एमाले विश्व रेकर्ड कायम गर्न खोज्दैछ : लेखनाथ दाहाल

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले संसद अवरोधको विश्व रेकर्ड कायम गर्न लागेको बताउनुभएको छ ।

आईतवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले संसद अवरोधमा विश्व रेकर्ड कायम गर्न लागेको बताउनुभएको हो । उहाँले एमाले नेपालको सन्दर्भमा सबैभन्दा धेरै संसद अवरोध गर्ने पार्टीको रुपमा स्थापित भइसकेको भन्दै स–साना कुरामा पनि संसद अवरोध गरेर विश्व रेकर्ड कायम गर्न लागेको बताउनु भयो । उहाँले संसद अवरोध गर्ने संस्कारको अन्त्य गर्दै नीति निर्माण र वहसको थलोको रुपमा स्थापिन गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले अवरुद्ध संसद खुलाउने नाममा सरकारले भ्रष्टाचार बिरोधी अभियान रोक्ने कुराको सम्झौता नगर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘भ्रष्टाचार बिरोधी अभियान निरन्तर जारी छ । भर्खरै पनि पूर्वमन्त्रीहरुलाई पक्राउ पूर्जि जारी भएको छ । स्वभावैले कमजोरीका प्रकृतिका आधारमा, अपराधको प्रकृतिका आधारमा अपराधिहरुलाई दण्डित गर्ने कुरा, अनुसन्धानको दायरामा ल्याउने कुरामा सरकारले कुनैपनि हालतमा सम्झौता गर्दैन । यो सम्झौता गर्ने विषय नै होइन । मुलुक र जनतालाई केन्द्रमा राखेर, सुशासन प्रदान गर्ने, समृद्धि र सामाजिक न्याय प्रदान गर्ने मुलभुत सरकारको उद्देश्य छ । सरकारको उद्देश्यसँग त कहीँ सम्झौता गरिँदैन । विधायकि थलोलाई वहसको थलो बनाउनुपर्ने अवरोधको थलो बनाउने संस्कार बसेको छ । मलाई लाग्छ नेकपा(एमाले)ले त नेपालको सन्दर्भमा त सबभन्दा धेरै सदन अवरुद्ध गर्ने पार्टी भनेर स्थापित छँदैछ । मलाई लाग्छ विश्व रेकर्ड नै कायम गर्लाजस्तो साना साना विषयमा पनि सदन अवरुद्ध गर्ने जुन संस्कारजस्तो बनेको छ । यसलाई अन्त्य गर्नुपर्छ । यो वहसको थलो हो । नीति निर्माणको थलो हो । अवरोधको थलो होइन भनेर हामीले स्थापित गर्नुपर्नेछ ।’

त्यसैगरी सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्माले अवरुद्ध संसद खुलाउने मुख्य जिम्मेवारी सभामुखको भएको बताउनु भयो । उहाँले प्रधानमन्त्रीको अभिव्यक्ति संसद अवरोध गर्ने स्तरको नभएको पनि बताउनु भयो । उहाँले प्रतिपक्षले आफूले राखेको मागको सम्बन्धमा पुनः सोच्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सत्तापक्षले पहल नगरेको होइन । यो पहल गर्ने कुरा सरकार अथवा प्रधानमन्त्रीको होइन नि त । यो सदन चलाउनको निम्ति पहल गर्ने कुरा सभामुखको हो । त्यसकारण सभामुखले पहल गर्ने कुरामा कति लाग्नुभयो ? कति गर्नुभयो ? कति गर्नुभएन भन्ने कुरा उहाँसँग सम्बन्धित कुरा हो । त्यसकारण दिनदिनै रोकिइराखेको छ, अगाडी बढ्न सकिराखेको छैन । यो प्रश्न प्रतिपक्षलाई सोध्नुपर्ने प्रश्न हो । उहाँहरुले किन यस्तो गरिराख्नुभएको छ ? राजीनामा नै माग्नुपर्छ भन्ने स्तरमा पुग्नुपर्छ भन्ने होइन । त्यसकारण प्रतिपक्षले यस विषयमा सोच्नुपर्छ । सोच्छ होला । पहलको कुरा जो गर्नुभयो, पहल गर्ने भनेको सभामुखले हो ।’

सांसद शर्माले अवरुद्ध संसद खुलाउन सभामुखले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?