घिउ बेच्न घरघर

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 4 mins

सिन्धुली । सितादेवी यादव घाँसको जोहो गर्न कहिले पाखाबारी, कहिले चुरे जंगल धाउनुहुन्छ । विहान उठ्ने वित्तिकै गोठे धन्दामा लाग्नुहुन्छ । उहाँको दैनिकी भैंसीको स्याहार–सुसार र पालन–पोषणमा वित्छ । यिनै कामधन्दाले यादवलाई आत्मनिर्भर बनाएको छ ।

कमलामाई नगरपालिका–९ बथानचौडीमा उहाँले दुई वटा गुहार जातको भंैसी पाल्नुभएको छ । गोबर सोहोर्ने, घाँस काट्ने, खोलेपानी लगायतका कामधन्दामा आफैँ खटिनुहुन्छ । दुध दुहुनादेखि दही, घिउ बनाएर बेच्नसमेत उहाँनै भ्याउनुहुन्छ ।

भैंसी पालनमा घाटा नहुने उहाँको अनुभव छ । ‘गोबर प्राङगारिक मलका रुपमा विक्रि हुन्छ । दूध, दही, घिउमा राम्रो आम्दानी छ, भैंसी पालनमा फाईदानै छ,’ उहाँले भन्नुभयो ।

दुई वटा भैँसीले दैनिक विहान र बेलुका गरी २० देखि २५ मानासम्म दूध दिन्छ । किसान यादव दूध कम बेच्नु हुन्छ । घिउ बनाउँन बढी जोड दिनुहुन्छ । घिउ बनाउँदा दही र मोही पनि बेचेर कमाई गर्न सकिन्छ । दूध बेच्दा यो फाइदा लिन सकिदैन । महिनाको घिउमात्रै १५ केजि विक्री गर्ने गरेको उहाँले सुनाउनुभयो ।

पशूको मल, दूघ, दही, मोही घरगोठबाटै विक्री वितरण हुन्छ । घिउ बेच्न उहाँ घरघर हिड्नुपर्छ । प्रत्येक महिनाको एक दिन बथानचौडीदेखि उहाँ सिन्धुलीमाडीसम्म घिउ बेच्नकै लागि धाउँनुहुन्छ । उहाँसँग पहेँलो रङ्गको १५ केजि अट्ने एउटा र दुई वटा एक/एक केजि घिउ अट्ने डब्बामा छन् । यि डब्बा भरिन महिना दिन लाग्छ । डब्बा घिउले भरिसँगै बेच्नको लागि उहाँ सिन्धुलीमाडी बजार क्षेत्रमा रहेका घरघरमा ‘घिउ आयो, घिउ किन्ने ?’ भन्दै डुल्नुहुन्छ ।

सोही क्रममा सिन्धुलीमाडीमा अवस्थित बर्स पार्क नजिकै रहेको एक होटेलमा घिउ बेच्दै गरेको अवस्थामा भेटिनुभएकी किसान सितादेवी यादवले घिउ प्रतिकेजि एक हजारदेखि एक हजार दुई सय रुपैयाँसम्ममा विक्री भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘घरघर डुलाउन सके घिउ बेच्न समस्या छैन । एक पटक घिउ किनेका ग्राहक पटकपटक दोहोरिरहन्छन् ।’

ठेकीको सरसफाइ गरेर शुद्ध घिउ बनाउने भएकाले आफ्नो घिउ सबैको रोजाइमा पर्ने गरेको उहाँले बताउनुभयो । व्यावसायिक गाई, भैंसी, खसी, बाख्राजस्ता पशुचौपाय पालनमा आम्दानी राम्रो रहेको उहाँको भनाई छ । पाँच जनाको पारिवारीक तथा घरखर्च टार्न भैंसी पालनले टेवा पुगेको छ । पशूचौपायलाई रोग तथा प्रकोपबाट बचाउन भने समस्या हुने गरेको उहाँले दुखेसो गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?