धनगढीमा सिंगो परिवार नै लागुऔषधमा संलग्न, सीमावर्ती क्षेत्रमा लागुऔषधका डिलरहरू नै सञ्चालन

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 6 mins

कैलाली । असार १० गते जिल्ला कारागार कैलालीबाट धनगढी उपमहानगरपालिका–२ की ५० वर्षीया कमलादेवी अवस्थी पक्राउ परिन् ।उनलाई विस्कुटभित्र लागुऔषध लगेको अभियोगमा पक्राउ गरिएको हो । लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका छोरा ओमप्रकाश अवस्थीलाई दिन ५ ग्राम ४० मिलिग्राम लागुऔषध लगेर अवस्थी कारागारमा छोरा भेट्न गएकी थिइन् ।

कमलादेवीको बुहारी तथा ओमप्रकाशकी श्रीमती समेत जिल्ला प्रहरी कार्यालयको हिरासतमा छिन् । उनलाई पनि लागुऔषधकै अभियोगमा अनुसन्धान भइरहेको छ ।

सुदूरपश्चिममा लागुऔषध सेवन र ओसारपसारमा सिङ्गो परिवार नै संलग्न हुन थालेको यो प्रतिनिधि घटना हो । भारततर्फ सीमावर्ती क्षेत्रका लागुऔषधका डिलरहरूले नेपाली प्रयोगकर्ता मार्फत नेपालीमा लागुऔषधको सञ्जाल विस्तार गरेका छन् । प्रयोगकर्ता मार्फत दैनिक ठुलो परिमाणमा लागुऔषध कैलाली र कञ्चनपुरमा भित्रिने गरेको ११ वर्षसम्म दुव्र्यसनीमा फसेका तर अहिले सामान्य जीवन निर्वाह गरिरहेका युवाहरु बताउने गरेका छन् ।

‘कैलाली र कञ्चनपुरमा भारतबाटै लागुऔषध भित्रिने गरेको छ । ब्राउन सुगर अर्थात् खैरोहिरोइन भारतबाटै आउँछ,’ एक प्रयोगकर्ताले भने , ‘प्रयोगकर्ताले जति किनेर ल्याउँछ त्यसको आधा यता बिक्री गरेर अर्को दिन किनेर खाने पैसा जम्मा गर्छ । प्रयोगकर्ताले नै खानेहरुको सञ्जाल बढाउन मद्दत गरेको हुन्छ ।’ धनगढीकी कमलादेवीले अपरिचित भारतीय नागरिक घरमा आएर लागुऔषध कारागारमा पुगाउन भनेको प्रहरीलाई बयान दिएकी छन् ।

उनले जेठ २९ कैलाली कारागारबाट सप्तरी जेल सरुवा भएका मनिष जैसवाललाई लागुऔषध दिन भनिएको बताएकी छन् । यस्तै, शुक्रवार मात्रै कैद भुक्तान गरिरहेका धनगढी–१ का करन बमलाई भेट्न गएका डोटीको बोगटान फुड्सिल गाउँपालि–६ घर भएका धनगढीमा नास्ता पसल चलाउँदै आएका भीम बोगटी पक्राउ परेका छन् । सेम्पुको डम्बाभित्र लागुऔषध लुकाएर बोगटी बमलाई भेट्न कारागार पुगेका थिए । प्रहरीले दैनिक लागुऔषधसहित कैलाली र कञ्चनपुरबाट दुव्र्यसनीहरुलाई पक्राउ गरिरहेको छ ।

तर, कैलाली र कञ्चनपुरका डिलर भने पक्राउ परेका छैनन् । लागुऔषध नियन्त्रणको अभियान चलाएरै प्रयोगकर्ता, ओसारपसारकर्ता र डिलरलाई समेत समात्ने प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी उपरीक्षक श्याम चौधरीले बताउनु भयो । ‘नेपाल प्रहरी लागुऔषध प्रयोग, ओसापसार र बिक्री वितरण पूर्णतया नियन्त्रण गर्न काम गरिहरेको छ । दैनिक पक्राउ पर्नेको संख्या पनि उच्च छ,’ उहाँले भन्नु भयो, ‘लागुऔषध नियन्त्रणका लागि नेपाल प्रहरी प्रतिवद्ध भएर काम गरिरहेको छ ।’

नेपाल प्रहरीले सुदूरपश्चिमबाट चालु आर्थिक वर्षको साउनदेखि असार १५ गतेसम्म लागुऔषध मुद्दामा ७८८ जनालाई पक्राउ गरेको छ । जसमध्ये ७२७ पुरुष र ६१ महिला छन् । यो वर्ष लागुऔषधका ४९३ मुद्दा दर्ता भएका छन् । साढे एघार महिनामा प्रहरीले गाँजा ४८ किलो ८०६ ग्राम ५ सय मिलिग्राम बरामद गरेको छ । यस्तै, चरेस १११ किलो ३३४ ग्राम ५३४ मिलिग्राम बरामद भएको प्रदेश प्रहरीले जनाएको छ । सुदूरपश्चिमबाट यो वर्ष १ किलो ३४५ ग्राम १९२ मिलिग्राम खैरोहिरोइन बरामद गरेको हो ।

लागुऔषध प्रयोग, ओसारपसार र बिक्री वितरण रोक्न प्रहरीले अभियान चलाएको दाबी गरेको छ । यस्तै, दुव्र्यसनमआ फसेकाहरूलाई सुधार गर्न नेपाल प्रहरीले धनगढीको फूलवारीमा सुधार गृह सञ्चालन गर्ने तयारी गरिरहेको प्रहरी उपरीक्षक चौधरीले बताउनु भयो ।

‘हामीले लागुऔषध नियन्त्रणसँगै दुर्व्यसनीमा पनि पूरै सुधार ल्याउनुपर्छ भनेर काम गर्ने सोच बनाएका छौँ । धनगढीको फूलवारीमा सुधार गूह सञ्चालनको तयारी थालिएको छ,’ उहाँले भन्नुभयो, ‘लागुऔषधका प्रयोगकर्तासँगै कारोबारीलाई पनि समात्न प्रहरी टोली खटिएकै हुन्छ ।’ गाँजा र चरेसको स्रोत नेपालमै भए पनि खैरोहिरोइन भने भारत हुँदै सुदूरपश्चिम भित्रिने गरेको छ ।

सुदूरपश्चिममा भारतबाट ड्रक्सको ¥याकेट सञ्चालित छ । भारतीय बजारबाट भारतीय कारोबारीले नेपालमा लागुऔषध प्रयोकर्ताको सञ्जाल निर्माण गरेर कारोबार हुने गरेको पाइएको छ । भारतीय कारोबारीलाई सहयोग गर्न कैलाली र कञ्चनपुरमा मिनी डिलर नै सञ्चालनमा रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?