भ्रष्टाचारी नेताहरू आफ्नै कार्यकर्ताको निसानामा कहिले ?

Read Time = 19 mins

विनामिहिनेत र लगानी जसले धन प्राप्त गर्छ उसलेमात्रै अहंकार, दम्भ र घमण्ड गर्छ । भ्रष्टाचारीहरूको अहंकार, दम्भ, घमण्डको मुख्य कारण नै विनालगानीबाट थुप्रने कमिसन र भ्रष्टाचारको धन हो । यदि त्यहीँ धन कसैले आफ्नो लगानीमा मिहिनेत साथ आर्जन गर्छ भने उसमा अहंकार, दम्भ र घमण्ड होइन विनयशीलताका गुण विकसित हुन्छन् । राष्ट्रको जिम्मेवारीमा जति पनि मानिस छन् अपवादबाहेक घुस्याहा र कमिसनखोरमात्रै छन् । त्यसैले सबै राजनीति कर्मीहरू, प्रशासनिक पदमा हुनेहरू, न्यायाधीशहरू, संवैधानिक अंगका पदाधिकारीलगायत अपवादबाहेक शक्ति र सत्तामा हुनेहरू सबै भ्रष्टाचारबाट संकलित विनालगानीबाट थुप्रेको धनका कारण अहंकार, दम्भ र घमण्डले चुलिएका छन् ।

अहिले सत्ता र शक्ति अहंकार र घमण्डको पर्यायवाची शब्द भएको छ । देश अहंकार, दम्भ र घमण्ड रूपी रोगको संक्रमणले ग्रस्त छ । अहिले देशमा भ्रष्टाचारले सम्भवतः रेकर्ड नै कायम गरेको छ भन्दा अत्युक्ति हुँदैन । शक्तिको मात्रानुसार अहंकारको, दम्भ र घमण्डको वृद्धि देशमा भ्रष्टाचारको वृद्धि सँगसँगै महामारी जस्तै फैलिएको छ । नेपालमा राजनीति गर्ने नेताहरूको अहंकार, दम्भ र घमण्डको स्रोत भनेको अवैधानिक आय अर्थात् भ्रष्टाचार हो । शक्तिको र जिम्मेवारीको चरम दुरुपयोग हो । अझ भन्नुपर्दा देश र जनताप्रतिको बेइमानी हो ।

अहंकार, घमण्ड साथै शक्ति र सत्ताको दुरुपयोग मौलाएको विषय नक्कली भुटानी शरणार्थी प्रकरणले प्रमाणित गर्‍यो । भुटानी शरणार्थी प्रकरणले राज्यको जिम्मेवारीमा बस्नेहरूको इमानदारी र नैतिकतामा प्रश्नचिहृनमात्रै होइन धावा बोलेको छ । नेपालीको शिर झुकेको छ । देशको उपप्रधानमन्त्री, गृहमन्त्री भएका व्यक्ति, गृहसचिवजस्तो उच्चस्तरीय राजनीतिज्ञ र प्रशासक नै मानव बेचविखनजस्तो जघन्य अपराध गरेर धन जम्मा गर्ने निकृष्ट कामममा निर्लिप्त छन् भने अब जनताले कसलाई विश्वास गर्ने ? नक्कली भुटानी शरणार्थी प्रकरण तत्कालीन प्रधानमन्त्रीको सहमति बेगर के सम्भव हुन्छ ? उनीहरू कसरी चोखिने ?

अहंकार, घमण्ड साथै शक्ति र सत्ताको दुरुपयोग मौलाएको विषय नक्कली भुटानी शरणार्थी प्रकरणले प्रमाणित गर्‍यो । भुटानी शरणार्थी प्रकरणले राज्यको जिम्मेवारीमा बस्नेहरूको इमानदारी र नैतिकतामा प्रश्न चिहृनमात्रै होइन धावा बोलेको छ । नेपालीको शिर झुकेको छ ।

