेका थिए।

नियमित सन्ध्याकालीन आरती सकिएलगत्तै साँझ ६ बजेदेखि अख्तियारको टोलीले जलहरीको नापजाँच गर्न सुरु गरेको थियो। अख्तियारको टोली पुगेलगत्तै सर्वसाधारणलाई पशुपति क्षेत्र प्रवेशमा रोक लगाइएको थियो। अख्तियारको टोलीले शुक्रबार नै कोषलाई चिठी लेखेर जलहरीको तौल नाप्न आइतबार पशुपति आउन लागेको जानकारी गराएको थियो।

अख्तियारको टोलीले जलहरी नापजाँज गर्दा कोषका सदस्यसचिव मिलन थापा र कार्यकारी निर्देशक घनश्याम खतिवडालाई पनि बोलाएको थियो। पशुपति क्षेत्र विकास कोषका अन्य कर्मचारीलाई भने मन्दिर परिसमा जान निषेध गरिएको थियो।

स्रोतका अनुसार अख्तियारको टोलीले जलहरीको तौल नाप्नुअघि सुनमा मिसावट भए–नभएको विषयमा परीक्षण गरेको थियो।

पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा सुनको विषयलाई लिएर विवाद हुँदै आएको छ । संसदमा समेत पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरी राखिएको भन्दै विवाद भएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा पशुपतिनाथमा सुनको जलहरी राख्ने निर्णय भएको थियो । सो निर्णय अनुसार तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले १२ फागुन ०७७ मा सुनको जलहरी अनावरण गर्नुभएको थियो ।

करिब एक अर्ब रुपैयाँ खर्चेर निर्माण गरिएको जलहरी अनावरण गर्ने अन्तिम समयमा सर्वोच्च अदालतमा रिट परेपछि निर्धारित समयभन्दा तीन दिनअघि नै राष्ट्रपतिले उद्घाटन गर्नुभएको थियो ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदनमा पशुपतिमा सुनको जलहरी राख्दा १० किलो सुन हिनामिना भएको उल्लेख गरिएको छ ।

पशुपति विकास कोषले नेपाल राष्ट्र बैंकसँग ८० करोड रुपैयाँ बराबरको १०३ किलो सुन खरिद गरेको थियो। त्यसमध्ये, जलहरी, जलधारा, नाग, नाग मूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ५१४ ग्राम रहेको छ ।

यी सबै निर्माण सकिएपछि बाँकी रहेको १० हजार ९७६ ग्राम सुनको रिङ बनाएर जलहरीमा लगाएको कोषले बताएको छ । तर, महालेखापरीक्षकको कार्यालयले प्रतिवेदनमा जलहरीमा लगाइएको रिङ बनाउन सो सुन प्रयोग भएरनभएको पुष्टि हुने कुनै कागजात कोषबाट पेस नभएको उल्लेख गरेको छ ।

उक्त समयमा किनिएको १०३ किलो सुनमा मिश्रण गर्न २ किलो ८९० ग्राम तामा, १ किलो २४९ ग्राम चाँदी, १२ किलो ७५० ग्राम जिङ्कसमेत प्रयोग गरी १०७ किलो ४९० ग्राम सुन कायम भएको उल्लेख छ। तर, बाँकी रहेको १० किलोभन्दा बढी सुनबाट रिङ बनेको बिल पेस नभएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकबाट ८० करोड ११ हजार रुपैयाँमा सुन खरिद गरेर अपारदर्शी रूपमा जलहरी निर्माण गरेको तथा तोकिएको परिमाणअनुसार काम नगरेको भन्दै २ वर्षअघि अख्तियारमा उजुरी परेको थियो । उजुरीमाथि प्रारम्भिक छानबिन गरेपछि अख्तियारले अनुसन्धान अधिकृत नै तोकेर विस्तृत अनुसन्धान गरिरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा जलहरी निर्माण प्रक्रियामा सामेल कोषका पदाधिकारी, सदस्य, कालिगड, भट्टरपुजारी, सुरक्षाकर्मी लगायतसँग अख्तियारले बयान लिइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?