‘पढ्नकै लागि विदेश जानुपर्दैन, जाने नै भए नेपालमै डिग्री गरेर गए हुन्छ’

डिबी शर्मा
Read Time = 13 mins

लामो समयदेखि गुणस्तरीय शैक्षिक उन्नयनमा लागिपरेको नाम हो गीता राणा । ग्यालेक्सी पब्लिक स्कुलको संस्थापक प्रिन्सिपल भएर निरन्तर उहाँले शिक्षा क्षेत्रमा योगदान पुर्‍याउँदै आउनुभएको छ । देशकै गुणस्तरीय संस्थागत विद्यालयहरूको सूचीमा निरन्तर अग्रपंक्तिमा उहाँले यस विद्यालयलाई स्थापित गर्दै आउनुभएको छ । यतिबेला यो उत्कृष्ट नमुना शैक्षिक केन्द्रका रूपमा स्थापित भएको छ । राणाको अथक मिहिनेतले यो सम्भव भएको हो । उहाँले अन्य हजारौं संस्थागत विद्यालयका व्यावहारिक र नीतिगत समस्याको पैरवी पनि गर्दै आउनुभएको छ ‘राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)मार्फत् । उहाँले एन प्याब्सनको संस्थापक अध्यक्ष रहेर पनि कार्यसम्पादन गर्नुभयो । राणाले तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीबाट दोस्रो संविधानसभा सभासद् (२०६९-२०७२) को प्रतिनिधित्व गर्दै नेपालको संविधान २०७२ निर्माणमा समेत आफ्नो सक्रिय सहभागिता जनाउनुभएको थियो । एक सफल शिक्षासेवी, शिक्षाविद्का साथसाथै राणाले खेलजगत् र समाजसेवामा पनि आफूलाई उत्तिकै समर्पण गर्नुभएको छ । उहाँ आदर्श र नैतिकतामा आधारित सम्मानजनक जीविकोपार्जन गराउने शिक्षा आजको आवश्यकता रहेको बताउनुहुन्छ । गुणस्तरीय शिक्षामा जोड दिनु आजको आवश्यकता हो भन्नुहुने गीता राणासँग हिमालय टाइम्सका लागि डिबी शर्माले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :

यसपालिको एसइईको नतिजालाई कसरी लिनुभएको छ ?
ग्रेडिङ सिस्टममा नतिजा आएको छ । नतिजा राम्रो छ ।
एसइईपछि यतिबेला विद्यार्थी राम्रो कलेज र विषय छान्ने चटारोमा छन् । कसरी राम्रो कलेज छान्ने ?
विषय छान्न अप्ठ्यारो छैन । कुनमा राम्रो आएको छ त्यही नै छान्ने हो । विद्यार्थीको रुचि, चाहना, योग्यता, क्षमता, दक्षता र आफूले कुन विषयमा भविष्यमा राम्रो गर्न सक्छु भन्ने लाग्छ त्यही विषय छान्नुपर्छ । कलेज छान्न विद्यार्थीले अभिभावकको साथ पनि लिनुपर्छ । मेरो छोराछोरीले छानेको कलेज ठीक छ कि छैन भनेर अभिभावक पनि चनाखो हुनुपर्छ ।
कलेज फ्रेन्ड्ली छ, छैन हेर्नुपर्छ । कलेजको रिजल्ट कस्तो छ त्यो पनि हेर्नुपर्छ । कलेजले ज्ञानलाई बुद्धि, विवेक र संस्कारसँग कत्तिको जोड्छ, सीप र प्रविधिसँग कसरी जोड्छ त्यसलाई ध्यान दिनुपर्छ । यस्तै त्यहाँ अध्ययन गरिरहेका विद्यार्थी सन्तुष्ट छन् कि छैनन् त्यो पनि हेर्नुपर्छ ।

कलेजहरूमा अस्वस्थ प्रतिस्पर्धा छ भन्ने गरिन्छ नि ?
यसमा पनि अभिभावकले मूल्यांकन गर्नुपर्छ । कति तिर्न सक्छु भन्ने अभिभावक आफैंले हेर्ने हो । सकेसम्म नजिकैको राम्रो कलेज छान्नुपर्छ । कलेजलाई विद्यार्थी आवश्यक छ त्यसैले उनीहरूले अनेक प्रलोभन दिएर तान्ने गरेको पाइन्छ ।