भ्रष्टाचार निवारण आयोगका आफ्नै कार्यकर्ताले कसरी छानविनको आँट गर्ने ? त्यसैले अहिले सबै तहको नेतृत्व जनताको शंकाको घेरामा छ । तसर्थ यो कालखण्डलाई भ्रष्टाचारको चरमोत्कर्षको समयभन्दा के अत्युक्ति हुन्छ ? अहंकार र घमण्ड राजनेतामा विकसित हुने धेरै कारण छन् । त्यसमध्ये प्रमुख कारण हो न्यायालयमा न्यायाधीश नियुक्तिमा चरम राजनीतीकरण । देशलाई र समाजलाई विधिको प्रत्याभूति गर्ने न्यायाधीशहरूको निष्पक्षता, तटस्थतामा सधैं प्रश्नचिहृनमा रहनु कानुनी राज्यका लागि दुर्भाग्यपूर्ण हो । एउटा पार्टीको कार्यकर्तालाई न्यायाधीश नियुक्त गरेपछि उसले कसरी निष्पक्ष न्याय दिन सक्छ ?

सबै पार्टीहरूबाट नियुक्त न्यायाधीशहरूले नेपालको न्याय व्यवस्थाको चीर हरण गरेर न्यायालयलाई नै अन्यायालय बनाए । कानुनी राज्य लेखिएको संविधानको दुर्दशा यसभन्दा अरू के हुन्छ ? पार्टीहरूका कार्यकर्ता र नेताहरूको मनोभावना अनुकूल न्याय सम्पादन गर्ने न्यायाधीश भ्रष्टाचार र कुशासनको बिगबिगीका लागि पूर्णतः जिम्मेवार छन् । एउटै अपराधमा कोही दण्डित हुने कोही दण्डित नहुने न्याय व्यवस्थाले जनतालाई कति चोट र पीडा दिएको होला ? न्यायालयले निष्पक्ष न्याय दिन चुक्नु भनेको सर्वत्र विकृति र विसंगतिलाई मलजल गर्नु हो । यो अनहोनी यहाँ भइरहेको छ । दुर्भाग्य न्यायालयको निर्णयलाई स्वीकार्नुको विकल्प छैन । अन्यायले न्यायको घाँटी निमोठेको विषयले सबैलाई बिझाउने तर व्यक्त गर्न नहुने कस्तो विडम्बना ?

न्यायपालिकामा पार्टीका, नाताका, पैसाका न्यायाधीशहरूको नियुक्तिले न्यायालय हाल अपराधीलाई दण्डित गर्ने नभएर चोख्याउने थलो बन्यो । न्यायाधीशहरू अपराधी नेताहरूलाई पतिया दिने हतियार बनेका छन् । अख्तियार पनि घुस्याहा, माफियाहरूको संरक्षण गर्ने जिम्मा लिनेहरू त्यसका हर्ताकर्ता भएपछि देशमा दण्डहीनता मौलाएको छ । भ्रष्टाचार गरेर धन जम्मा गर्ने योजनाका साथ राजनीतिको कार्यदिशा निर्धारित भएको अवस्थामा जिम्मेवार सबैमा अहंकार, घमण्ड नै पहिचान बनेको छ । कारण विनालगानी विनामिहिनेत जम्मा भएको धन ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका शब्दमा हिजो सबै जडौरीको आशमा बाँच्ने शेरबहादुर, रामचन्द्र, खड्गप्रसाद ओली, पुष्पकमल दाहाललगायत कुनै नेताको आयआर्जनका व्यवसाय कसैसँग थिएनन् । हाल सबैका काठमाडौंमा आलिशान बंगला छन् । फेरि आफ्नो सम्पत्ति परिवारको नाममा राखेर तथाकथित समानता र वैज्ञानिक समाजवादका बेतुकका गफ चुट्नेहरू आफूलाई सर्वहारा हुँ घर छैन भन्ने तर महिनाको चार–पाँच लाख भाडा तिर्नुपर्ने घरमा बस्छन्, भाडा भुक्तानी गर्ने आधार र स्रोत के ? कोही व्यापारी, कोही तस्कर र कोही ठग ठेकेदारकोमा बसेर उनीहरूको ठग धन्दामा जिम्मेवार नेताहरूबाटै सहयोग छ ।

