काठमाडौं । काठमाडौं महानगरपालिकाले धोबीखोला करिडोरमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना भत्काएको छ । बुधबार प्राविधिक र डोजर सहितको महानगरको टोलीले धोबीखोला करिडोरमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचनाहरू भत्काएको हो । करिडोर सडकनजिकै रहेका घर र टहरा हटाइएको छ ।
महानगर प्रहरी प्रमुख राजु पाण्डेले प्राविधिकको रायको आधारमा सार्वजनिक स्थान मिचेर बनाइएको संरचना हटाइएको बताउनुभयो । उहाँले धोबीखोला करिडोरलगायत अन्य स्थानमा रहेका अनधिकृत संरचनालाई महानगरले क्रमशः हटाउँदै जाने जानकारी दिनुभयो । अनधिकृत संरचना हटाउन पटक-पटक सूचना जारी गरे पनि अटेर गरेकाले महानगरले नै हटाउनुपरेको उहाँको भनाइ छ ।
महानगरको टोली पुगेपछि केहीले सामानहरू बाहिर निकालेका थिए भने केहीले बिनासूचना आफ्नो बासस्थान भत्काएको गुनासो गरेका छन् । धोबीखोला करिडोरका घरधनीहरूले घर जग्गाको लालपुर्जा हुँदासमेत महानगरले भत्काएको गुनासो गरेका छन् । महानगरले शक्तिको आडमा लालपुर्जा भएको घरसमेत भत्काएर घरमा बस्नेहरूलाई विचल्ली बनाएको उनीहरूको गुनासो छ । धोबीखोला करिडोरले करिडोर क्षेत्रभन्दा बाहिर घर रहेको बताए पनि महानगरले मनलाग्दी आएर घर भत्काइदिएको घरधनी प्रेमप्रसाद आचार्यले बताउनुभयो ।
इञ्जिनियरले समेत नापी गर्दा करिडोरको जग्गाभित्र घर नपर्ने देखाए पनि महानगरले ज्यादती गरेर घर भत्काएको उहाँको भनाइ छ । उहाँले सरकारी जग्गा नभएको जानकारी दिँदासमेत निजी घर भत्काएर महानगरले आतंक फैल्याएको आरोप लगाउनुभयो । अर्का एक घरधनीले केन्द्र सरकार र महानगरको दुईवटा नीतिले जनताले दुःख पाएको बताउनुभयो । उहाँले इञ्जिनियरहरूले पनि फरकफरक चिह्न दिएको भन्दै महानगरले जानकारीबिनै घर भत्काउनु उचित नभएको बताउनुभयो । महानगर पालिकाको ज्यादतीविरुद्ध अदालत जाने उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच