त्रिविमा शैक्षिक क्यालेण्डर कडाइका साथ लागू गर्न प्रधानमन्त्रीको निर्देशन

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै शैक्षिक क्यालेण्डर दृढतापूर्वक लागू गर्न निर्देशन दिनुभएको छ । मंगलबार त्रिभुवन विश्वविद्यालय सभाको ६४औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्नु विश्वविद्यालयका पदाधिकारीहरूको आधारभूत दायित्व भएको समेत स्मरण गराउनुभयो । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाई सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजासमेत प्रकाशित गरी विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा विश्वविद्यालयका पदाधिकारीहरूलाई विशेष रूपले निर्देशित गर्दछु ।’

प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयबाट सञ्चालित उच्च शिक्षाका कार्यक्रमहरूबाट नेपालको आवश्यकता, जनचाहना र विश्व परिवेशअनुकूल गुणात्मक रूपले प्रतिस्पर्धी विद्यार्थीहरू उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विश्वबजारमा उचित स्थान प्राप्त गर्नसक्ने विद्यार्थी उत्पादनमा पनि जोड दिनुभयो । ‘हरेक वर्ष उच्च शिक्षाका लागि विद्यार्थीहरू विदेशिने क्रम किन बढिरहेको छ ?,’ उहाँले भन्नुभयो, ‘विद्यार्थीलाई उनीहरूको रुचि अनुसारका विषयहरूमा उच्च शिक्षा अध्ययन गर्न पाउने कार्यक्रमहरू ल्याउन र विदेशिन नपर्ने अवस्था सिर्जना गर्न म देशको सबैभन्दा ठूलो विश्वविद्यालयको हैसियतमा विश्वविद्यालयलाई विशेष अनुरोध गर्छु ।’

त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०८०/०८१ का लागि २६ अर्ब २४ करोड ९४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबार कीर्तिपुरमा विश्वविद्यालय स्थापनाको ६४औँ दिवसमा सभा बसेको थियो । सभामा रजिष्ट्रार पेशल दाहालले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । बजेटमा विकास कार्यक्रमका लागि एक अर्ब र अनुसन्धानतर्फ ४१ करोड ६१ लाख छुट्याइएको छ ।

विश्वविद्यालय सभाले विभिन्न संकाय र विषयका ७७ हजार १०३ जना विद्यार्थीको ग्रेस लिष्टसमेत स्वीकृत गरेको थियो । २०७९ असार १ गतेदेखि २०८० जेठ मसान्तसम्म स्नातक, स्नातकोत्तर, एमफिल, विद्यावारिधि परीक्षा उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीको लिष्ट स्वीकृत भएको हो । उनीहरूलाई दीक्षान्त समारोहबाट दीक्षित गरिनेछ । सबैभन्दा धेरै व्यवस्थापन संकायबाट करिब साढे २८ हजार विद्यार्थी ग्रेस लिष्टमा समावेश भएका रजिष्ट्रार पेशल दाहालले जनाउनुभयो ।

सभामा सहकुलपति तथा शिक्षामन्त्री अशोककुमार राईले विश्वविद्यालयको पुनर्संरचना गर्दै पाठ्यक्रमलाई समयसापेक्ष बनाउनुपर्नेमा जोड दिनुभयो । ‘विश्वविद्यालयको अध्ययन, अध्यापन, अनुसन्धानलाई प्रविधिमैत्री बनाउन सके विदेश जाने विद्यार्थीलाई रोक्न सकिन्छ,’ उहाँले भन्नुभयोे । सभामा उपकुलपति धर्मकान्त बाँस्कोटाले कुलपति र उपकुलपतिसामु विश्वविद्यालयको उपलब्धि र चुनौतीबारे चर्चा गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?