ब्राह्मण, ब्राह्मणवाद र उत्कर्षवाद !

Read Time = 16 mins

✍️ घनश्याम कोइराला

आज हामी जो ब्राह्मण कहलिएका छौं, जसलाई ब्राह्मण भनेर ‘ठूला-उँचा’ मानिरहेका छौं, के हामीमा त्यस्ता गुणहरू छन् ? गुण, विशेषताका आधारमा प्राप्त पदविलाई विनागुण, विशेषता पनि पुर्ख्याैली रूपमा स्वीकारिरहनुपर्छ र ? शास्त्रले त यसो भनेन । परिस्थिति फेरिँदा राष्ट्रका, समाजका, मानिसका नियम फेरिन्छन् । जनजनका पेसश, बासस्थान, संस्कृति आदि फेरिन्छन् । वेद, शास्त्रमा यो परिवर्तनशीलता पाइन्छ । जसरी संविधानमा नागरिकका अधिकार, काम, कर्तव्यका धारा फरक-फरक हुन्छन्, वेद र शास्त्रमा पनि त्यस्ता विषय हुन्छन् । ब्राह्मणको मात्र प्रशंसा गरिएका अनुच्छेद हेर्दा ब्राह्मणको सर्वोच्चता देखिन्छ तर यी सर्वोच्चताका विषय विनासर्त मान्न सकिँदैन । पहिले वर्णविभाजन, त्यसपछि काम तोकिएको होइन अर्थात् वर्णका आधारमा कर्म नभई कर्मका आधारमा वर्ण हो । वेद र शास्त्रले भनेको कुरा यही हो ।

ऋजुः तपस्वी सन्तोषी क्षमाशीलो जितेन्द्रियः । दाता शूरो दयालुश्च ब्राह्मणाे नवभिगुणैः ।।
सरल, उपलब्धिका लागि दुःखकष्ट सहन सक्ने, सन्तुष्ट, क्षमाशील, इन्द्रियलाई नियन्त्रणमा राख्ने, दानी, निडर, दयालु, चराचर जगतबारे ज्ञान भएको यी नौ गुण ब्राह्मणमा हुनुपर्दछ । यसका आधारमा ब्राह्मण बन्न सक्दछ । ब्राह्मणमा हुनुपर्ने अनेकौँ गुण-विशेषता वेद, शास्त्रले तोकेका छन् । यसरी तोकिएका गुणहरू, विशेषता र चरित्र विकास गरेर जाति उत्कर्ष हुन्छ । यी नियम बनाउनेहरू अहिले चलन चल्तीका जातका ब्राह्मण होइनन्, क्षमताले उत्कृष्ट व्यक्ति हुन्, जसलाई वास्तवमा ब्राह्मण मान्न सकिन्छ ।

पुरोहित ब्राह्मणहरूको विषय छ, उनीहरूले केही सोच्नुपर्ने अवश्य छ । ब्राह्मण वा पुरोहितका पुर्खाले समयानुकूल प्रावधान विकास गरेका छन् । तर, आजका ब्राह्मणहरू आफूले केही नगरेको यश (जस) को पगरी र अपयश (अपजस) को कलंक बोक्न बाध्य छन् ।

यसरी यस्ता ब्राह्मणहरू पुरोहित बनेका हुन् । बौद्धिक कर्म गर्ने वर्ग भएको हुनाले यिनीहरूले आहार-विहार, आचरण र चरित्रका क्षेत्रमा अरूलाई भन्दा आफ्ना लागि कठोर नियम निर्धारण गरे । त्यसको प्रभाव उनीहरूको प्रभावमा पनि स्वाभाविकै थियो । तर, समय बित्दै जाँदा परिवारभित्रको संस्कारको सीमिततामा होइन, साझा सामाजिक संस्कार र सभ्यतामा अघि बढ्नु आवश्यक हो । त्यसैले, वंश-परम्पराको अवशेषमा रंगिएर कुनै प्रकारको जातीय अहंकार बोकिहिँड्न आवश्यक छैन ।
वयं राष्ट्रे जागृयाम पुरोहिताः ! हामी पुरोहितहरू राष्ट्रलाई जागरूक बनाई राख्दछौं । कति राम्रो र जिम्मेवार उद्घोष । पुरोहित शब्द ‘पुर+ हित’ मिलेर बनेको छ । पुर भनेको शहर वा बस्ती हो, हित भनेको भलाई हो । यसअनुसार शहर वा बस्तीको भलाइको जिम्मेवारी लिएकाहरू नै पुरोहित हुन् । पुरोहित शब्दको अर्को अर्थ ‘अगुआइ गर्नु’ हो । यी दुवै सन्दर्भ जोड्दा पुरोहित भनेको बस्ती र बासिन्दाको हित हुने कामको अगुआइ गर्ने पुरोहित हुन् । धार्मिक-सांस्कृतिक हिसाबले भन्नुपर्दा जाप-होम, यज्ञादिको कर्मकाण्ड गर्ने हो ।