हिजोका भिखारी वा सोसरहका व्यक्ति राज्यसञ्चालनमा जाने बित्तिकै तिमीहरूसँग र तिम्रा वरिपरिकासँग यो अथाह धनदौलत कसरी आयो ? कसरी तिमीहरूको जीवनशैली उच्च भयो ? जनताको जीवनशैली उच्च बनाउँछौं भनेर नाना थरि आश्वासन दिनेहरूका आश्वासन किन हवा खाए ? उनीहरूको सम्पन्नता दिन दुई गुणा रात चौगुणा कसरी भयो ? तर, जनताको विपन्नता प्रतिदिन उकालो लाग्यो, यो किन भयो ? कसरी भयो ? यो सोध्ने काम सम्बन्धित पार्टीका कार्यकर्ताहरूले आफ्नो नेताको नाकमा औंला ठड्याएर भन्ने आँट र साहस नहुँदासम्म देशको विकास होइन विनाश गर्न भ्रष्टहरू तल्लिन हुन्छन् । देशको काठ त सबै बेचेर खाए । अब माटो, बालुवा र ढंगासमेत बेच्न आतुर छन् । यिनीहरूलाई पैसा आउँदाका बखत राष्ट्रियता बेच्न पनि कुनै आइतबार कुर्नु पर्दैन ।

नेपाली नागरिकलाई भुटानी बनाउने त्यसपछि फेरि अमेरिकी नागरिक बनाउनेजस्तो निकृष्ट काममा नेताहरूमात्रै होइन प्रशासनिक नेतृत्वसमेत लागेको प्रमाणित भयो भने यिनीहरूप्रतिको आस्था र विश्वास सबै अहिले ढलेको छ । सबै शीर्षस्थ नेता, कर्मचारी, न्यायाधीश, संवैधानिक अंगका पदाधिकारीहरूको सम्पत्ति विज्ञ, विशेषज्ञसहितको नागरिक आयोगबाट निर्मम छानविन, तहकिकात र दण्डित हुने वैधानिक व्यवस्था नहँुदासम्म न भ्रष्टाचार रोकिन्छ न यिनीहरूको अहंकार, दम्भ र घमण्डमा कमी हुन्छ । सम्बन्धित पार्टीका कार्यकर्ताले आफ्ना नेताको सम्पत्तिको आयस्रोत के हो भन्न सुरुवात गरौं त यिनीहरू रन्थनिएर देशबाट पलायन हुन सुरु गर्छन् । सबै घुस्याहाका छोराछोरी विदेशमा छन् ।

यिनीहरू सबैले विदेशी बैंकमा धन जम्मा गरेका छन् । सबै पार्टीका कार्यकर्ताले आफ्नै नेताको सम्पत्तिको विषयमा जबर्जस्त प्रश्न नगर्दासम्म न भ्रष्टाचार रोकिन्छ न सुशासन र विकास हुन्छ । सुशासन र विकासमा अवरोधक यदि कोही छन् भने पार्टीहरूका लम्पट कार्यकर्ता हुन् । पार्टीका नेताहरूलाई खराब, धुस्याहा र अनुशासनहीन बनाउनमा यदि कोही जिम्मेवार छ भने नेताहरूका सबै कुरालाई आँखा चिम्लेर समर्थन गर्ने लम्पट कार्यकर्ता हुन् । भ्रष्टाचार गर्ने कुनै पार्टीका नेताविरुद्धमा त्यही पार्टीका कार्यकर्ता जाइलागे भने छानविन र कारबाहीको क्रियाकलाप अविलम्ब सुरु हुन्छ । त्यसले भ्रष्टाचाररूपी समस्याको निकास छिट्टै निस्कन्छ । राजनीतिमा स्वार्थ मिसियो भने सामाजिक, आर्थिक, राजनीतिक, कूटनीतिक, शिक्षा, न्याय, उद्योग-व्यवसाय, धार्मिक, सांस्कृतिक आदि सबै क्षेत्रमा विधिविधानविपरीत मर्यादाहीन काम र व्यवहारहरू यत्रतत्र सर्वत्र देखिन्छन् । स्वार्थले अर्थात् भ्रष्टाचारले राजनीतिमा सीमित व्यक्तिहरू धनी हुन्छन् । बहुसंख्यक जनताहरू कंगाल हुन्छन्÷देश कंगाल बन्छ । परनिर्भरताले स्वाभिमानलाई लिलाम गर्छ । आत्मसम्मान गुमाएको नागरिकसमाज आफैंमा दमित, तिरष्कृत भएको अनुभवमात्रै गर्दैन आत्मबल नै गुम्छ ।

