कथा : पानीको बाटो

हिमालय टाइम्स
Read Time = 10 mins

✍️ खिमानन्द आचार्य

अनगिन्ती मनका अपेक्षाहरू साँचेर तिमीलाई आफ्नो बनाउँदाको त्यो क्षण साँच्चै नै उमङ्मय थियो । बाजा-गाजा सहितको त्यो लावालस्कर अति नै शोभायमान, आफैँमा भव्य र लोकहरूको लागि हेर्न हातुर लाग्ने थियो । बीच–बीचमा भरुवा बन्दुक पड्केको आवाज । ठूलो आवाज सुन्दा म सधैँ कान समाउन पुग्ने-खोइ त्यो दिन मैले साहस गरेर कान समाएर आवाज छेक्न पनि पुगिनँ । त्यो घोडचढीहरूको लावालस्कर, पञ्चैबाजा र जन्तीहरूको पंक्तिबद्ध गति शायद वर्णन गर्न असमर्थ छु ।

त्यही पनि म अनाथ टुहुरोप्रति मेरा काकाको व्यवस्थापन हेर्न लायक थियो । हुन त म जेठो दाजुको छोरा, उहाँका सन्तान नभएका हुनाले त्यो आशाको त्यान्द्रो थिएँ । म गर्भमा छँदा बुबाको मृत्यु भएको हुनाले मलाई सबैले गर्भे भन्थे । न्वारनको नाम शान्त भए पनि सबैले मलाई गर्भे भन्छन् भन्ने कुरा पचाइसकेको थिएँ ।

एक दिन कुरैकुरामा आमालाई सोधेको, ‘आमा, मलाई किन गर्भे भन्छन् ?’ मेरो प्रश्नले उहाँ एक छिन त निष्प्राण जस्तो हुनुभयो, केही जवाफ नदिएर आँखाबाट आँसुका धारा बगाउन थाल्नुभयो । म बालसुलभ अबोध अनाडी भएको हुनाले ‘तँ बुझ्दैनस् बाबु, तँ सानै छस्, पछि बुझ्छस्’ भनेको त्यो सम्झना सधैँ बेला-बेलामा आउँछ । तर फेरि आमालाई त्यो प्रश्न गरेर रुवाउने आँट मैले कहिल्यै गरिनँ ।

म ठूलो हुँदैगएँ । घरको एक्लो छोरो- हजूरआमा र आमाको आँखाको नानी थिएँ । सेतै फुलेकी मेरी हजुरआमा मलाई काखमा राखेर मायाले सुमसुम्याउनुहुन्थ्यो । म हजुरआमाको काखमा लुटपुटिन्थे । ‘विधाताले सन्तानको एउटा चिनो दिएका छन् । त्यसैले यो सास अडेको छ । यो पनि नभइदिएको भए यो बूढो शरीर उहिल्यै निष्प्राण भइसक्थ्यो । यसको बिहे भएको हेर्न मन छ, सबै उनै देवताको ‘खटनको कुरा’ भन्ने मेरी हजुरआमा आज भइदिएको भए कति खुशी हुनुहुन्थ्यो होला ।

उहाँहरूका छोराछोरी नभएका हुनाले काकाले भन्नुहुन्थ्यो- ‘सन्तानको पानीको बाटो यही हो । कहिल्यै मन दुखाएको छैन । झर्को पनि मान्दैन । ईश्वरको खटन-पटन । आफूले निर्माण गर्न नमिल्ने ! पूर्वजन्मको कमाइ खाने न हो । जस्तो कमाइ छ त्यस्तै भोग्ने त हो नि !

आमाको आँसु पुछेको मैले रे भन्दा मलाई अचम्म लाग्यो । बुवा स्वर्गे भएको छ महिनापछि म जन्मेको-यसैले दुई प्राणको आँसु पुछेको भन्दा अनौठो लाग्थ्यो ।

कति बुझ्न नसकिने कुरा गर्नुहुन्थ्यो हजुरआमा- ‘हाम्रो बाँच्ने आधार यही एउटा न हो । कान्छाको पनि आजसम्म सन्तान भएनन् । उनै ईश्वरको खटन-पटन, आफूले भनेर नहुने । यही एउटा हो तर्ने पानीको बाटो ।’

‘मेरो सन्तानको मुटुको ढुकढुकी- यसको कपाल कहिल्यै नदुखोस् ।’ कुरा, आँगनमा हजुरआमा सधैं यस्तै कुरा गर्नुहुन्थ्यो । एक दिनको आमाले मकै सुकाउनुभएको थियो । म उफ्रेर पल्लोपट्टि जान्छुभन्दा बीचैमा परेँ । मकै पोखिए । ‘के गर्छस् साना यस्तो । खेल्न पनि तँलाई मकैमाथि नै पर्ने’ भनेर के हप्काउनुभएको थियो, हजुरआमाले भन्नुभयो- ‘के गर्‍यो र हप्काएको । केटाकेटी छ, यसो यताउति त भइहाल्छ नि !’

‘त्यही हजुरले पुलपुल्याएर ठाउँमा छैन । म अब त काममा सघाए पनि हुन्छ नि । सधै नानी बन्छ । काममा सघाउने कता–कता, झन् काम बढाइदिन्छ ।’

‘आऊ मेरो नाति !’ भन्दा म हजुरआमाको काखमा लुटपुटिएको त्यो क्षण र आज यो विवाहको रमझम-जीवनमा कति उतार-चढाव । आरोह र अवरोह पार गर्दै यहाँ आइपुगें । आज हजुरआमा हुनुभएको भए !

