प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिको बचाउमा गठबन्धन

संसद् फेस गर्ने, राजीनामा नदिने

अनिल क्षेत्री
Read Time = 17 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नै विवादास्पद अभिव्यक्तिले अप्ठ्यारोमा पर्नुभएको छ । नेपालमा पहिलोपल्ट ट्रक भित्र्याउने व्यवसायी प्रितम सिंहबारे किरणदीप सन्धुले लेखेको पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री प्रचण्डको चौतर्फी आलोचना भइरहेको छ । प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरुद्ध गरिरहेको छ । चौतर्फी आलोचनाको सिकार भएपछि प्रधानमन्त्री प्रचण्डले बिहीबार सत्ता गठबन्धनको बैठक बोलाउनुभयो । गठबन्धनले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्ने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको कदम असंसदीय रहेको ठहर गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्रीलाई आफ्नो स्पष्टीकरण दिने मौका नै नदिएर राजीनामा माग्ने एमालेको कदम असंसदीय रहेको ठहर गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने र संसद्को फेस गर्ने निर्णय गरेको जानकारी दिँदै बैठकमा सहभागी सत्ता गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भन्नुभयो, ‘प्रधानमन्त्री बन्न दिल्ली जानुपर्छ भन्ने प्रकारका कुरा भन्यो भनेर संसद्मा हिजो अवरोध गरेको र अवरोध मात्र होइन, प्रमुख प्रतिपक्षी दलले संसदीय दलको बैठकमा प्रधानमन्त्रीको राजीनामा नै माग्ने निर्णय गरेको भन्ने कुरा आयो । उहाँहरूले गरेको यो निर्णय असंसदीय निर्णय हो । संसदीय अभ्यासमा प्रधानमन्त्रीले बोलेको कुरामा कसैलाई आपत्ति छ भने संसद्मा आवाज उठाउन पाउँछ ।’

‘विवादास्पद अभिव्यक्ति’ बारे संसद्मा स्पष्टीकरण दिने
प्रधानमन्त्री प्रचण्डले आफूले दिएको विवादास्पद अभिव्यक्तिबारे प्रतिनिधिसभामा स्पष्टीकरण दिनुहुने भएको छ । बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्रीले संसद्मा आफ्ना कुरा राख्नुपर्ने निष्कर्ष निकालेको हो । नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले प्रधानमन्त्री दाहालले संसद्मा आफ्नो अभिव्यक्तिबारे प्रष्ट पार्ने समझदारी बनेको जानकारी दिँदै भन्नुभयो, ‘प्रधानमन्त्रीले सदनमा आएर आफ्ना विषयवस्तु राख्ने समझदारी बनेको छ । राजीनामा त कल्पना पनि गर्न सकिँदैन । के भनेर राजीनामा दिने ? भन्ने भएकाले प्रधानमन्त्रीले आफ्ना विषयवस्तु सदनमा नै राख्ने भन्ने कुरा भयो ।’

नेपालमा पहिलोपल्ट ट्रक भित्र्याउने व्यवसायी प्रितम सिंहबारे किरणदीप सन्धुले लेखेको पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री प्रचण्डको चर्को आलोचना भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले सत्तारूढ गठबन्धनको बैठकमा उक्त प्रसंग आफूले नभई सिंहलाई उल्लेख गरेको र अहिलेको प्रसंग नभएको प्रष्टीकरण दिनुभएको थियो । गठबन्धनको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्रीद्धय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, जसपा अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष एवं उपाध्यक्ष राजेन्द्र पाण्डे, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्तिका अध्यक्ष तथा मन्त्री रञ्जना श्रेष्ठ, माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, जसपा नेता राजेन्द्र श्रेष्ठ लगायतको उपस्थिति थियो ।

