जिन्दगीका कतिपय पानाहरू केही अनौठा छन् । जीवनले रचना गरेका गतिका पानाहरूमा कहिले कस्ता र कहिले कस्ता अक्षरहरू लेखिएका छन् । त्यो समय पनि थियो जतिखेर चकमन्न रातहरूमा संसार निद्रामा सुतिरहेको बेला जिल्ला प्रहरी कार्यालय दाङको एउटा कोठामा उज्यालो हुन्थ्यो । त्यो उज्यालो कोठाको एउटा कुर्सीमा गर्विलो अनि आक्रामक अनुहारमा प्रहरी हाकिम बसिरहेको हुन्थ्यो । खाउँला जस्तो अनुहारमा त्यो मरन्च्यासे कैदीबन्दीलाई हेरेर हपार्दै हुन्थ्यो । कैदीबन्दीको दुईतर्फ दुईजना प्रहरी जवानहरू हातमा हरिया बाँसका लाठी लिएर हाकिमको आदेशको प्रतीक्षा गरिरहेका हुन्थे ।
प्रहरी हाकिम त्यो निरीह बन्दीतिर फर्केर भन्थ्यो राजा र राजमुकुटको रक्षा गर्ने अनि पञ्चयती व्यवस्थाप्रति बफदार रहने नागरिक उत्पादन गर्ने उद्देश्यले स्थापना भएको संस्कृत विश्वविद्यालयका नब्बे प्रतिशत विद्यार्थी व्यवस्थाविरोधी भएर निस्कने ? तिमी नाथेहरूले व्यवस्थाको विरोध गर्ने ? ठोक यसलाई । त्यसपछि ती जवानहरू पालैपालो हरिया बाँसका लौराले पिठ्यूँमा, तिघ्रामा र पैतालामा बर्साउँथे । त्यतिखेरसम्म ठोकिरहन्थे जतिखेरसम्म त्यो बबुरो बेहोस् हुँदैनथ्यो । यो क्रम धेरै दिनसम्म चलिरहृयो ।
हरेक राति डिएसपीको मोटर गेटबाट भित्र छिरेपछि हिरासतमा रहेका हामी आन्दोलनकारीका ओठ तालु सुक्थे । आज कसको पालो पर्ने हो । हिरासतमा रहेका हामीमध्ये कसैलाई पनि बोलाइन सक्थ्यो र मरणासन्न हुनेगरी कुटेर घिसार्दै कोठा अगाडि ल्याएर छोडिन्थ्यो । त्यसपछि मेजर हवल्दारले हिरासतको ढोका खोल्थ्यो, भित्र घचेडिदिन्थ्यो र ढोकामा ताला लगाउँथ्यो । त्यसपछि भित्र भएका साथीहरू त्यस दिनका पीडितलाई सहानूभूतिपूर्वक हेर्थे र पीडामा सम्वेदित हुन्थे । यसरी केही दिन लगातार कुटाइ खाएपछि केही साथीहरूलाई छोडियो । केही साथीहरूलाई राजकाज मुद्दामा जेल चलान गरियो ।
नागरिक स्वतन्त्रताको परीक्षाभन्दा ठूलो अर्को परीक्षा नै हुँदैन । जुन परीक्षा मैले विशिष्ट श्रेणीमै उत्तीर्ण गरेको लागेको थियो । प्राण उत्सर्ग गर्न अगाडि बढेका ती पाइलाहरूमा कत्ति पनि भय वा सन्देह थिएन ।
त्यतिखेरै पनि मलाई श्रेणीको बडो हेक्का थियो । कतै अन्य श्रेणीमा परिन्छ कि भनेर तर संयोग गिरफ्तार भएका धेरै साथीहरूले मेरो नाम लिएपछि प्रशासनको दृष्टिमा म पहिलो नम्बरमै परेँ र प्रथम श्रेणीमा उत्तीर्ण भएँ । ती समयमा पनि मेरो हातमा परीक्षाका प्रमाणपत्रहरू थिए तर ती प्रथम श्रेणीका थिएनन् । म उता नागरिक स्वतन्त्रताको प्राप्तिको लडाइँमा आफ्नो योग्यता प्रदर्शन गर्दैथिएँ र मलाई लागेको थियो मेरो प्रथम श्रेणी यही हो । र, मैले विभिन्न श्रेणीका प्रमाणपत्र लिएर हिँड्दा कुनै सङ्कोच मानिन म प्रथम श्रेणीमै छु भनेर गर्व गरिरहेँ ।
