भारत-चीन सैन्य वार्ता

Read Time = 3 mins

नयाँदिल्ली । भारत र चीनका सैन्य अधिकारी सम्मिलित १६औं चरणको वार्ता चुशुलमा सुरु भएको छ । भारतीय भूमि चुशुल-मोल्दो सीमा बिन्दुमा जारी बैठक पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) बाट सेना फर्काउनेमा केन्द्रित रहेको स्रोतले जनाएको छ ।

वार्तामा भारतीय पक्षको नेतृत्व फायर एण्ड फ्युरी कोर कमाण्डर लेफ्टिनेन्ट जनरल ए सेनगुप्ताले गर्नुभएको छ । द्विपक्षीय उच्चस्तरीय सैन्यवार्ताका निम्ति बैठकले मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ । यसअघि दुवै पक्षले सीमा क्षेत्रमा सुरक्षा र स्थायित्व कायम गर्न सहमति जनाएका थिए । साथै दुवै देशले समाधान हुन बाँकी समस्या सैन्य र कूटनीतिक वार्ताका माध्यमबाट टुंग्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सन् २०२० को अप्रिल-मेमा चीन-भारत सिमानाको पश्चिमी क्षेत्रको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चिनियाँ पक्षले एकतर्फी रूपमा यथास्थिति परिवर्तनको धेरै पटक प्रयास गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो ।

कैयौं चरणका वार्तापछि दुवै पक्षले आफ्ना मतभेदलाई व्यवस्थापन गर्न र कुनै पनि विषयमा विवाद नगर्ने सहमति जनाएका थिए । साथै दुवै पक्षले सीमा विवादको अन्तिम टुंगो नलागेसम्म सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नु द्विपक्षीय सम्बन्धको समग्र विकासका लागि आवश्यक आधार भएको स्वीकार गरेका थिए ।

हालै इण्डोनेशियाको बालीमा भएको जी-२० का विदेशमन्त्रीको बैठकमा भाग लिने क्रममा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भएको भेटमा भारतका विदेशमन्त्री एस जयशंकरले सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने दिशामा बाँकी रहेका कामलाई गति दिनुपर्नेमा जोड दिनुभएको थियो ।

दुई वर्षअघि गलवान उपत्यकामा भारत र चीनबीच भएको भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु भएपछि दुई देशबीचको सम्बन्ध सुमधुर बन्न सकेको छैन । यद्यपि द्विपक्षीय व्यापार निर्वाधरूपमा भइरहेको छ । (रासस/सिन्हृवा)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?