मान्यताका हिसाबले बुझ्दा वेद-वेदाङ्गको मर्म जान्ने-बुझ्ने, जनताको मंगल कामना गर्ने, भलो चिताउने, आशिर्वाद वा शुभकामना दिने आदि हो । यस्तालाई पुरोहित मान्ने हो । यस्तो गर्ने व्यक्तिलाई ब्राह्मण मानियो । अहिलेकै अवस्था अनुसार पनि सबै पुरोहित ब्राह्मण हुन्, तर सबै ब्राह्मण पुरोहित हुँदैनन्, होइनन् ।
कर्मैव प्राक्तनमपि क्षणं किं कोद्रस्ति चाक्रिय ।
न जात्या ब्राह्मणाश्चात्र क्षत्रियो वैश्य एव न ।।
न शूद्रो न च वै म्लेच्छो भेदिता गुणकर्मभिः ।
ब्रह्मणास्तु समुत्पन्नाः सर्वे ते किं नु ब्राह्मणाः ? ।।
यी श्लोकहरूको अर्थ हो, पुराना कर्म नै मानिसको भाग्य बन्दछ । कर्म नगरिकन कोही बस्न सक्दैन । जन्मका आधारमा कोही पनि ब्राह्मण, क्षत्री, वैश्य, शूद्र वा म्लेच्छ हुँदैन । मानिसका गुण र कर्मद्वारा जातिको भेद छुट्याउन सकिन्छ । सबै प्राणी ब्रह्माबाटै उत्पन्न भएका हुन् भन्दैमा सबैलाई ब्राह्मण भन्न सकिन्छ र ? (शुक्रनीति) यी पंक्तिबाट के सिद्ध हुन्छ भने कोही पनि मानिस जन्मका आधारमा ब्राह्मण वा अर्को वर्णको हुँदैन । पूर्वीय सनातन प्रबन्धमा ब्राह्मणलाई उच्च मानिँदैआएको छ । तर, जन्मको आधारमा नभई कर्मको आधारमा यस ‘ब्राह्मण’ पदलाई स्वीकार गरिएको छ । वेदमा त ब्राह्मणलाई समाजको मुख नै भनिएको छ । ब्राह्मणको वंशमा जन्मेर मात्र होइन, केही विशिष्ट गुणहरू आर्जन र विकास गरेर ब्राह्मण बन्न सकिन्छ । जाति, वर्ण उत्कर्षका विषय वेद र शास्त्रमा छन् ।
सर्वेषां ब्राह्मणो विद्याद्वृत्युपायान् यथाविधि ।
प्रब्रूयादितरेभ्यश्च स्वयं चैव तथा भवेत् ।।
वैशेष्यात्प्रकृतिश्रेष्ठ्यान्नियमस्य च धारणात् ।
संस्कारस्य विशेषाच्च वर्णानां ब्राह्मण प्रभुः ।।
यी श्लोकहरूको अर्थ हो, ब्राह्मणले सबैका जीविकाको उपाय जानेर त्यसको उपदेश सबैलाई गरून् र स्वयं पनि आफ्ना जीविकाको उपाय गरून् । अत्यन्त श्रेष्ठता, स्वभावको श्रेष्ठताका कारण, नियमहरूलाई धारण गर्नमा र संस्कारको विशेषताले सबै वर्णका स्वामी ब्राह्मण हुन् । (मनुस्मृति)