बरू मलाई अझै गर्व के थियो भने नागरिक स्वतन्त्रताको परीक्षाभन्दा ठूलो अर्को परीक्षा नै हुँदैन । जुन परीक्षा मैले विशिष्ट श्रेणीमै उत्तीर्ण गरेको लागेको थियो । प्राण उत्सर्ग गर्न अगाडि बढेका ती पाइलाहरूमा कत्ति पनि भय वा सन्देह थिएन । बाँच्ने र मर्ने भनाइबीचकै भिन्नताका बारेमा त्यति हेक्का राखिएको थिएन । संयोगले बाँचियो राम्रै भए छ । त्यसपछिको संसार हेर्न पाइयो ।
प्रिय सञ्चेतना तर त्यसपछि पनि प्रथम श्रेणीका प्रमाणपत्र हात लागेनन् । मैले ठानेँ राजनीतिक स्वतन्त्रता र नागरिक मुक्तिको त्यो अग्निपरीक्षामा मेरो प्रथम श्रेणी त्यति ठूलो कुरा हुँदै होइन । समयको कुनै कालखण्डमा आएर ती विशिष्ट श्रेणीका प्रमाणपत्र अनभ्यालिड हुँदै गए । हामीले दिएका परीक्षाहरू सही थिए र हामीले पाएका प्रमाणपत्रहरू पनि सक्कली नै थिए तर किन हो किन ती अमान्य हुँदै गए । परीक्षै नदिएकाहरूले विशिष्ट श्रेणीका प्रमाणपत्रहरू हातहातमा लिएर हिँडे । तिनैका प्रमाणपत्रहरू महँगो मूल्यमा बिक्री हुन थाले र हामी तिनै अन्य श्रेणीका प्रमाणपत्र उपयोग गरेर जीविकोपार्जन गर्न बाध्य भयौं ।
म भर्खर बाइस वर्षको थिएँ । एक किसिमले यो उमेर हाम्रो देशबारे सोच्ने उमेरै थिएन । बरू कलिलो यौवन र किशोर वयमा कर्तव्य र उपदेशका कुरा सुन्दा सुनाउँदा आश्चर्य मानेर हाँस्ने समय थियो त्यो । म सम्झन्छु म त्यही समयमा देशको निम्ति होमिएको हुँ । म मात्रै पनि होइन त्यही समयमा अरू धेरै मजस्ता युवाहरू आफ्नो आहुति दिन अग्रसर भएको समयका म कुरा गर्दैछु । म जेलबाट थिल्थिलिएको जीउ बोकेर घर फर्केको थिएँ । हाम्रो केटाकेटी मस्तिष्कले मेरो त्यो अवस्थालाई निकै गम्भीर मानेको थिएन तर म बुझ्थेँ परिवारको निम्ति यो गम्भीर विषय थियो ।
आयोडेक्सका सिसा पिठ्यूँमा रगड्दा करिब एक महिना लागेथ्यो घाउ निको हुन तर त्यसले ढाड र छातीमा छोडेर गएको चोटको रूप अहिलेसम्म बेहोरिरहेको छु । त्यसै समयदेखि मेरुडण्ड दुख्ने र मुटु हल्लिने समस्याले उच्च रक्तचापले समातेको पीडा मेरो जीवनपर्यन्तका मित्र बनेर रहे । खिल गाडिए झैँ गाडिएर बसेको असामयिक रोगको निदान र उपचार असम्भवजस्तै बनेर जीवनमा घुस्यो । आज मसँग हिजोको निशानी शारीरिक अस्वस्थता मेरो सम्पत्ति बनेर रहेको छ ।
प्रजातन्त्र पुनर्वहालीको सङ्घर्षमा समर्पित गरेको मेरो जीउले आर्जेको भनेको त्यही धन हो । अन्यथा न मैले अरू केही मागेँ न उसले ज्ञान जानेर दियो । मेरोजस्तो अवस्थाका तत्कालीन नेतृत्व वर्ग र मौका चिन्ने सामथ्र्य भएकाहरूले अनेक शीर्षकमा आर्थिक लाभ, राजनीतिक उचाइ पनि लिए तर मलाई मेरो आदर्शले सधैं नैतिक बन्ने र कर्म गर्दै जाने सल्लाह दियो अतीत फर्केर हेर्दा देखिने यो कहालीलाग्दो यथार्थमा म आज गौरवले बाँचिरहेको छु । ढाँट्न नजान्ने, विश्वास गरेर लागेपछि मरिमेट्ने, अतिरिक्त लाभ लिन नसक्ने, नजान्ने र ज्यान दिन तम्सिने मेरो स्वभाव आजसम्म पनि मेरो मित्र हो ।
