दोलखामा वातानुकुलित ६० हजार विरुवा हुर्काउने क्षमताको हाइटेक नर्सरीकोे तयारी

हिमालय टाइम्स
Read Time = 4 mins

-नवराज शिवाकोटी
दोलखा । दोलखाको भीमेश्वर नगर पालिका वडा नम्बर-९ मा रहेको शितोष्ण फलफूल रुटस्टक विकास केन्द्र बोचले ६० हजार विरुवा हुर्काउन सक्ने क्षमताको अत्याधुनिक हाइटेक नर्सरी संचालनमा ल्याउने तयारी गरेको छ ।

चिसोका कारण विरुवा हुर्काउन बढी समय लाग्ने भएपछि वातानुकुलित वातावरणमा शीघ्र रुटस्टक विरुवा उत्पादन गर्नकालागि केन्द्रले हाइटेक नर्सरी संचालनमा ल्याउन लागेको हो ।

शितोष्ण फलफूल रुटस्टक विकास केन्द्र चीसो ठाउँमा भएकोले विरुवाको बृद्धि ढिलो हुने भएकोले हाइटेक नर्सरी संचालनमा ल्याउन लागिएको केन्द्रका निमित्त प्रमुख प्रदिप चन्द्र नेपालले जानकारी दिनुभयो । हाईटेक नर्सरीको निर्माणमा १९ लाख ३० हजार रुपैयाँ खर्च भएको उहाँको भनाई रहेको छ ।

नर्सरीमा कुलिङ प्याड तथा एग्जीष्ट फ्यान राख्न बाँकी रहेकोमा सो जडान गरिएपछि आर्थिक वर्ष २०८०/८१ बाट नर्सरी संचालनमा ल्याइने शितोष्ण फलफूल रुटस्टक विकास केन्द्रले बताएको छ । नर्सरी पूर्ण रुपमा अटोमेटेड सिस्टमको हुने तथा त्यहाँ भित्रको सम्पूर्ण वातावरणको मोवाइल एपबाट नैं संचालन तथा अनुगमन गर्न सकिने केन्द्रका प्रमुख नेपालले बताउनु भयो । नर्सरी भित्रको आद्रता तापक्रम लगायत सबै कुराहरु एपबाट नै हेर्न तथा संचालन गर्न सकिने बताइएको छ । मोवाईल एप बाट नैं इन्टरनेटको पहुँमा रहँदा जहाँबाट पनि नर्सरीको अवस्था अनुगमन तथा संचालन गर्न सकिने उहाँको भनाई रहेको छ ।

सो हाइटेक नर्सरीबाट सामान्य नर्सरीको तुलनामा दुई महिना अघि नै विरुवा उत्पादन गर्न सकिने शितोष्ण फलफूट रुटस्टक विकास केन्द्रले बताएको छ । नर्सरीमा एक पटकमा साठी हजार सम्म विरुवा उत्पादन गर्न सकिने केन्द्रको भनाई रहेको छ । ८ × १६ मिटरको सो हाइटेक नर्सरीको निर्माण पोलिकार्बन प्यानल बाट गरिएको छ ।

मूलतः विभिन्न जातका किवीका विरुवा उत्पादन गरिरहेको केन्द्रले परीक्षणको रुपमा चेरी तथा इटलिबाट ल्याइएका फर्नर र फर्नेट जातका दाँते ओखर पनि परीक्षणको रुपमा केन्द्रमा लगाईएको छ । यस्तै स्याउको पनि परीक्षण भइरहेको छ । ड्राइफ्रुट्सको रुपमा प्रयोग गरिने कटुस तथा चीयाको पनि केन्द्रमा खेति गरिएको छ ।

साँढे १६ हेक्टर क्षेत्रफलमा फैलिएको केन्द्रमा पर्याप्त बजेट अभावका कारण सबै जमिनको उचित प्रयोग हुन नसकेको केन्द्रका प्रमुख नेपालले हिमालय टाइम्ससँगको कुराकानीका क्रममा बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?