पिम नेपाल फिल्म फेष्टिवलको पाँचौं संस्करण सम्पन्न

Read Time = 6 mins

काठमाडौं । पिम नेपाल फिल्म फेष्टिवलको पाँचौं संस्रकण सम्पन्न भएको छ । पहिलो चलचित्र आमाकी अभिनेत्री भुवन चन्दलाई दीर्घसाधना सम्मान प्रदान गर्दै फेष्टिवल सम्पन्न भएको हो । सांस्कृतिक संस्थानमा तीन दिनसम्म चलेको फेष्टिवलको समापन समारोहमा विभिन्न विधाका उत्कृष्ट चलचित्र, कलाकार तथा प्राविधिकलाई अवार्ड प्रदान गरिएको थियो । महोत्सवमा आर्यन सिग्देल र प्रमिला कार्कीले उत्कृष्ट अभिनेता अभिनेत्रीको अवार्ड प्राप्त गर्नुभयो । फेष्टिवलमा सिग्देलले चलचित्र ‘डिडेम्बर फल्स’ र कार्कीले चलचित्र ‘बगान’बाट उक्त अवार्ड प्राप्त गर्नुभएको हो ।

यस्तै चलचित्र ‘लाखे’बाट सम्राट बस्नेतले उत्कृष्ट फिचर फिल्म निर्देशकको अवार्ड प्राप्त गर्नुभयो भने सर्वोत्कृष्ट फिचर फिल्मको अवार्ड चलचित्र ‘प्रकाश’बाट निर्देशक दिनेश राउतले प्राप्त गर्नुभयो ।

चलचित्र प्रकाशबाटै सर्वोत्कृष्ट फिचर फिल्म लेखकको अवार्ड विकास सुवेदीले प्राप्त गर्नुभयो भने सर्वोत्कृष्ट भिएफएक्स आर्टिष्टको अवार्ड समीर मियाले प्राप्त गर्नुभयो । समारोहमा फिचर फिल्मतर्फको जुरी अवार्ड चलचित्र ‘नम्बरी सुन’ले पायो भने, फिचर फिल्म निर्देशक तर्फको जुरी अवार्ड चलचित्र ‘डेशान’बाट कमल एक्चै मगर र वेष्ट एक्टर जुरी अवार्ड चलचित्र ‘लाखे’बाट रोहित रुम्बाले प्राप्त गर्नुभयो ।

उत्कृष्ट सर्ट फिल्मको अवार्ड ‘ऐना’ले प्राप्त गर्‍यो भने वेष्ट तामाङ फिल्मको अवार्ड ‘आप्लेङ ला नाम्सा’बाट शेखर लामाले प्राप्त गर्नुभयो । यस्तै वेष्ट भोजपुरी फिल्मको अवार्ड ‘मधेसी पुत्र २’ ले प्राप्त गर्दा, मैथली फिल्म ‘समय के खेला’बाट विक्रम गुप्ताले अवार्ड हात पार्नुभयो । त्यसैगरी नेपाल भाषाको फिल्म अवार्ड रोजिन महर्जनले चलचित्र ‘उच्च शिक्षा’बाट प्राप्त गर्नुभयो । समारोहमा उत्कृष्ट चलचित्र पत्रकारको अवार्ड कुबेर गरी र उत्कृष्ट मनोरञ्जन पत्रकारको अवार्ड कृष्ण कँडेललाई प्रदान गरिएको थियो ।

समारोहमा विभिन्न विधामा उत्कृष्ट योगदान दिएका कलाकर्मीहरूलाई सम्मान समेत गरिएको छ । समारोहमा निर्देशक ऋषिराज आचार्य, अभिनेता तेज गिरी, पत्रकार दीपकविहीन, चलचित्र पत्रकार सचित खड्का, लोकगायक रामकुमार नेपाली र लोकगायक अमृत भारतीलाई सम्मान गरिएको थियो ।

निर्देशक माधवराज खरेल संयोजक रहेको निर्णायक कमिटीमा चलचित्र पत्रकार विजयरत्न तुलाधर, चलचित्र पत्रकार विष्णु सुवेदी, लोकगायक कुलेन्द्र विश्वकर्मा, गायक शिव परियार, मेकअप आर्टिष्ट विक्रम गौतम, सञ्चारकर्मी दीर्घराज उपाध्याय, सञ्चारकर्मी कमलनाथ अधिकारी र फिल्म अर्काइभिष्ट चिरञ्जीवी गुरागाई रहनुभएको थियो ।

आयोजक संस्था पावर नेपाल इन्टरनेशनल मिडिया नेपालका सल्लाहकार शान्तिप्रियको अध्यक्षतामा सम्पन्न समापन समारोहमा विशिष्ठ संगीतकार सम्भुजित बास्कोटा, विशिष्ठ अभिनेत्री वसुन्धरा भुसाल, विशिष्ठ अभिनेत्री चैत्यदेवी सिंह, राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला, कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, चलचित्र नृत्यकार संघका अध्यक्ष जनक कार्की, वरिष्ठ निर्देशक ऋषि लामिछाने, चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, चर्चित गायिका देविका बन्दना, गायक सीताराम पोखरेल, मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारी, कलाकार रश्मि भट्ट, नृत्य निर्देशक दिनेश पाख्रिनलगायत व्यक्तित्वको उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै फेष्टिवल निर्देशक कमला जोशीले हरेक वर्ष थप भब्यताका साथ फेष्टिवल सम्पन्न हुँदै आएको भन्दै आगामी वर्षमा अझ भव्य रूपमा सम्पन्न गरिने बताउनुभयो । महोत्सवको बुधबार गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले उद्घाटन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?