२०१५ सालमा गोर्खा परिषद्लाई समर्थन गरेका मेरा पिताजी पनि यतिखेर कुन्नि के कुराले हो प्रजातन्त्र आओस् भन्नेसम्म चाहनुहुन्थ्यो । तर, आफ्नै छोरो आन्दोलनमा सक्रिय भई लागेको उहाँलाई थाहै थिएन । जब बहुदलको प्राप्ति भयो आफ्नै छोराको शरीरभरि पञ्चायतले पारेका नीला, काला डामहरू देखेर हो वा के कुराले हो अचम्म भयो घरका सबै सदस्यहरूले पञ्चायती व्यवस्थालाई सत्तोसराप गर्न थाल्नुभयो । घटना पनि आफ्नैमा घटेपछि बढी महत्वको हुने रहेछ । ती दिन सम्झिन्छु र आन्दोलनको धङधङी व्यहोरिरहेको मेरो जीउ र आजका मेरा आफ्नै आदर्श सम्झिँदा घरिघरि भित्र कता रिस उठेर आउँछ ।
पढ्ने जागिर खाने जस्ता आाफ्ना क्षमताले आर्जेका यी सस्याना सन्तुष्टि पनि आफ्नै पौरख सिवाय के हुन् र ? तर आज पनि मनभित्र देशको घाउ दुखेको छट्पटी व्यहोरिरहेको छु । जब प्रजातन्त्रको पुनर्बहाली भयो सबै भूमिगत संगठनहरू सार्वजनिक भए आआफ्ना राजनीतिक संगठनलाई सबल तुल्याउने क्रम चल्यो । म त त्यतिखेरका हाम्रा आदर्श पुरुषहरू खुमबहादुर खड्का, बलदेव मजगैयाँ, तीर्थराज चैतुहरूबाट दीक्षित कलिलो उमेरको तेजिलो युवक थिएँ । दाङ जिल्लाभरि संगठन विस्तार गर्नुथियो । विरोधमा धेरै कुरा जानिएका भए पनि प्रजातन्त्रपछिको खुला वातावरणमा भाषण गर्न, कसैलाई वैचारिक तर्क दिएर आफ्नो बनाउन, मीठो शैलीले बोल्न, उद्घोषण गर्न कमैलाई मात्र आउँथ्यो ।
त्यसमध्ये वासु जङ्गली, लक्ष्मण रेग्मी, राजु खनाल, कुमार लामिछाने, वासु पन्त, भोला अधिकारी, किरण रेग्मी, म नेतृत्वपंक्तिमा पथ्र्यौं । नेता भएर पनि जङ्गलीजीहरूलाई भन्दा केही राम्रो मिलाएर बोल्न मलाई आउने हुँदा साथीहरूले मलाई हौस्याएर अगाडि उभ्याउँथे ।
जीवनका कटु यथार्थहरू पनि मीठा स्मृति बनेर आएको भावनात्मक अभिव्यक्ति नै अनौठो छ । म दीर्घ रोगी भएँ, रोगै नभएकाहरू त्यसपछि सरकारी उपचारखर्चमा अमेरिका, क्यानाडा घुमेर आए । तर, आन्दोलनका घाइतेहरूको सूचीमा मेरो नाम अग्रपंक्तिमा थियो तिनीहरूको नाम थिएन ।
जानीनजानी बोल्दाबोल्दै पछि निकै अभ्यास भएछ । साथै ममा केही वाचाल क्षमता पनि सम्भवतः त्यसैको उपज हो । यो अतीतका स्मृतिले तानेर अलि टाढै पुर्याएछ । हिजोको पीडाको वर्णन गर्नु पनि मेरो आजको उद्देश्य होइन । चोट लागेका कुरा पनि कति मीठो गरी भनिएका छन् । हिजो दुःख थियो तर आज सम्झनामात्र छ त्यो पनि रमाइलो अनुभूति बनेर उपस्थित भएको छ । केही तीता अनुभूति जो बिझाइरहने पनि हुँदारहेछन् र ती बल्झिँदा रहेछन् । तीबाहेक कति मीठो छ है स्मृति ?
