आर्मी र एपिएफको लगातार दोस्रो जित

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग २०८० मा लगातार दोस्रो जित निकाल्दै अंक तालिकामा समान ६/६ अंकका साथ शीर्षस्थानमा रहन सफल भएका छन् ।
आर्मीले दोस्रो दिन दोस्रो जित निकाल्ने क्रममा दावाँली मिलन क्लबलाई २-१९, २५-११, २५-२० अंकले पराजित गर्दै थप ३ अंक जोड्न सफल भएको छ । पहिलो दिनको खेलमा आर्मीले शैलुङ बाघढुंगालाई पराजित गरेर ३ अंक जोडेको थियो ।

यस्तै, एपिएफले पनि आइतबार भएको आफ्नो दोस्रो खेलमा गण्डकी प्रदेश भलिबल क्लबलाई ३-१ ले पराजित गर्दै थप ३ अंक जोडेको हो । पहिलो सेट २१-२५ ले गुमाएको एपिएफ खेलमा फर्कंदै लगातार बाँकी तीन सेट २५-२१, २५-२३, २५-१७ ले जित्दै खेललाई आफ्नो पक्षमा पार्न सफल भएको हो । शनिबारको पहिलो खेलमा एपिएफले दावाँली मिलन क्लबलाई पराजित गरेको थियो ।

प्रतियोगिताको दावेदार टिम टिपटप हेल्प नेपालले पनि आइतबार आफ्नो पहिलो खेलमा शैलुङ बाघढुंगा स्पोटर््स कलब, रामेछापलाई ३-० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोड्न सफल भयो । ३ पाकिस्तानी खेलाडीसहित कोर्टमा उत्रेको हेल्प नेपालले शैलुङलाई २५-१२, २५-१५, २५-१९ ले पराजित गरेको हो ।

नेपाल भलिबल संघको आयोजनामा भएको लिगको महिलातर्फको खेलमा एपिएफले आर्मीलाई ३-२ सेटले पराजित गर्दै अंक बाँड्न बाध्य भयो । संघर्षपूर्ण खेलमा पहिलो र दोस्रो सेट ३०-२८, २५-२३ ले जितेको एपिएफले तेस्रो र चौथो सेट गुमाउन पुग्यो । आर्मीले तेस्रो सेट २०-२५ र चौथो सेट १९-२५ ले जित्यो । निर्णायक तथा पाँचौँ सेट आर्मीले खेलको लयलाई गुमाउन पुग्दा एपिएफले १५-६ ले जित हात पार्दै जितलाई आत्मसात गरे तापनि आर्मीसँग अंक बाँड्न पुग्यो । जितबाट एपिएफको २ अंक र हारका बाबजुद पनि आर्मीको १ अंक भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको महिलातर्फकै अर्को खेलमा होङवाङजी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले गण्डकी प्रदेश भलिबल क्लबलाई ३-० सेटले पराजित गर्दै आफ्नो खातामा ३ अंक जोड्यो । डायमण्डले गण्डकीलाई २५-१७, २५-१६, २५-१५ ले पराजित गरेको हो ।

प्रतियोगितामा क्लब च्याम्पियनसिपबाट छनोट भएका पुरुषतर्फ ७ टोली र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । पुरुषमा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब, शैलुङ बाघढुंगा स्पोर्ट्स क्लब र दावाँली मिलन क्लब रहेका छन् ।

महिलातर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब, गण्डकी प्रदेश र एभरेष्ट भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा दुवैतर्फका विजेता टोलीले ६ लाख, दोस्रो हुनेले ३ लाख, तेस्रो हुनेले १ लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीले समान ३५ हजार तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाइकर, लिबेरो र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?