व्यक्तिविशेषका गुण-दोषका कुरा नगर्ने हो भने जहाँसम्म पुरोहित ब्राह्मणहरूको विषय छ, उनीहरूले केही सोच्नुपर्ने अवश्य छ । यी ब्राह्मण वा पुरोहितका पुर्खाले समयानुकूल प्रावधान विकास गरेका छन् । तर, आजका ब्राह्मणहरू आफुले केही नगरेको यश (जस) को पगरी र अपयश (अपजस) को कलंक बोक्न बाध्य छन् ।
व्यवहारमा हेर्दा ब्राह्मणहरूले कर्मकाण्डमा सहजता ल्याएका छन् । वस्त्रं समर्पयामि (कपडा चढाउँछु) भनेर धागोले काम चलाएका छन् । सुनको ठाउँमा सुन घोटेको फलामको टुक्रो वा एउटा सानो पैसोले काम चलाएका छन् । पैसा चढाउन भनिएको ठाउँमा फूलले र फूल चढाउन पर्नेमा पातले काम चलाएका छन् । लिपपोत, धोई-पखाली गर्नु पर्नेमा पानीका छिटाले काम चलाएका छन् । गाई दिनुपर्ने ठाउँमा दुनामा केही पैसा राखेर काम चलाएका छन् । कट्टरता त्याग्दै आएका छन् ।

थुपै ब्राह्मण सन्तानले टुप्पी काटेका छन्, जनै फालेका छन् । अन्य जातजातिकाले पढ्ने विद्यालयमा आफ्ना सन्तान पढाइरहेका छन् । अरूले गर्ने पेसा अँगालेर श्रेष्ठतासमेत हासिल गरेका छन् । गाई काट्ने, घरपरिवारमा मान्दै आएका देवीदेवताको पूजा गर्न नपाइने देशहरूमा श्रम बेचिरहेका छन् । श्रमका सबै क्षेत्रमा ब्राह्मण संलग्न छन् । सरकारी, गैरसरकारी कार्यालयमा सफाइ कर्मचारी, चालक, परिचर आदि बनेर सेवा गरिरहेका छन् । सहकर्मीहरूसँग खानपान, बसउठ, खेलकुद सबै सँगसँगै गरिरहेका छन् । निर्वाचनहरूमा राजनीतिक आस्था र प्रभावका आधारमा जातपात नभनी मतदान गरेका छन् । फेरि पनि जातीय कट्टरताको लाञ्छना यिनै ब्राह्मणमाथि किन ?

यज्ञ तथा पूजा आदिमा मुख्य पुजा गरिने देवताभन्दा पहिले उनका गण, सेवक, नन्दी-भृंगी आदिको पूजा गर्ने-गराउने गर्दछन् । पूजाका क्रममा देवीदेवताका वाहन पशुहरूको पूजा गर्दछन् । देखिने र नदेखिने ठूलासाना प्राणीहरूको भाग छुट्याउँछन् । यहाँसम्म कि प्रकृतिका सानाठूला सबै भौतिक पदार्थहरू, ग्रहआदिलाई नमस्कारसहित पूजा गराउँछन्, गर्दछन् । फेरि पनि अहंकार र अहंकारीमा ब्राह्मणकै नाम किन ?

जुनसुकै यज्ञमा मातृका र योगिनीहरूको पूजा नगरी ठूला देवताको पूजा गर्दैनन्, गराउँदैनन् । लक्ष्मी नभनी नारायण भन्दैनन् । गौरी नभनी शंकर भन्दैनन् । सीता नभनी राम र राधा नभनी कृष्ण उच्चारण पनि गर्दैनन् । सृष्टि, ऐश्वर्य, ज्ञानको मुख्य स्थानमा देवीहरूलाई स्वीकारेर स्थापना गर्दछन् । यतिले पनि नपुग्ने ठानेर छुट्टाछुट्टै गौरी र शंकरलाई एउटैमा जोडेर अर्धनारीश्वर बनाएका छन् । नारी हिंसामा फेरि पनि यही धर्म र यिनै ब्राह्मणलाई आँखा तर्नुपर्ने किन ?

