मधेस प्रदेशस्तरीय दोस्रो रामनारायण फुटबल प्रतियोगिताको उपाधि बारालाई

हिमालय टाइम्स
Read Time = 3 mins

बारा । सिमरामा सम्पन्न मधेस प्रदेशस्तरीय दोस्रो रामनारायण मिश्र फुटबल प्रतियोगिताको उपाधि बारा जिल्लाले हात पारेको छ । शनिबार राति सम्पन्न प्रतियोगिताको फाइनल खेलमा प्रतिस्पर्र्धी रौतहटलाई शून्यका विरुद्ध दुई गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्न बारा सफल भएको हो ।

मधेस प्रदेश फुटबल संघको आयोजना र बारा जिल्ला फुटबल संघको सह–आयोजनामा भएको प्रतियोगितामा विजेता बारालाई कार्यक्रममा प्रमुख अतिथि पूर्वउपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले ५० हजार, उपविजेता रौतहटलाई ३० हजार नगद हस्तान्तरण गर्नुभएको छ । मधेस प्रदेशको शिक्षा तथा समाज कल्याण मन्त्रालयको आर्थिक सहयोगमा असार ११ गतेदेखि बाराको सिमरामा जारी प्रतियोगिता शनिबार राति सम्पन्न भएको हो ।

प्रतियोगिताको बेष्ट किपर नसरोज धामी, वेष्ट डिफेन्स बाराका श्याम चौधरी, वेष्ट मिड फिल्ड रौतहटका बिपिन मगर, बेष्ट फरवार्ड सिरहा सुजन पुलामी, हाइस्कोरर सागर चौधरी, वेष्टकोच बाराका उमेश श्रेष्ठलाई पाँच हजार रुपैयाँका दरले तथा मष्ट भ्यालुएबलतर्फ बाराका विवेक चौधरीले १० हजार नगद पाएका छन् ।

समापन कार्यक्रममा कांग्रेस नेता विमलेन्द्र निधिले २००७ सालको क्रान्तिमा रामनारायणको योगदानको चर्चा गर्दै उहाँ जनकपुर चुरोट कारखानाको स्थापना तत्कालीन उद्योग मन्त्री मिश्रको पहलमा भएको स्मरण गर्नुभयो ।

११औं राष्ट्रिय फुटबल मधेस प्रदेशमा आयोजना गर्नका लागि आफ्नोतर्फबाट पहल गर्ने निधिले बताउनुभयो उनले खेलकुदलाई आफूले अन्य पेशाभन्दा फरक रूपमा लिएको उल्लेख गर्दै यसले अनुशासनको पाठ पढाउने र नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन मद्धत गर्ने विश्वास व्यक्त गर्नु भयो ।

मधेस प्रदेश फुटबल संघका सभापति नेपाल कार्कीको सभापतित्वमा सम्पन्न प्रतियोगिता समापन कार्यक्रममा एन्फा उपाध्यक्ष दाबा लामा, जतिपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेललगायतले खेलकुद क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?