रोटरीले रेडक्रसलाई हस्तान्तरण गर्‍याे रगत संकलन गर्ने एम्बुलेन्स

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 7 mins

रुपन्देही । रगतको माग दिन प्रतिदिन बढ्दै जाँदा व्यवस्थापन पनि निकै चुनौतीपूर्ण बन्दै गएको छ । बेलाबखत रगतको अभाव भइदिँदा बिरामीका आफन्त रक्तदाता खोज्दै भौतारिनुपर्ने अवस्था छ ।

रगतको माग र आपूर्तिको सन्तुलन मिलाउन बुटवलमा पहिलोपल्ट ‘रक्त संकलन मोवाइल एम्बुलेन्स’ ल्याइएको छ । रक्त एम्बुलेन्समा गाडीभित्रै बसेर रक्तदान गर्न सकिन्छ । रोटरी क्लव अफ बुटवलले ल्याएको यो रक्त संकलन एम्बुलेन्स शुक्रबार नेपाल रेडक्रश सोसाईटी रुपन्देहीलाई हस्तान्तरण गरिएको छ । उक्त एम्बुलेन्स खरीदका लागि रेडक्रसले पनि साझेदारी गरेको छ ।

रोटरी क्लव अफ बुटवलको सिङ्नेचर प्रोजेक्टका रुपमा रहेको यो एम्बुलेन्स ७० लाखको लागतमा भित्र्याइएको क्लवका अध्यक्ष बोनिन पियाले वताउनु भयो । उहाका अनुसार यो एम्बुलेन्समा बसेर एकै पटकमा ५ जनाले रक्तदान गर्न सक्छन् । “अब यसलाई सही ढंगले सञ्चालनमा ल्याएर रगतको माग र आवश्यकतालाई पूरा गर्नुपर्छ, क्लवले यस्ता रचनात्मक काम आगामी दिनमा पनि गर्दै जानेछ”–उहाँले भन्नुभयोे । अध्यक्ष पियाले क्लवले रुपन्देहीमा मात्रै १० करोड भन्दा बढी रकम सामाजिक क्षेत्रमा लगानी गरेको वताउनु भयो।

रगत संकलन गर्न यो एम्बुलेन्स लुम्बिनी प्रदेशका सबै जिल्लामा पु¥याइने नेपाल रेडक्रश सोसाईटी रुपन्देहीका अध्यक्ष दिपक क्षेत्री न्यौपानेले बताउनु भयो । उहाँले अब यसको सञ्चालनमा लागि कार्यविधी निर्माण गरिने र सोही अनुसार कार्यान्वयमा लगिने बताउनु भयो।

क्लवले तीन वर्षअघि यो एम्बुलेन्स ल्याउने प्रक्रिया थालेको थियो । तर कोरोना महामारीका कारण क्लवको परियोजना पछाडि धकेलियो । क्लवका पूर्व अध्यक्ष डिल्लिनारायण श्रेष्ठको पालामा अघि बढेको यो प्रोजेक्टले बोनिन पियाको पालामा मुर्त रुप लिएको हो ।

क्लवका अध्यक्ष पियाले आफ्नो कार्यकालको अन्तिम दिन रक्त संकलन मोवाइल एम्बुलेन्स हस्तान्तरण गर्न पाउँदा गौरव लागेको वताउनु भयो । रगत संकलन गर्दै हिँड्ने एम्बुलेन्स बुटवलमा पहिलोपल्ट भित्र्याइएपछि अव रक्तदानमा सहजता हुने अपेक्षा गरिएको छ ।

रक्त एम्बुलेन्समा गाडीभित्रै बसेर रक्तदान गर्ने मात्र हैन, रगत चिस्याउने, रगत झिक्ने स्वास्थ्यकर्मी बस्ने व्यवस्था एम्बुलेन्सभित्रै छ । रगत अभाव भएको बेला गाउँगाउँसम्म रगत संकलन गर्न एम्बुलेन्स निकै उपयोगी हुने विश्वास गरिएको छ ।

रगत संकलन एम्बुलेन्स ल्याइएपिछ प्रतिकुल मौसममा समेत रगत संकलन गर्न सहज हुने छ । रक्त संकलन एमबुलेन्स हस्तान्तरण समारोहमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले रगतको माग दिनहुँ बढिरहेका बेला रोटरी क्लवले गरेको यो कार्य निकै सह्रानीय रहेको भन्दै प्रशंसा गर्नु भयोे । उहाँले बुटवलबासीका निम्ति निःशुल्क रगतको व्यवस्था गरिएको र त्यसबाट बिरामीहरुले फाइदा लिइरहेको भन्दै उपमहानगरले शिक्षा र स्वास्थ्यलाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेको बताउनु भयो ।

रोटरी डिष्ट्रिक इन्टरनेशनल ३२९२ का वर्ष २०२३–२४ का डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजूले रक्त संकलन मोवाइल एम्बुलेन्स ल्याउने प्रक्रियामा विभिन्न रोटरीयनहरुको योगदानलाई भुल्न नहुने भन्दै यसको सफल सञ्चालनमा लागि जोड दिन आग्रह गर्नु भयो।

लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठले सरकारी अस्पताललाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु जरुरी रहेको वताउनु भयो । लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको सहज उपचार कसरी गर्न सकिन्छ भन्ने कुरालाई महत्व दिएको भन्दै सरकारले बजेट उपलव्ध नगराउँदा र अस्पतालको आफ्नै आम्दानीको स्रोत खुम्चिंदा भने सेवा सञ्चालनमा कठिनाई आइरहेको बताउनु भयो।

रक्त संकलन एम्बुलेन्सका लागि प्रोजेक्ट तयार पार्ने काममा मुख्य भूमिका खेलेका क्लवका पुर्व अध्यक्ष राजेन्द्र लम्सालले रोटरीयनहरुले आफ्नो पैसा खर्च गरेर सामाजिक क्षेत्रमा लगानी गर्दै आएको जानकारी दिंदै यसका लागि रोटरी इन्टरनेशनल अन्तर्गको रोटरी फाउन्डेशनबाट पनि ठूलो सहयोग प्राप्त भैरहेको बताउनु भयो ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल,नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चौहान, क्लवका सचिव लालहरि पाण्डेलगायतले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?