संसद् जनअपेक्षाअनुसार चल्न नसकेको अनुभूति भइरहेको छ : सभामुख घिमिरे

नारायण भण्डारी
Read Time = 8 mins

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् प्रभावकारी बनाउने गरी भूमिका निर्वाह गर्न राजनीतिक पार्टीहरूलाई आग्रह गर्नुभएको छ । ६५औँ संसद् दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद् जनअपेक्षाअनुसार चल्न नसकेको आमअनभूति भइरहेको र त्यसलाई प्रभावकारी बनाउने गरी राजनीतिक पार्टीहरूले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको हो । उहाँले संसद् जनप्रतिनिधिहरूको सर्वोपरी संस्था भएकाले त्यसलाई प्रभावकारी बनाउने विषयमा पूर्वसंसद् क्लबभित्र छलफल गर्न उपयुक्त हुने धारणासमेत राख्नुभयो । ‘मलाई लाग्छ-संसद् प्रभावकारी हुनुपर्छ । यसमा कुनै बहस र विवादको विषय छैन । प्रभावकारी कति हुँदा हुन्छ ? यसको मापन पनि यति हुनुपर्छ भन्ने हुन्न होला,’ उहाँले भन्नुभयो, ‘तर जे भए पनि जनअपेक्षा अनुरूपको हुन सकिरहेको छैन भन्ने आम अनभूतिहरू छ जस्तो मलाई पनि लाग्दछ । यसलाई प्रभावकारी पार्नमा मूलतः राजनीतिक पार्टीहरूको भूमिका प्रभावकारी हुन्छ ।’

राष्ट्र र जनताको आवश्यक्ताअनुसार कानुन निर्माण गर्ने, भएका कानुनलाई सरकारले प्रभावकारी ढंगले कार्यान्वयन गर्दै जानुपर्ने सभामुख घिमिरेको भनाइ थियो । ‘संघीय संसद् सर्वोपरी संस्था हो । यसले बनाउने नीति, कानुन, यसले बनाएको सरकार देशमा शासन गरिरहेको हुन्छ । यसले अहिलेको आवश्यक्ता र खाँचोअनुसार काम गर्न सकिरहेको छ कि छैन ? छैन भने कानुनको अभाव छ भने कानुन बनाऔँ,’ उहाँले भन्नुभयो, ‘कार्यान्वयनको अभाव छ भने सरकार वा अन्य अंगहरूलाई एक्टिभ बनाउने काम गरौँ । संविधान नै बाधक छ भने पनि यसको बारेमा छलफल चलाउन पूर्वसांसद क्लब उपयुक्त हुन्छ ।’

प्रशासन कानुनभन्दा बाहिरबाट चलिरहेको छ : पूर्वसभामुख ढुंगाना
पूर्वसभामुख दमननाथ ढुंगानाले संसद्ले बनाएको कानुनभन्दा बाहिर रहेर प्रशासन चलिरहेको बताउनुभएको छ । ६५औँ संसद् दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले संसद्ले बनाएको कानुनबाट प्रशासन नचलेको र संसद्ले यसबारेमा ध्यान दिन नसकेको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक पार्टीहरू सत्ताको स्वार्थमा डुबिरहेको पनि बताउनुभयो । संसद्ले बनाएका कानुन प्रशासनले नमान्नु यसको अपमान भएको उहाँको भनाइ छ । ‘अहिले म सुन्दै छु । संसद्ले एउटा काननु बनाउँछ, तर अरूकै आदेशबाट प्रशासन चलिरहेको छ,’ उहाँले भन्नुभयोे, ‘त्यो हेर्ने को हो ? तपाईंहरू, संसद्ले हेर्ने होइन ? ल, हाम्रा पार्टीलाई त सत्तामै फुर्सद भएन, हुनेलाई कसरी मेरो सत्ता बचाऊँ, नहुनेलाई सत्तामा जान हतारो, त्यो मात्रै छ । हाम्रो देशको राजनीतिमा अब त प्रदेशमा पनि सरिसक्यो । हामीले बनाएको कानुनलाई छल्ने गरी प्रशासनले जुनजुन आदेश गरेको छ, त्यो संसद्को अपमान हो । त्यो हेर्ने को ? हेरिरहनुभएको छ तपाईंहरूले ? त्यो हेर्नुपर्छ । संसद्को कामै छैन, त्यो हेरिँदैन भने ।’ पूर्वसभामुख ढुंगानाले संसद् प्रभावकारी बनाउनका लागि, भ्रष्टाचार घटाउन र सरकारलाई प्रभाकारी बनाउनका लागि काम गर्न जरुरी रहेको बताउनुभयो । उनले नेपालमा संविधान फाल्ने र अर्को व्यवस्था ल्याउनेतिर धेरै सोच्न जरुरी नरहेकामा जोड दिनुभयो ।