ती राजनीतिमा विराजमान स्वर्थीहरू आफूलाई स्वघोषित सर्वहारा र गरिबहरूका मसीहाका रूपमा प्रचारित गरिन्छन् । उनीहरूको न जागिर छ न कुनै पेशा छ न पैतृक सम्पत्ति थियोे, जीवनशैली भने संसारमै रहीश भनेर चिनिएका नवावहरूको भन्दा पनि उच्च कोटिको छ ।

हैकम र प्रगति तिनै स्वर्थीहरूको हुन्छ जसले राज्य सत्ता र शासन सत्तालाई प्रजातन्त्र र लोकतन्त्रको आवरणमा चरम दुरुपयोग गरेका हुन्छन् । दुरुपयोगलाई नै सदुपयोग भनेर व्याख्या, विश्लेषण र कुतर्क गर्ने भाटको सबै क्षेत्रमा सेटिङ छ । तिनै स्वार्थी र देश लुटनेलाई आदर्श मान्ने एउटा झुण्ड चारैतिर सुशासन र रामराज्य देख्छ । किनकि तिनीहरू राष्ट्रिय भ्रष्टबाट पालितपोषित र निर्देशित हुन्छन् । ती राजनीतिमा विराजमान स्वर्थी आफूलाई स्वघोषित सर्वहारा र गरिबहरूका मसीहाका रूपमा प्रचारित गरिन्छन् । उनीहरूको न जागिर छ न कुनै पेशा छ न पैतृक सम्पत्ति थियो, जीवनशैली भने संसारमै रहीश भनेर चिनिएका नवावको भन्दा उच्च कोटिको छ । उनका परिवारको हिजोको जीवनशैली थाहा पाउनेहरू उनीहरूको परिवर्तित जीवनशैलीले छक्क पर्छन् । तर, उनीहरूमा रत्तिभर लाज हुँदैन किनकि निर्लज्जता नै भ्रष्ट र दूराचारीको विशेषता र योग्यता हो ।

उनीहरू सर्वहारा आफूलाई भन्न छोड्दैनन् तर आफ्ना सन्ततिहरूलाई करोडौंका महल बनाएर बाँड्दा न दिनेले लाजको अनुभूति गर्छ न सरकारी निकाय प्रश्न गर्छन् ? न उनका पार्टीका कोही चुइक्क बोल्ने हिम्मत गर्छन् । लोकतन्त्र भन्छन् नक्कली नै किन नहोस् प्रतिपक्ष त हुन्छ । मात्र देखावटी तर उनीहरू विकृतिका विरुद्ध बोल्दैनन् । किनकि उनीहरू त्यही संस्कारमा थिए । फेरि सत्तारूढ हुँदा व्यक्ति र पार्टीमात्र फेरिन्छ भ्रष्ट संस्कार संस्कृति र प्रवृत्ति आखरी उही भएपछि विरोध किन ? बाहिर दुनियाँलाई देखाउन पक्ष र प्रतिपक्ष छ तर राष्ट्र लुट्ने समयमा यी नदीका दुई किनार जस्ता देखिने एक्कासि एक हुन्छन् ।