ब्राह्मणहरूले अहिले भोग्नुपरिहेका अपयशका मूलतः दुईवटा क्षेत्र छन्, लैंगिक हिंसा र जातीय विभेद । अपयशको थप क्षेत्र हो- धर्मान्तरण । यी तीनैवटा विषय सार्वजनिक जिम्मेवारीका हिसाबले कुनै जात, वर्ण, धर्म आदि भन्दा पनि राज्यको दायित्वको विषय हो ।

त्यतिबेला कर्मको आधारमा भएको वर्णविभाजन अनुसार ब्राह्मण वर्णमा नपरेकाहरूबाट जन्मेकालाई पनि कर्मको उत्कृष्टताको कारण महर्षि, राजर्षि, ब्रहृमर्षि स्वीकार गरेका छन् । उनीहरूबाट लिखित-प्रतिपादित ग्रन्थ, सिद्धान्तहरूलाई शिरोपर गरेका छन् । त्यस्तै मध्येका व्यास, वाल्मीकि आदिको नाम सबैलाई थाहा छ । फेरि पनि संकीर्ण जातिवादी ? उही देवता पूजा गर्ने, उनै देवता मान्ने सिल्पी र सेवक वर्गमा परेकाहरूलाई नछुने कारण के हो ? उनीहरूकोमा आजा-पूजा नगराउन पर्ने कारण के हो ? थाहा छ ? यथार्थ र व्यावहारिक, विज्ञानसम्मत कारण थाहा छ ? किन उतिबेला उनीहरूलाई आजा-पूजा र सघन संस्कारहरूको अनिवार्यतामा पारिएन ? हेक्का छ ?

थाहा नपाएर वा थाहा नपाएझैँ गरेर लाञ्छना बोक्नुपरेको छ । सनातनदेखि चलिआएका असल परम्पराको विकास गर्नुपर्नेमा, संस्कृतिका आधार जोगाउनु र विस्तार गर्नुपर्नेमा अनेकौं नाम र बाहनामा खुम्च्याउँदै जानु राम्रो हो र ? धर्मान्तरणको सबैभन्दा मुख्य कारण जातीय विभेद हो । आफूले सबै गर्न हुने, हिन्दु सनातन मान्यताका आधारमा दलित वर्गीकरण गरिएकाहरूको घरमा आफू स्वयंले मानिआएका देवीदेवताको पूजा, दानमा सहजीकरण नगरेपछि उनीहरू किन ती देवता मानून् त ? सबैभन्दा ठूलो बन्दा डाइनासोर जस्तै विलुप्त भइनेतर्फ ध्यान छ कि छैन ?

ब्राह्मणहरूले अहिले भोग्नुपरिहेका अपयशका मूलतः दुईवटा क्षेत्र छन्, लैंगिक हिंसा र जातीय विभेद । अपयशको थप क्षेत्र हो- धर्मान्तरण । यी तीनैवटा विषय सार्वजनिक जिम्मेवारीका हिसाबले कुनै जात, वर्ण, धर्म आदि भन्दा पनि राज्यको दायित्वको विषय हो । यो मूर्त हो । यसलाई संविधान, ऐन, नियम आदि बनाउने र कार्यान्वयन तथा नियमन गर्ने अधिकार छ । दण्ड-जरिमाना गर्ने शक्ति छ । तर, अमूर्त विषयतर्फ औँला देखाइदिएर राज्य उम्कन खोज्दैछ । अहिलेका जातीय तथा लैङ्गिक भनिएका समस्याको मुख्य कारण राजनीतिक शक्ति र राज्यको दोहोरो भूमिका हो ।

हिन्दुहरू नै हिन्दु संस्कार गर्नबाट वञ्चित हुनुपर्दा उनीहरू हिन्दु रहिरहने अपेक्षा गर्न सकिन्छ त ? विद्वान्, ब्राह्मण, पुरोहितहरूले सोच्नुपर्ने बेला भइसकेको छ । अब ब्राह्मणवाद र दलितवाद होइन, सांस्कृतिक उत्कर्षवादतर्फ लागौँ । कटुता र कट्टरताको यथास्थिति होइन समता र मधुरताको सांस्कृतिक पुनःजागरणतर्फ लागौँ ।
(कोइराला संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?