लम्पी स्किन रोगबाट कर्णालीमा सात हजार बढी पशु मरे

कालीकोटमा देखापरेको लम्पी स्किन रोग जाँच गर्दै पशु स्वास्थ्य प्राविधिक ।

हिमालय टाइम्स
Read Time = 6 mins

-नन्दराम जैशी

सुर्खेत । कर्णालीमा लम्पी स्किन रोगको संक्रमणबाट सात हजार ६३२ पशुचौपाया मरेका छन् । कर्णालीका १० जिल्लामा दुई लाख सात हजार २७३ वटा पशुचौपायमा लम्पी स्किन रोगको संक्रमण हँदा सात हजार ६३२ पशुचौपाया मरेका हुन् ।

कर्णालीमा लम्पी स्किन रोगबाट सबैभन्दा बढी संक्रमण हुने र मर्नेमा पनि गोरु नै छन् । गोरुमा लम्पी स्किनको प्रकोप बढी देखिएका कारण कर्णालीका किसानलाई बर्खे खेती लगाउन समेत समस्या भएको छ । कर्णालीमा लम्पी स्किन रोगका कारण चार हजार २६४ वटा गोरु मरेका छन् । यस्तै, एक हजार ८७१ गाई, एक हजार २४७ बाच्छाबाच्छी, २४९ भैँसी र दुई वटा चौरी मरेको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।

हालसम्मका जम्मा संक्रमण भएका पशुचौपायामध्य एक लाख १६ हजार गोरु, २८२ चौरी र दुई हजार ३९१ भैंसीरहेका छन् । यस्तै ४५ हजार १३० गाई र ४२ हजार ५०६ वटा बाच्छाबाच्छी संक्रमित भएका छन् ।

यी हुन् बढी प्रभावित जिल्ला
कर्णालीमा लम्पी स्किन रोगबाट सबैभन्दा बढी दैलेख, जाजरकोट, हुम्ला र सल्यान जिल्ला प्रभावित भएका छन् । दैलेखमा ७४ हजार ३१५ वटा पशुमा रोगको संक्रमण देखिएको छ । जसमा ४७४ वटा पशुको मरेका छन् ।

सबैभन्दा बढी जाजरकोटमा दुई हजार ४३० वटा पशुचौपाया मरेका छन् । यस्तै हुम्लामा एक हजार ४६६, सल्यानमा एक हजार १३, सुर्खेतमा एक हजार २८ पशुचौपाया मरेका छन् । संक्रमण दैलेखपछि क्रमशः सल्यान, सुर्खेत, रुकुमपश्चिम, हुम्ला र जाजरकोटमा बढी देखिएको छ ।

कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा दुई वटा चौँरी मरेका छन् । भने डोल्पामै ३१ वटा र जुम्लामा एक सय ६० वटा चौँरीमा लम्पी स्किनको संक्रमण देखिएको छ । कर्णालीमा संक्रमित पशुचौपायाका आधारमा मर्नेदर तीन दशमलव ६८ प्रतिशत देखिएको छ ।

भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कर्णालीमा सबैभन्दा पहिला सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र चिंगाड गाउँपालिकाका विभिन्न क्षेत्रका गाई, गोरुमा समस्या देखिएको जनाएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट ती क्षेत्रका शंकास्पद पशु चौपायाको सिरम र छालाको भागका नमुना संकलन थालिएको थियो । २०७९ चैत २५ गते उक्त नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौं पठाएर परीक्षण गर्दा सबै नमुनामा लम्पी स्किन पोजिटिभ देखिएको थियो ।

भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पशुपन्छी विकास महाशाखाका पशुविकास अधिकृत प्रचण्ड खड्काले पहिलोपटक मन्त्रालयको टिम सल्यान पुगेर रोगबारे जनचेतनामूलक कार्यक्रम गरेपनि औषधि पत्ता नलागेका कारण संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको जानकारी दिनुभयो ।

एक लाख पशुचौपायको उपचार
मन्त्रालयका अनुसार संक्रमितमध्ये एक लाख २५ हजार ९१ वटा पशुचौपायाको उपचार गरिएको छ । पशुपन्छी विकास महाशाखाका पशुविकास अधिकृत प्रचण्ड खड्काले लम्पी स्किन रोग कर्णालीका कुनाकुनामा फैलिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार जम्मा नौ हजार ९०१ डोज खोप पशुचौपायलाई लगाइएको छ । सुर्खेतमा एक हजार ५२५, डोल्पामा एक हजार ५८५, मुगुमा पाँच सय, जुम्लामा पाँच सय, कालीकोटमा एक हजार, दैलेखमा २७५, सुर्खेतमा एक हजार ९९४, सल्यानमा ९०७, रुकुमपश्चिमा एक हजार १७५, जाजरकोटमा चार सय ४० पशुवस्तुमा खोप लगाइएको कृषि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले महामारी रोग नियन्त्रण कार्यक्रमबाट पहिलो गत वैशाख चार गते लम्पी स्किन रोगविरुद्धको दुई हजार पाँच सय डोज खोप खरिद गरेको थियो । त्यसमध्ये पाँच सय जाजरकोट, एक हजार रुकुम पश्चिम र एक हजार सल्यानमा पठाइएको थियो । यस्तै पशुपन्छी विकास निर्देशनालय सुर्खेतबाट एक हजार डोज खोप खरीद गरी पशु अस्पताल तथा पशु सेवा कार्यालयमार्फत पालिकाहरुमा पठाइएको मन्त्रालयले जनाएको छ । अहिले लम्पी स्किन रोकथाम तथा नियन्त्रणका लागि ४० लाख रकमान्तर गरी १४ हजार डोज खोप तथा अन्य औषधी खरिद गरिएको छ ।

मन्त्रालयले हालसम्म जम्मा १७ हजार खोप खरिद गरिएको जनाएको छ । जसमध्ये नौ हजार ९०१ डोज खोप प्रयोग भइसकेका छन् भने सात हजार ९९ डोज खोप बाँकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?