हिजो हजुरआमाको सेतो कपाल आज आमाको तिल-चामले भएको छ । हिँड्ने बेलामा सगुन दही खुवाउने बेलामा-आज तेरो हजुरआमा भइदिएको भए कति खुशी हुनुहुन्थ्यो होला । के गर्नु, भगवान्ले उहाँलाई मन पराउनुभयो । लेखेको हुन्छ, देखेको हुँदैन । समयको गतिसँगै म स्कुल-कलेज सिद्धिएर जागिर खाएको पाँच वर्ष भयो । आमा एक्लो जीवन बिताइरहनुभएको छ । यसो मौका मिलाएर घर गयो, अनि फर्कियो ।

कति पटक समीक्षासँग भनेँ ‘आमा एक्लै हुनुहुन्छ । लौ हेर त मलाई कति दुःख गरेर हुर्काउनुभयो । फोन गरेर कहिले आउँछस् बाबु भन्नुहुन्छ । छरछिमेकीले पनि के भन्दाहुन्- आफूहरू शहरमा बस्छन्, बुढीलाई एक्लै छोडेर ।’

‘यहाँ तिम्रो घर छैन । कहाँ राख्ने । घर किन अनि ल्याऊ । मैले नल्याऊ भनेको छैन क्यारे । आजकल त बुढाबुढीलाई वृद्धाश्रममा राख्ने चलन छ । उहाँ भए खान दिइहाल्छ । आखिर जहाँ भए पनि बूढाबूढी भएपछि दिन काट्ने काल पर्खने सिवाय अरू के हुन्छ र !’

मेरी आमाप्रतिको उसको उदासीनता र उपेक्षित कुराले मुटु छिया- छिया भएर आउँथ्यो । कहाँ जाऊँ, कसो गरौं । त्यसैले मानिसहरू भन्छन्- ‘तातो दूध, निल्नु न थुक्नु’ ।

भोलि आफू पनि त सासू हुनुपर्ला । कहिले कसले बुझाइदिने होला । चर्खा घुम्छ भनेर कति नजानेको हो कुन्नि ! भोलि आफूलाई छोराले वृद्धाश्रममा राख्यो भने यत्रो दुःख गरेको काम लाग्ला वा नलाग्ला, कति चित्त दुख्ला । यसो सोच-विचार त गर्नुपर्छ । दुई-चार पैसा देख्दैमा के भाको । दया, माया, ममताबिना संसारको रीति-स्थिति चल्दैन । भोलि आफू पनि त बुढाबुढी हुनुपर्छ । जन्मेपछि एक दिन मर्नै पर्छ । अजम्मरी जुनी पाएजस्तो त गर्नुहुँदैन नि । नबुझेकोलाई बुझाउन सजिलो हुन्छ । बुझेर पनि बुझ बचाउनेसँग केही लाग्दो रहेनछ । भन्ने हो भने आफ्नो छैन, अरूको देख्न होइन । कि त देखिजान्नु पर्छ या त सुनिजान्नुपर्छ ।

आज सबै कुरा छ । तर न त हजुरआमा हुनुहुन्छ, न त काका-काकी । उहाँहरूका छोराछोरी नभएका हुनाले काकाले भन्नुहुन्थ्यो– ‘सन्तानको पानीको बाटो यही हो । कहिल्यै मन दुखाएको छैन । झर्को पनि मान्दैन । ईश्वरको खटन-पटन । आफूले निर्माण गर्न नमिल्ने ! पूर्वजन्मको कमाइ खाने न हो । जस्तो कमाइ छ त्यस्तै भोग्ने त हो नि ! यस्ता तर्कनाहरू मनभरि पाकिरहन्छन् । के भन्नु के नभन्नु । केही बोल्न ‘उतै गएर बसे हुन्छ, मैले रोकेकी छु र ? यहाँ तिम्रो खरदारको जागिर हो । मेरो बाबा-आमाले नहेर्ने हो भन तिम्रो चुलो बल्दैन ।

उः उर्मिलाको श्रीमान् मुखिया भएर के भो-सम्पूर्ण कुराको पूर्णता छ । केही नपुग छैन । त्यसैले त भन्छन् नि-ज्यादै सोझो हुनुभन्दा टेढो हुनु राम्रो । श्रीमान् त नम्रताको जस्तो । कति बाठो हो । जागिर गरेको पाँच वर्ष त भयो नि । घर, जग्गा, गाडी- नम्रताको रहन- सहन । खै, हामीले खोजेर कहाँ पाउनु । बिहे भएपछि सबै लोग्नेले पुर्‍याइदिन्छन् भन्ने कुरा पनि मनको लडडू घ्यूसँग खाएजस्तै भयो । अरूको लोग्नेको प्रगति देखेर नहुने । आफ्नो गोबर- गणेश भएपछि के लाग्छ र ! आफ्नो त कर्म नै यस्तो । यस्तै लेखेको रहेछ, त्यसैले कस्ता-कस्ता केटा आउँदा पनि मन नपरेको । ऊ धीरज पनि पहिले मलाई माग्न आएका थिए । आखिर मेरो साथीसँग भयो !’ (डिभर्ना, अर्घाखाँची, हाल भर्जिनिया, अमेरिका)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?