अहिले भन्दा पत्यार नै गर्न नसकिने विषय एकाएक सामूहिक स्वार्थमा रूपान्तरित हुन्छ । आवश्यक परे कानुन र नियमा समेत फेर्छन् । राष्ट्र लुटिन्छ तर नागरिकहरू पार्टीमा विभाजित गरिएका कारण उनीहरू टुलुटुलु हेरिरहन्छन् । राष्ट्र लुट्नेहरू उल्टै सदाचार र सुशासनको चर्को स्वरमा पक्षपोषण गर्छन् । लज्जाशून्यता प्रदर्शन गर्दै भ्रष्टाचार नियन्त्रणको चर्को भाषण गर्दछन् । हामी हौसिएर ताली ठोक्छौं । लाज पचाउँदै भन्छौं हाम्रै पार्टीको सरकार हो कसरी विरोध गर्ने ? सुन्दा पत्याउन कठिन भोग्दा भोग्न कठिन हाम्रो स्वार्थ केन्द्रित गणतन्त्र र जनता उपेक्षित लोकतन्त्र नाङ्गिँदै गएको छ ।

यो न चल्ने न ढल्ने अवस्थामा छ । अबको अन्तिम विकल्प सबै पार्टीका कार्यकर्तामा आफ्नो नेताको चरित्रबारे सत्य ओकल्ने आँट हुनुपर्छ । उनीहरूको सम्पत्ति र जीवनशैलीका विषयमा प्रश्न गर्ने ? छानविन गर्ने ? दण्डित गर्न राज्यका संयन्त्रलाई कार्यकर्ताले जिम्मा नदिइकन सुध्रने अवस्था रहेन । अदालतलाई निष्पक्ष बनाउन न्यायाधीश हाम्रो मानिसको ठाउँमा राम्रो मानिस नियुक्त हुनसक्ने विधि लागू गर्न सबै पार्टीका कार्यकर्ताको सक्रिय साथ भयो भने सुध्रन सक्छ । अन्यथा यो भ्रष्टाचारले जनतामात्रै खाँदैन देश पनि खान सक्छ र देशको राष्ट्रियता समाप्त पार्न सक्छ ।

सुधारका लागि जनताको साझा खबरदारी, निगरानीले काम गरेन अब निसाना नै साँध्नुपर्ने भयो । सबै पार्टीका कार्यकर्ताले पार्टीका भ्रष्ट नेतालाई निसाना नै साँध्नुपर्ने अवस्था सिर्जना हुनसक्छ । यदि कार्यकर्तामा त्यो हिम्मत आएन भने कानुन असफल भएको अवस्थामा देश नै असफल बन्ने अवस्थाले हाम्रो दुर्भाग्य निम्तिँदै छ । तसर्थ सबै पार्टीका कार्यकर्ता आफ्नै पार्टीका हिजो आदरणीय भनिने आफ्नै नेताहरूसँग भ्रष्टाचार किन भनेर खनिनुबाहेक अर्को उत्तम विकल्प केही छ ?

Subscribe
Notify of
guest
3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Devi Bhakta Dhakal
Devi Bhakta Dhakal
2023-06-27 10:05 am

हिमालय टाइम्स परिवारलाई हार्दिक धन्यवाद ।

कुलप्रसाद कोइराला
कुलप्रसाद कोइराला
2023-06-27 1:30 pm

देवीका भक्तलाई र भ्रष्टाचार बिरोधीलाई नमस्कार ।लेखइतिखारिएर सुइरो भन्दा पनि तीखो हुनलाग्यो ।मरुन्जेल को यो ढन्नासो सरकारबाट रिसाएर जेलमा लगेर कोचाउलान् ।होस् गर्नुस् ।पशुपतिको योनिजालका नामको सुनकान्डलो अोजी पनि राँक्किएकाछन ।शेबदे पनि थाम खाउँ कि भात खाउँ भएका छन् रे ।आफू नबनी अरु बनाएनन् भनेर यसरी पनि भन्न लेख्न पाईंदोरहेछ भनेर अोली र शेबदे अर्को जन्ममा प्रा बन्न पाउँ भनेर हिमालमा गएर तपस्या गर्नथाले भने? होस गर्नुस् है देवी सर !!! ्

रिलेटेड न्युज

छुटाउनुभयो कि ?