जीवनका कटु यथार्थहरू पनि मीठा स्मृति बनेर आएको भावनात्मक अभिव्यक्ति नै अनौठो छ । म दीर्घ रोगी भएँ, रोगै नभएकाहरू त्यसपछि सरकारी उपचारखर्चमा अमेरिका, क्यानाडा घुमेर आए, इतिहास भजाएर धित मरुन्जेल खाए । तर, आन्दोलनका घाइतेहरूको सूचीमा मेरो नाम अग्रपंक्तिमा थियो तिनीहरूको नाम थिएन । इतिहास हेरे अहिले पनि पत्ता लाग्ला । तर, मैले आफ्नो उपचार पनि गरिन यो सत्यलाई कसैका सामु सार्वजनिक नगरेरै मैले यतिका वर्ष बिताएँ ।
यस्तै कुराहरूको पुञ्ज बनेर विचार गाँठो पर्छ अनि यदाकदा प्रतिवाद गर्न मन हुन्छ । तर, म हिजोआज निकै शान्त भइसकेको छु । औषधिले बाँचेको जिउ लिएर अहिले कसैको हित गर्न सकेको छैन र कसैको अहित गर्न पनि हिँडेको छैन । सम्पूर्ण ऊर्जा देशका निम्ति लगाएको हिजोको मेरो इतिहास आज आफैंसँग मात्रै साथमा बोकेर हिँडिरहेको छु ।
स्वास्थ्यले सम्वेदनशील जस्तो भए पनि म साठीको वरपरको प्रौढले देशको निम्ति दिने जति दिइयो भन्ने समय आएको त होइन । हो, कतिपयका तुलनामा मेरो देन महत्त्वको भए पनि जिउज्यान देश र जनताको निम्ति समर्पण गर्न अग्रसर सयौं निःस्वार्थी योद्धाहरूले शिक्षादीक्षा दिएको व्यक्तिमा पनि स्वार्थी विचार अङ्कुराए भने देशको के गति होला ? गोली थापेर ज्यान उत्सर्ग गर्ने शहीदका सन्तानले खोटो कुरा गर्न सुहाउँदैन । देश र जनतामाथि विश्वासघात गर्नेहरूलाई समयले दण्ड दिने छ ।
यति कुरा गरे पनि म कर्तव्य विमुख, स्वार्थीमात्रै कहाँ हुँ र ? यो देशमा मेरो त्यागको लगानी छ । भूमिप्रतिको कर्तव्य माटो सुँघेर बोध गर्छु । तर, वरिपरि सर्वत्र स्वार्थको खेल चलिरहेको छ र राष्ट्रवादको नक्कली खोल ओढेर ब्वाँसाहरूले आडम्बर ओकलेको सुन्दा मन भरिएर आएको मात्र हो । कतै हाम्रा आदर्श खोटा रहेछन् कि ? भनेर शङ्का गर्न मन भएको हो । आदर्शको पनि नक्कली खेल लीला चलिरहेको देखेर आफैँमाथि पुनर्विचारको अठोट जागेर आएको हो । प्रिय सञ्चेतना भावुकतामा आएका यी अभिव्यक्तिलाई अन्यथा नठान । यति धेरै बुद्धु पनि हुनुहुन्छ ? भनौली । प्रिय सञ्चेतना ! तर किन हो कुन्नि म त यस्तै छु !!
मेरोजस्तो अवस्थाका तत्कालीन नेतृत्व वर्ग र मौका चिन्ने सामथ्र्य भएकाहरूले अनेक शीर्षकमा आर्थिक लाभ, राजनीतिक उचाइ पनि लिए तर मलाई मेरो आदर्शले सधैं नैतिक बन्ने र कर्म गर्दै जाने सल्लाह दियो अतीत फर्केर हेर्दा देखिने यो कहालीलाग्दो यथार्थमा म आज गौरवले बाँचिरहेको छु । ढाँट्न नजान्ने, विश्वास गरेर लागेपछि मरिमेट्ने, अतिरिक्त लाभ लिन नसक्ने, नजान्ने र ज्यान दिन तम्सिने मेरो स्वभाव आजसम्म पनि मेरो मित्र हो ।