यू-१६ विजेता खेलाडीहरूलाई एसपिएको सम्मान

हिमालय टाइम्स
Read Time = 5 mins

धनगढी । अघिल्लो हप्ता मलेसियामा सम्पन्न एसिसी यू-१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोलीका तीनजना खेलाडीहरूलाई धनगढीको एसपिए कलेजले सम्मान गरेको छ । नेपाली टोलीमा रहेका सुदूरपश्चिमेली तीनजना खेलाडीहरू विकेटकिपर ब्याट्सम्यान आशिष लुहार, ओपनर ब्याटर नरेन भट्ट र अशोक धामीलाई कलेजले आइतबार एक कार्यक्रमका बीच सम्मान गरेको हो ।

घरेलु टोली मलेसियामाथि २ सय २१ रनको सानदार जित निकाल्दै नेपालले लगातार तेस्रोपटक यू-१६ इस्ट जोनको उपाधि जितेको थियो । कञ्चनपुरका आशिष एसपिए क्रिकेट टोलीको समेत कप्तानसमेत हुनुहुन्छ । उहाँ एसपिए कलेजमा कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ ।
यस्तै, फाइनल प्रतियोगितामा शतक प्रहार गर्नुभएका ओपनर ब्याटर नरेन भट्ट बैतडी जिल्लाबाट प्रतिनिधित्व गर्नुहुन्छ । अशोक धामी बझाङका हुनुहुन्छ । तीनैजनालाई एसपिएले स्नातकोत्तरसम्म निःशुल्क अध्ययन गराउने घोषणा गरेको छ । यस्तै, एसपिएले धनगढी क्रिकेट एकेडेमीमा तीनैजनालाई निःशुल्क प्रशिक्षणको समेत व्यवस्था मिलाएको छ ।

क्याम्पस प्रमुख योगराज उपाध्यायले देशकै नाम उचो पारेका खेलाडीहरूलाई सम्मान गर्न पाउँदा एकदमै गौरव महसुस भइरहेको बताउनुभयो । उहाँले एसपिए कलेजमा ८ जना क्रिकेटका मात्रै अन्तर्राष्ट्रिय खेलाडीहरू अध्ययन गरिरहेको बताउँदै खेलाडी र एसपिए पर्यायवाची शब्द जस्तै भएको बताउनुभयो । आगामी दिनमा पनि कलेजले खेलाडीहरूको हौसला अभिवृद्धि गर्न एसपिएले यस्ताखाले कार्यक्रम गरिरहने क्याम्पस प्रमुख उपाध्यायले बताउनुभयो ।

खेलाडीका तर्फबाट मन्तव्य राख्दै आशिषले सम्मानका लागि एसपिए कलेजलाई धन्यवाद दिनुभयो । उहाँले गृहनगरमा सम्मानित हुन पाउँदा निकै खुसी लागेको बताउनुभयो । साथै उहाँले अध्ययन र प्रशिक्षणमा समेत कलेजले पूर्ण सहयोग गर्ने भएपछि धन्यवाद व्यक्त गर्नुभयो ।

सुदूरपश्चिमको शैक्षिक धरोहर एसपिए कलेज र खेलकुदको सम्बन्ध पर्यायवाचीजस्तै छ । देशकै खेलकुदमा भएका व्यावसायिक र नौलो प्रयोगहरूमा एसपिए कलेज र यसका प्रबन्ध निर्देशक सुवास शाही जोडिएका छन् ।

चाहे त्यो एसपिए कपबाट फ्रेन्चाइज अवधारणाको जरो गाडेको होस् या धनगढी प्रिमियर लिगले सुरु गरेको अक्सन तथा फ्रेन्चाइज क्रिकेट । फुटबलमा नेपालकै पहिलो फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिगसँग पनि एसपिए जोडिएर आएको छ । एसपिए एउटा त्यस्तो कलेज हो, जहाँ आठजना अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीमात्रै अध्ययनरत छन् । आफ्नै क्रिकेट, फुटबल, भलिबल, बास्केटबललगायत विभिन्न खेलको टोली छ । उनीहरूलाई नियमित प्रशिक्षण, अभ्यास र खेलको व्यवस्था गरिएको छ ।

एसपिएमा सबै खेलाडीहरू छात्रवृत्तिमा अध्ययनरत छन् । ८ जना क्रिकेटको अन्तर्राष्ट्रिय खेलाडीमात्रै छन् । अहिले नेपाली राष्ट्रिय सिनियर टोलीका लोकेश बम, यू-१९ टोलीका नारायण जोशी, वसन्त कार्की, सिनियर महिला राष्ट्रिय टोलीका कविता कुँवर, ईश्वरी विष्ट, यू-१९ महिलातर्फ राष्ट्रिय टोलीका लक्ष्मी साउद, यशोदा विष्ट, सुमन विष्ट, मनिषा चौधरी र मनिषा उपाध्यायजस्ता होनहार खेलाडीहरू एसपिएमा अध्ययनरत हुनुहुन्छ । त्यस्तै, फुटबल, तेक्वान्दो, भलिबल, बास्केटबलका पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू एसपिएमा अध्ययनरत छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?