ओलीसँगको भेटघाट भ्रष्टाचारको मुद्दामा लेनदेन भनि कपोकल्पित कुरा बाहिर आउनु दु:खद : प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन दलका शीर्ष नेताहरुबीचको छलफलप्रति आशंका नगर्न आग्र्रह गर्नुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा स्पष्टीकरण दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो आग्रह गर्नुभएको हो ।

प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग समिति सभापति चयनको सम्बन्धमा र अन्य विधेयकहरु पारित गर्ने सम्बन्धमा निरन्तर छलफल भइरहेको भन्दै भेटघाट भ्रष्टाचारको मुद्दामा लेनदेन गर्नका लागि नभएको स्पष्ट पार्नुभयो । ओलीसँगको भेटघाट भ्रष्टाचारको मुद्दामा लेनदेन गर्नका लागि हो भनि कपोकल्पित कुरा बाहिर आएकोप्रति उहाँले खण्डन गर्नुभयो ।

प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति भावनामा आएर दिएको बताउनुभएको छ ।

सरदार प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्लीमा कुरा गरेको भन्ने अभिव्यक्ति भावनामा आएर दिएको बताउनुभएको हो । उहाँले आफ्नो छोरी ज्ञानु दाहाल बिरामी हुँदा दिल्लीमा प्रितम सिंहको घरमा बसेर उपचार गराएको र छोरी भेट्न आफू जाँदा सिंहले आफुलाई प्रधानमन्त्री बनेको देख्न चाहाने शुभेच्छा राखेको कुरा मात्र आफूले केही दिन अघिको सार्वजनिक कार्यक्रममा राखेको स्पष्ट पार्नुभयो ।

भावनात्मक र पारिवारिक वातावरणमा भएको सो कुरालाई मात्र आफूले पुस्तक विमोचन कार्यक्रममा राखेको उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले आफूले सो कुरा नभनेको भएपनि हुने भन्दै आत्मआलोचना समेत गर्नुभयो । उहाँले आफ्नो भावनात्मक अभिव्यक्ति राष्ट्रप्रति नै घात हुनेखालको नभएको बताउनु भयो । उहाँले सो कुरा प्रधानमन्त्रीको हैसियतमा नबोलेको भएपनि हुने कुरा आफुले स्वीकार गरेको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले प्रितम सिंह आफुलाई प्रधानमन्त्री बनाउन सक्ने हैसियतका कुनै शक्ति केन्द्र नभएको बताउनु भयो । उहाँले आफ्नो कमजोरी नै सार्वजनिक र निजी कार्यक्रमहरुमा फरक रुपमा प्रश्तुत हुन नसक्ने रहेको भन्दै आफु मनले बोल्ने गरेको पनि बताउनु भयो । उहाँले आफ्नो भावुकता ठिक नभएको निस्कर्षमा पुगेको पनि उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले आफ्नो स्वभावजन्य भावुकताको लागि सदन समक्ष आत्मसमिक्षा गरेको बताउनु भयो । उहाँले अभिव्यक्ति दिँदा आगामी दिनमा शतर्क रहने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामी सबैलाई थाहा छ, प्रितम सिंह कुनै शक्ति केन्द्र होइनन् । उनले भनेर कसैलाई प्रधानमन्त्री बन्ने या प्रधानमन्त्री हटाउने सामथ्र्य पनि छैन । र त्यस्तो सम्पर्क व्यक्ति पनि होइनन् । सायद हिजोअस्ति प्रितमले आफैले पनि भनेको छन् मेरो के हैसियत ? मेरो उनसँग कुनै नेता वा प्रधानमन्त्रीको सम्बन्ध पनि छैन । उनीसँग मेरो एउटा बिरामी छोरीलाई संकटमा आश्रय र सहयोग गरेकोमा कृतज्ञ बाबुको सम्बन्ध मात्र हो मेरो । मेरो सबल पक्ष भनेपनि या कमजोरी भनेपनि म सार्वजनिक र निजी कार्यक्रमरुमा फरक रुपमा प्रस्तुत हुन धेरै गाह्रो पर्छ मलाई । सायद यो मेरो कमजोरी पनि हो । सायद मेरो सबल पक्षपनि यसभित्र अन्र्तनिहित छ कि ? नीजि जस्तै सार्वजनिक अभिव्यक्तिमा पनि म मनले बोल्छु । बोल्न त राजनीतिज्ञले अझ प्रधानमन्त्रीले मनले भन्दा दिमागले बढी बोल्नुपर्ने हो । बोल्नुपर्ने त्यो हो भन्ने पनि सैद्धान्तिक रुपले मलाई ज्ञान नभएको होइन । म दिमाग र मन दुवैले बोल्छु । कहिले मन अगाडी हुन्छ । कहिले दिमाग अगाडी हुन्छ । दिमाग अगाडी भएको बेलामा विज्ञान हाबी भइराखेको हुन्छ । मन अगाडी भएको बेलामा आवेग, आवेश भनौँ या भावना भइराखेको हुन्छ । यो कुराको सैद्धान्तिक ज्ञान मलाई नभएको चाहीँ होइन । मलाइ पटक पटक मेरो दलभित्र पनि, समाजमा सबैले , राजनीतिक दलका नेताहरुले पनि मलाई सुझाव नदिएको पनि होइन । तर ७० वर्षतिर अगाडी बढिराखेको समयमा यो बदल्ने भन्नेकुरा फलामको च्युरा हुँदोरहेछ । अबदेखि त बदल्छु भन्यो । बोल्दै जाँदा आइहाल्छ फेरी । सदनको अगाडी इमान्दारितासाथ यो तथ्य राख्नु बाहेक मसँग के बिकल्प छ र ? यही हो म । यही हो प्रचण्ड । विषयवस्तुको अन्तर्य भन्दापनि शब्द र रुप हेर्ने संस्कार अहिले हाबी भइरहेको बेला मेरो यो तहको भावुकता ठिक नभएको निस्कर्षमा म पुगेकै छु । यो भावुकताले काम दिदैन भन्ने निष्कर्षमा म पुगेकै छु । तर स्वभाववश म अन्र्तमतको आवाजतिर फर्किहाल्दो रहेछु । मनभित्र कुनै मैलो छैन । नियत सफा छ भने भित्र र बाहिरका अभिव्यक्तिहरु समान हुँदारहेछन् । यो स्वभावजन्य भावुकताका लागि म सदनसमक्ष आत्मसमिक्षा गर्न चाहान्छु । र भविष्यमा यहाँ चलेको वहसले मलाई सतर्क हुन उत्प्रेरित गर्ने ठानेको छु र यसअर्थमा प्रतिपक्षलाई पनि म धन्यवाद भन्न चाहन्छु ।’

प्रधानमन्त्री दाहालले दलहरुले आफुलाई प्रधानमन्त्री कसले बनाउने भनेर प्रश्न गरेर राष्ट्रपतिलाई आफैँले लेखेको पत्रको अवहेलना गरेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?