दलहरूमा लोकतन्त्रप्रतिको प्रतिबद्धता देखिँदैन : पूर्वसभामुख सापकोटा
पूर्वसभामुख अग्निप्रसाद सापकोटाले नेपालका राजनीतिक दलहरूमा लोकतन्त्रको कमी भएको बताउनुभएको छ । ६५औँ संसद् दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वसभामुख सापकोटाले अहिले पार्टीभित्र बिचौलिया, माफिया मात्र नभई एकअर्कालाई आरोप लगाएर मूल्य-मान्यता र आदर्शमाथि नै प्रहार भइरहेको उल्लेख गर्नुभयो । लोकतन्त्र बलियो बनाउका लागि नेपालका राजनीतिक दलहरू प्रतिबद्ध हुन नसकेको उहाँको भनाइ छ । ‘कमिसन, अहिले बिचौलिया, माफियाहरूको मात्रै होइन, पार्टीभित्र पनि एकअर्कालाई आरोप लगाएर के हो त्यो पार्टीको मूल्य मान्यता, आदर्श ? हामी कतातिर गइरहेका छौँ ? अहिले पार्टीभित्र केही कुराको कमी छ भने, हाम्रो राजनीतिक जीवनका हरेक क्षेत्रमा केही कुराको कमी छ भने त्यो लोकतन्त्रको कमी छ,’ उहाँले भन्नुभयोे, ‘लोकतन्त्र भनेको कुनै प्रवचनको विषय होइन । लोकतन्त्र भनेको कुनै भाषणको विषय होइन । लोकतन्त्र भनेको जीवन व्यवहार हो, नयाँ सभ्यता र संस्कृति हो । लोकतन्त्र भनेको हामीलाई अघि बढाउने महान् सिद्धान्त हो । त्यसका लागि पार्टीहरू प्रतिबद्ध भएको मैले देखिनँ ।’

संसद्‌मा तस्बिर नराखेकोमा उपसभामुख रानाको असन्तुष्टि
उपसभामुख इन्दिरा रानाले संसद्मा उपसभामुखको फोटो नराखेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । संसद् दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले सभामुखको राख्ने गरे पनि उपसभामुखको नराखिएको प्रति दुःखेसो व्यक्त गर्नुभएको हो ।

उहाँले आफू केही समयअघि सिंगापुरको संसद् भवनमा गरेको भ्रमणबारे बताउँदै संसद्मा राखिएका सभामुखका तस्बिरबारे बताउनभुएको थियो । त्यहाँको संसदमा विगतदेखि वर्तमानसम्मका सभामुखको तस्बिर राखेको पनि उहाँले बताउनभुयो । ‘अस्ति म सिंगापुर गएको थिएँ । डब्ल्युटिओको कन्फ्रेन्समा । त्यहाँ पार्लियामेन्ट भिजिट गर्ने मौका पाएको थिएँ । त्यहाँ पहिलाका सभामुखज्यूले कस्तो टोपी लगाउनुहुन्थ्यो, कस्तो लुगा लगाउनुहुन्थ्यो ? अहिलेका सभामुखज्यूले कस्तो लगाउनुहुन्छ ? त्यो विकास क्रमअनुसार त्यसरी राखिएको छ अभिलेखको रूपमा,’ उहाँले भन्नुभयो । तर नेपालमा त्यस्तो नभएको भन्दै प्रश्न गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?