एमालेद्वारा बिहीबार पनि राष्ट्रियसभा बैठक अवरुद्ध
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीबार पनि राष्ट्रियसभाको बैठक अबरुद्ध गरेको छ । एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै बैठक अवरुद्ध गरेको हो । एमालेका सांसदहरूको अवरोधपछि राष्ट्रियसभाको अर्को बैठक शुक्रबार साढे १२ बजेसम्मका लागि स्थगित भएको छ । बैठकको सुरुमै विपक्षी दल एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिले नेपालको स्वाभिमान, राष्ट्रियता र राष्ट्रिय स्वाधीनतामाथि आँच आएको भन्दै राजीनामा दिनुपर्ने माग गर्नुभयो । प्रधानमन्त्री प्रचण्ड कहाँबाट परिचालित छन् ? भनेर प्रश्न गर्दै सांसद श्रेष्ठले भन्नुभयो, ‘प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ । आज फेरि पनि हामी कुनै रहरले सदन बन्द गर्न गइरहेका छैनौँ बाध्य छौँ । स्वाधीन राष्ट्रलाई आँच आउने कुरा हुन्छ भने सह्य हुँदैन । देशको हितअनुकूल हुने गरी बोल्नुपर्नेमा हाम्रो देशको प्रधानमन्त्री कसबाट परिचालित हुनुहुन्छ ?’

गण्डकी प्रदेशसभामा पनि राजीनामा माग
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै गण्डकी प्रदेशसभा अवरुद्ध गरेको छ । बिहीबार प्रदेशसभाको बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसद उठेर विरोध गरेका हुन् । एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएकाले राजीनामा नदिएसम्म प्रदेशसभा चल्न नदिने अडान राख्नुभयो । विपक्षीको विरोधपछि प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।

प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘भ्रष्टाचारविरोधी अभियान रोक्ने मनशाय’
प्रधानमन्त्री प्रचण्डको सचिवालयले असार १८ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेकोप्रति आपत्ति जनाएको छ । प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्यले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डसँग सरदार प्रितम सिंहको सम्बन्ध औपचारिक मात्र नभएर भावनात्मक एवं पारिवारिकसमेत भएको दाबी गरिएको छ । संसद्बाट निर्वाचित प्रधानमन्त्री प्रचण्ड सदैव संघीय संसद्प्रति जवाफदेही रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘संसद्मा प्रष्टीकरणको मौकासमेत नदिई उहाँको भनाइको आशयविपरीत एकपक्षीय ढंगले प्रचारप्रसार गरिनु दुर्भाग्यपूर्ण छ । लोकतन्त्रको रक्षा र सुशासनको प्रत्याभूतिका लागि सरकारले चालेका कामबाट केही हुँदैन भन्ने निराशावादी मनोविज्ञानको ठाउँमा,गरे हुने रहेछ भन्ने आसलाग्दो वातावरण सिर्जना भइरहेको बेला प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनशाय रहेको कुरा स्पष्ट नै छ ।’ प्रचण्डसँग भएका अनौपचारिक भेटघाटका क्रममा सिंहले ‘तपाईंजस्तो योग्य मान्छे फेरि देशको प्रधानमन्त्री हुनुपर्छ’ भन्ने सदासयता व्यक्त गर्ने गरेको र पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यही विषय प्रसंगवश उल्लेख मात्र गरेको सचिवालयले जनाएको छ ।

सरदार प्रितम सिंहको प्रष्टीकरण : ‘म किङ मेकर होइन’
सरदार प्रितम सिंहले आफू राजनीतिक रूपमा कुनै किङ मेकर नभई सामान्य मान्छे भएको प्रष्टीकरण दिनुभएको छ । प्रधानमन्त्री प्रचण्डले केही दिनअघि दिएको अभिव्यक्तिबारे प्रष्ट पार्दै सिंहले प्रचण्डसँग राजनीतिक नभई पारिवारिक सम्बन्ध मात्रै बताउनुभयो । बिहीबार पत्रकार सम्मेलन आयोजना गरी सिंहले आफू राजनीतिक व्यक्ति नभएकाले अरू धेरै कुरा थाहा नभएको स्पष्ट पार्दै भन्नुभयो, ‘प्रधानमन्त्री प्रचण्डसँग मेरो व्यक्तिगत सम्बन्ध मात्रै हो । जुनबेला मैले भेट्दा कुरा गरेको थिए, त्यो बेला हाम्रा गाडीहरू जलाइएका थिए । उहाँकी जेठी छोरी बिरामी भएपछि उपचार गर्न भारत गएकी थिइन् । उहाँ (प्रचण्ड)ले मलाई यस्तो दुःखको समयमा मेरो छोरीलाई सहयोग गर्नुभयो भन्नुभयो । त्यस हिसाबले मेरो पारिवारिक सम्बन्धबाहेक अरू केही छैन । मैले अस्ति पाँच वर्षपछि भेटेँ हुँला ।’

