सामाजिक बन्धन र निषेधलाई तोड्दै ग्रामीण कश्मीरको महिला समूह सेनेटरी न्यापकिन् उत्पादनमा

Read Time = 6 mins

श्रीनगर (जम्मुकश्मीर) । भारत अधिनस्थ उत्तरी कश्मीरको बान्दीपोरा जिल्लाको दुर्गम भेगमा अवस्थित शाहगुन्डका गाउँका केही महिलाले सामाजिक बन्धन र प्रतिबन्धलाई चुनौती दिँदै रजस्वला भएका बेला लगाइने ‘सेनेटरी न्यापकिन्’ उत्पादन एवं प्रवद्र्धनमा जुटेका छन् । एघारजना समर्पित सदस्य सम्मिलित समूहले ‘सेनेटरी न्यापकिन्’ उत्पादनका साथै कश्मिरका हरेक गाउँ, सुदूर बस्तीमा महिला स्वास्थ्य र व्यक्तिगत सरसफाइबारे चेतना फैलाइरहेका छन् । समूहकी अगुवा रजिया ग्रामीण महिलाको जीवनस्तरमा सुधार ल्याउन तथा जीविकोपार्जनमा सघाउने समूहको दृढ संकल्प व्यक्त गर्दै दुर्गम क्षेत्रका धेरै महिलालाई स्वास्थ्य र सरसफाइबारे पर्याप्त ज्ञान नहुँदा उनीहरू विभिन्न रोगको शिकार हुने गरेका बताउनुभयो ।

विशेषगरी रजस्राव भएका बेला महिलाले अपनाउनुपर्ने स्वास्थ्य सावधानी र सरसफाइबारे ज्ञान प्रदान गर्ने र सचेतना जगाउने उद्देश्य उक्त समूहको हो । ‘हामी गाउँका महिलालाई सेनेटरी न्यापकिन उत्पादन गर्न सिकाउँछौं, साथै वितरण पनि वितरण गर्छौं । यद्यपि हाम्रो लक्ष्य कश्मीरका प्रत्येक गाउँमा महिलाका अत्यावश्यक सेवामा पहुँच विस्तार गर्नु र महिला स्वास्थ्य सम्बन्धमा जागरूकता फैलाउनु हो’, समूहका लक्ष्य र उद्देश्यबारे सुनाउँदै रजिया भन्नुहुन्छ ।

मासिक धर्मका बेला सेनेटरी प्याड प्रयोग गर्दा हुने फाइदाबारे महिलालाई शिक्षित गराउनु आवश्यक रहेको समूहको एक अध्ययनले देखाएको उल्लेख गर्दै रजियाले आफ्नो अनुसन्धानमा सेनिटरी न्यापकिनको उचित प्रयोगबारे धेरै महिला अनभिज्ञ रहेका पाइएको बताउनुभयो । ‘पर सरेका बेला महिला तथा किशोरी कपडा प्रयोग गर्छन् जसले धेरै स्वास्थ्य समस्या निम्त्याउन सक्छ’, उचित सरसफाइको अभावमा हुनसक्ने स्वास्थ्य जोखिमबारे सचेत गराउँदै उहाँ भन्नुहुन्छ ।
महिलालाई उनीहरूको शारीरिक संरचना, विशेष अवस्था र समयमा अपनाउनुपर्ने सावधानी, उनीहरूको स्वास्थ्य अधिकारका सम्बन्धमा चेतना जागृत गरेरमात्र नपुग्ने आधारभूत सुविधा सुनिश्चित हुनुपर्नेमा समूहकी अर्की सदस्य जाहिदा जोड दिनुहुन्छ ।

‘उचित सरसफाइ, महिला स्वास्थ्यसम्बन्धी उत्पादनमा पहुँचको सुनिश्चितता महिलाको मौलिक अधिकार हो । सेनेटरी न्यापकिन वितरण गरेर र तिनीहरूको प्रयोगको बारेमा चेतना जगाएर यो सुनिश्चित हुँदैन । आर्थिकरुपमा पनि महिला सबल हुनुपर्छ, उनीहरूको सशक्तीकरण उत्तिकै आवश्यक छ’, महिलालाई आर्थिकरूपमा सशक्तीकरण एवं लैगिंक समानताको दिशामा अघि बढ्न समूह सहयोगी भएको उल्लेख गर्दै भावुक मुद्रामा जाहिदाले भन्नुभयो ।

प्रारम्भिक चरणमा रहेको समूहले दैनिक एक हजारदेखि एक हजार दुई सयसम्म सेनेटरी न्यापकिन उत्पादन गर्दै आएको छ । निकट भविष्यमा समूहले दैनिक दुई हजार न्यापकिन उत्पादन गर्ने र बजारसम्म पुर्‍याउने लक्ष्य निर्धारण गरेको छ । गाउँका महिलाको जीवनमा सकारात्मक परिवर्तन देखेकी रजिया न्यपाकिनलाई विलासी मान्नु अन्याय हुने बरू त्यो स्वस्थकर भएका दाबी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘महिला स्वास्थ्यको रक्षाका निम्ति त्यो विलासी कदापि होइन ।’

‘महिनावारी हुँदा मलाई लाज लाग्थ्यो तर अहिले यो एक प्राकृतिक प्रक्रिया हो भन्ने बुझेकी छु । आफ्नो स्वास्थ्यको ख्याल गर्ने अधिकार सबैमा छ । मजस्ता केटीहरूको जीवनमा परिवर्तन ल्याउन म चाहन्छु । समूहले रजस्वला, महिला स्वास्थ्यलगायत सबै विषयमा जानकारी दिँदै प्याडमो प्रयोग सिकाएकामा धन्यवाद’, शाहगुन्डकी युवती आइशाले समूहप्रति आभार व्यक्त गर्दै भन्नुभयो ।

घरपरिवार र चुलोचौकामा सीमित ग्रामीण क्षेत्रका नारी स्वयं जागृत हुँदै समाजमा चेतना अभिवृद्धिको अभियानमा लाग्नु परम्परागत समाजमा अझै चुनौतीपूर्ण छ । सामाजिक बन्धन र निषेधलाई तोडेर महिला अघिबढ्नु आफ्नो पुस्ताका निम्ति प्रेरणा भएको आइशा बताउनुहुन्छ । रासस÷एएनआई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?