भारतमा क्रान्तिकारीहरूलाई अंग्रेज शासकहरूले यसरी फाँसी दिन्थे

Read Time = 9 mins

भारतले आफ्नो स्वतन्त्रताको ७५औँ वर्षगाँठलाई अमृत वर्षको रूपमा मनाएको छ । जसमा देशको स्वाधीनताका लागि मर्ने मेट्ने स्वाधीनता सेनानीहरूको स्मरण गरिँदै छ । त्यो स्वतन्त्रता कसैले सौगातका रूपमा दिएको होइन लाखौँ लाख भारतवासीहरूको उच्च बलिदानले प्राप्त भएको भन्ने कुराको सम्झना गरिँदै छ । भारतको त्यो स्वतन्त्रताको आन्दोलनमा अनेक वैचारिक पक्षहरूको सहभागिता थियो । त्यसमा अहिंसावादी मानिने भारतीय राष्ट्रिय कांग्रेसदेखि नेताजी सुभाषचन्द्र बोसको आजाद हिन्द फौजसम्मका माक्र्सवादबाट प्रभावित क्रान्तिकारीहरूसँग मिलेर आन्दोलन गरिरहेको थियो । गदर पार्टी र हिन्दूस्थान रिपब्लिकन एसोसिएसनसँग संलग्न क्रान्तिकारीहरूको विश्वास सशस्त्र क्रान्तिमा थियो ।

उनीहरू सशस्त्र संघर्षबिना अग्रेजसँगको लडाइँमा विजय मिल्न सक्तैन भन्ने मान्यता राख्दथे र भन्दथे कि ब्रिटिस साम्राज्यवादीहरूसँग हात जोडेर गिड्गिडाउनाले कतै देशले स्वतन्त्रता प्राप्त गर्न सक्तैन । त्यस्तै एकजना सशक्त स्वतन्त्रता सेनानी थिए पण्डित राप्रसाद बिस्मिल जसका साहस र बहादुरीपूर्ण क्रियाकलापले अंग्रेजी शासकहरूलाई नराम्रोसँग हल्लाएर राखिदिएको थियो । केवल ३० वर्षको हुँदा नै उनी स्वतन्त्रताको संघर्षमा शहीद भएका थिए ।

ती उच्च साहस र बलिदानी भावनाका युवा बिस्मिलको जन्म ११ जुन १८९७ मा भारतको मध्य प्रदेशको सानो गाउँ बर्बाईमा भएको थियो । त्यो उनको मावली गाउँ थियो । उनको पालनपोषण भने भारतको उत्तर प्रदेश शाहजहाँपुरमा भएको थियो । तिनको मनमा देशका लागि केही न केही गरिछाड्ने उत्साह र ऊर्जा थियो । त्यसका लागि उनी सबभन्दा पहिला आर्य समाजीहरूसँग सम्पर्कमा गए । उनमा आर्य समाजी भाइ परमानन्द जो गदर पार्टीमा संलग्न थिए, को ठूलो प्रभाव परेको थियो ।

त्यतिबेला जब अंग्रेजी शासकहरूले ती आर्य समाजी भाइ परमानन्दलाई फाँसीको सजाय सुनाएको थियो त्यसप्रति बिस्मिल अत्यन्तै क्रुद्ध बने । त्यो क्रुद्धताकै बीच उनले के प्रतिज्ञा गरे भने त्यस फाँसीको विरुद्ध उनले बदला लिएरै छाड्ने छन् चाहे त्यसका लागि उनले आफ्नो ज्यान नै दिनु किन नपरोस् । यसै सिलसिलामा पछि गएर बिस्मिलले भारतका अर्का महसुर क्रान्तिकारी पण्डित गेन्दालाल दीक्षितको संगठन ‘मातृवेदी’सँग सम्पर्क कायम गरे । ती दुवैले मिलेर भारतको उत्तर प्रदेशको मैनीपुर, इटावा, अगरा, शाहजाहाँपुर आदि जिल्लाहरूमा ठूलो अभियानको योजनाअन्तर्गत युवाहरूलाई संघर्षमा जोडे ।

अंग्रेजले चलाएको चौराचौरी हत्याकाण्डपछि महात्मा गान्धीले एकाएक असहयोग आन्दोलन फिर्ता लिने घोषणा गरेपछि त्यसले भारतका क्रान्तिकारी विचारका नवयुवाहरूमा ठूलो निराशा उत्पन्न भयो । उनीहरूले तुरुन्तै अर्को बाटो पक्रिए । सबै क्रान्तिकारी विचारका युवाहरू क्रान्तिको बाटोमा अग्रसर बने ।