बोल्दा हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले के बोल्दा कस्तो असर हुनसक्छ ? भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती भएको बताउनुभएको छ । सामाजिक सञ्जालमा प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिका बारेमा टिप्पणी गर्दै महामन्त्री शर्माले लेख्नुभएको छ, ‘नेपालको प्रधानमन्त्री नेपालको संसद्ले चयन गर्दछ र गर्ने हो । मित्रराष्ट्रहरूलाई मित्रताकै सीमामा राख्ने कर्तव्य मूलतः प्रधानमन्त्रीकै हो । आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो ।’

संसद् अवरुद्ध गर्नु संसदीय मान्यताविपरीत : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको राजीनामा माग गरेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताविपरीत भएको टिप्पणी गर्नुभएको छ । बहुमतबाट निर्वाचित प्रधानमन्त्रीको राजीनामा माग गर्नु संसदीय मान्यताविपरीत भएको जिकिर गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘प्रधानमन्त्री जो बहुमतद्वारा निर्वाचित छ । त्यस्तो प्रधानमन्त्रीको राजीनामा माग गरेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताविपरीतको कुरा हो । संसद् बैठक अवरोध गर्ने दलहरूले यो कुरालाई स्वीकार गरेर संसद् सञ्चालन गर्न सहयोग गर्ने विश्वास छ ।’

प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : सरकारका प्रवक्ता शर्मा
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने स्पष्ट पार्नुभएको छ । कार्यक्रममा प्रधानमन्त्रीले कुनै अन्यथा नबोलेको र बेकारको विषय भएकाले विपक्षीले संसद्मा उठाउनुपर्ने आवश्यकता नै नभएको उहाँको जिकिर छ । प्रतिपक्षी दलका कारण सरकारले मिटरब्याजीबिरुद्धको विधेयक संसदबाट पास गर्न नपाएको आरोप लगाउँदै प्रवक्ता शर्माले भन्नुभयो, ‘विपक्षीको संसद् अवरोधका कारण मिटरब्याजीका विरुद्धको अध्यादेश निष्क्रिय हुन पुगेको छ । प्रधानमन्त्रीले राजीनामा दिने कि नदिने भन्ने विषय, त्यो विषय बेकार हो । उठाउनुपर्ने विषय होइन । यो विषयले प्रधानमन्त्रीको राजीनामा सोच्न सकिने विषय होइन । राजीनामा दिनुहुन्न ।’

एमालेलाई काउण्टर जवाफ : मध्यरातमा ‘रअ’ प्रमुख भेटेको जनताले बिर्सेका छैनन्
नेकपा माओवादी केन्द्रले प्रचण्डले असार १८ गते पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर एमालेले देखाएको व्यवहार कुत्सित चाहना पूरा गर्ने अभिष्टताबाहेक केही नभएको प्रष्ट पारेको छ । माओवादी केन्द्रका उपाध्यक्ष एवं पार्टी प्रवक्ता कृष्णबहादुर महराले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई प्रमुख प्रतिपक्ष दलबाट गरिएको भ्रामक, आपत्तिजनक, दुराशययुक्त प्रचारबाजी र लोकतन्त्रको अभ्यास गर्ने थलो संसद्समेत अवरोध गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । माओवादी केन्द्रले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै मध्यरातमा ‘रअ’ प्रमुखसँग बालुवाटारमा भेटेर पटक-पटक संसद् विघटन गर्ने, जनताका मुद्दाहरूमा कानुन बनाउन खोज्दा संसद् अवरोध गरेको कुरा जनताले नर्बिसिएको पनि जनाएको छ । प्रवक्ता महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचारीहरूको छानविन र फाइल खोल्दा गैरजिम्मेवार बन्ने जस्ता पात्र र प्रवृत्तिले गर्दा प्राप्त राजनीतिक उपलब्धिहरूमाथि प्रहार भइरहेको तथ्य नेपाली जनताले बुझेका छन् ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?