हुन त बिस्मिलले आरम्भिक समयमा भारतको राष्ट्रिय कांग्रेससँग पनि राम्रैसँग काम गरेका थिए । १९२० मा कलकत्ता र १९२१ मा अहमदावादमा भएको कांग्रेसका उच्च राष्ट्रिय सम्मेलनहरूमा भाग पनि लिएका थिए । त्यस अहमदावाद सम्मेलनमा जब मौलाना हसरद मोहानीले स्वराजको प्रस्ताव राखेका थिए त्यसलाई रामप्रसाद बिस्मिल, अशफाक उल्लाखाँ र दिगर इन्क्लाबीहरू सोचका नवयुवाहरूले त्यसको दृढ समर्थन गरेका थिए । तर, महात्मा गान्धीले त्यो प्रस्ताव मान्न अस्वीकार गरेका थिए ।

त्यतिबेला अंग्रेजले चलाएको चौराचौरी हत्याकाण्डपछि महात्मा गान्धीले एकाएक असहयोग आन्दोलन फिर्ता लिने घोषणा गरेपछि त्यसले भारतका क्रान्तिकारी विचारका नवयुवाहरूमा ठूलो निराशा उत्पन्न भयो । उनीहरूले तुरुन्तै अर्को बाटो पक्रिए । सबै क्राान्तिकारी विचारका युवाहरू जसमा भगत सिंह, चन्द्रशेखर आजाद, अशफाक उल्लाखाँँ, राजगुरु, भगवतीचरण बोहोरा, रोसन सिंह, राजेन्द्रनाथ लाहिडी, यशपाल, मन्मथनाथ गुप्ता र दुर्गा भाभी जस्ता क्रान्तिकारी पंक्तिका साथ बिस्मिल पनि लागे र क्रान्तिको बाटोमा अग्रसर बने । १९२४ माबिस्मिले केही क्रान्तिकारी युवाहरूसँग मिलेर ‘हिन्दूस्थान रिपब्लिकन एसोसिएसन’ को स्थापना गरे ।

त्यसको महत्वपूर्ण व्यक्तित्व सचिन्द्रनाथ सन्याल थिए भने उनले बिस्मिललाई सैनिक शाखाको प्रमुख बनाएका थिए । क्रान्तिका लागि हतियारको पनि आवश्यकता थियो नै तर त्यो पैसाविना प्राप्त हँुदैनथ्यो । त्यसलाई पूर्ति गर्न बिस्मिलले केही साथीहरूसँग मिलेर मैनपुरी गाउँमा ‘मनिएक्सन’ चलाए । त्यसपछि उनीहरूले सरकारी खजाना लुट्ने पनि योजना बनाए । ९ अगस्त १९२५ सहरानपुरबाट लखनउ जाने रेललाई ककोरी स्टेसनमा उनीहरूले लुटपाट गरे । त्यस घटनाले अंग्रेज शासकहरूको निद्रा खल्बलियो ।

त्यस काण्डमा संलग्न सबै क्रान्तिकारीहरू पक्राउ परे । त्यस मुद्दामा बिस्मिलले अदालतसमक्ष आफ्नो पैरवी आफैँ गरे । त्यो मुद्दा डेढ वर्षसम्म चलेको थियो । त्यतिबेला अंग्रेज सरकारको तर्फबाट तीन सय साक्षी प्रस्तुत गरिएको थियो । तर, पनि कसैले ती क्रान्तिकारीहरूले नै यो वारदात गरेका थिए भनेर कुनै ठोस प्रमाण दिन सकेनन् ।

यद्यपि, अंग्रेजको जमानको क्रान्तिकारीहरू माथिको त्यो कारबाही त केवल एउटा देखावटी कुरा मात्र थियो । त्यस मुद्दाको फैसला पहिले नै लेखिसकिएको थियो । अंग्रेजको अदालतले कुनै सबुद प्रमाणविना नै बिस्मिल र उनका साथीहरूलाई त्यो ककोरी काण्डको अपराधमा फाँसीको सजाय सुनाइदियो । तर, ती क्रान्तिकरीहरू कत्ति पनि हलचल र विचलित भएनन् । त्यसविपरीत उनीहरूले आफूलाई मन परेको गजल ठूलो स्वरमा अदालतमा गाए ।

त्यो गजल थियो ‘सरफ रोशी की तमन्ना अब हमारे दिल में है/देखना है जोर कितना बाजु-ए-कातिल में है’ । ती क्रान्तिकारीहरूको यो गजल गान अदालतमा नारा जस्तै गुञ्जियो । अदातलको कारबाही हेरिरहेका दर्शकको आवाज पनि उनीहरूको आवाजमा मिसियो । यसरी १९२७ को डिसेम्बर १९ का दिन उनीहरूलाई फाँसी दिइयो । त्यसैले उनीहरू लगायत लाखौँ स्वतन्त्रता सेनानी योद्धाहरूलाई आज सम्झना गर्ने गरिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?