हाम्रो वर्तमान शिक्षालाई कसरी लिनुभएको छ ?
देशको वर्तमान शिक्षा समयानुसारले परिवर्तनशील छ । वेष्टर्न प्रभाव पनि हाम्रो शिक्षामा परेको छ । यसका केही सकारात्मक प्रभाव पनि रहेका छन् भने यसको नकारात्मक प्रभावमा हाम्रो परम्परागत शिक्षा प्रणालीलाई असर पुर्‍याएको छ । हामीले गुणस्तरीय शिक्षामा जोड दिनु आजको आवश्यकता हो । गुणस्तरीयताको परिभाषाभित्र अन्तर्राष्ट्रिय आवश्यकता, राष्ट्रिय आवश्यकताका विषय पर्दछन् । स्थानीय आवश्यकता पूर्ति गर्न सक्ने दक्ष जनशक्ति युरोप, अमेरिका नगइकन नै त्यतातिर गएकाहरूले भन्दा राम्रो आम्दानी आफ्नै भूमिमा बसेर गर्छन् । आधारभूत शिक्षाको विषयको विविधता रहनुुपर्छ । सम्मानजनक रोजगारीका लागि सम्भावित विषयको पहिचान गर्नु पहिलो आवश्यकता हो । कुन-कुन क्षेत्रमा के–कति समयका लागि के–कति जनशक्तिको आवश्यकता पर्छ भन्ने तथ्यांक लिएर तद्नुसार जनशक्ति उत्पादन गर्ने योजना बनाउनुपर्छ । यसप्रकारको प्राविधिक वा व्यावसायिक शिक्षा स्वभावैले महँगो हुन सक्छ । यसका लागि राज्यले शैक्षिक ऋणको व्यवस्था गर्नुपर्छ । शुल्क बुझाउन नसक्ने असमर्थ अभिभावकका बालबालिकाको अभिभावकत्व राज्यले ग्रहण गर्नुपर्छ । लगानीको सुरक्षा दिने ग्यारेन्टीसहित निजी क्षेत्रलाई उत्प्रेरित गर्न सकिन्छ । आदर्श र नैतिकतामा आधारित सम्मानजनक जीविकोपार्जन गराउने शिक्षानीति हुनु आवश्यक छ ।

नेपालको शिक्षा प्लस टु गराउने अनि बाहिर पठाउने भएको देखिन्छ नि ?
त्यो गलत हो । अहिले त हाम्रो देशमै धेरै राम्रा कलेज छन् । डिप्लोमा पनि नेपालमा धेरै राम्रो छ । पढ्नकै लागि विदेश जानुपर्दैन । विदेश जाने नै भए पनि प्लस टु मात्रै होइन कि नेपालमै डिग्री गराएर मात्र विदेश पठाए हुन्छ । देशमै राम्रा गुणस्तरीय कलेज स्थापना भएका छन् । तर पनि विद्यार्थीको एक किसिमको लहड नै छ विदेश जाने । यसले हाम्रो देशको ठूलो धनराशि विदेशिएको छ । यसलाई रोक्न पहल गर्नुपर्छ । देशमै गुणस्तरीय शिक्षा रोजगारीको अवसर सिर्जना गर्न सम्बन्धित निकायले पहलकदमी लिन आवश्यक छ ।

देशको शिक्षा क्षेत्रमा ग्यालेक्सी पब्लिक स्कुलको योगदान कस्तो रहेको पाउनुहुन्छ, आफैंले मूल्यांकन गर्दा ?
यो अप्ठ्यारो प्रश्न हो । आफैंले आफैंलाई मूल्यांकन गर्नु भनेको गाह्रो काम हो । फेरि पनि हामीले गरेका काम र पु¥याएका योगदानका बारेमा मूल्यांकन भइरहेको हुन्छ । संस्था भनेको त भौतिक संरचना र शैक्षिक स्टाफ हो । पढाउने सबैले एउटै हो । पाठ्यक्रम राम्रो छ । आफैंमा राम्रो भएपछि त्यहीअनुसार फलो गर्ने हो । मेनपावर र भौतिक संरचना हेर्ने हो । हामीले जब ग्यालेक्सी पब्लिक स्कुल सञ्चालनमा ल्यायौँ त्यसबेला एउटा पाठ्यक्रममा आधारित भएर पढाउनुपर्ने थियो । हामीले पाठ्यपुस्तकमा मात्र आधारित नभएर अरू थुप्रै क्रियाकलाप पनि थप्यौँ । ग्यालेक्सीलाई चिन्ने माध्यम भनेको नै किताबबाट मात्र नपढाएर अरू क्रियाकलाप पनि गरेर विद्यार्थीलाई सक्षम बनाएका थियौँ त्यो बेला । त्यसपछि हामीले अतिरिक्त क्रियाकलापलाई अतिरिक्तका रूपमा नराखेर अनौपचारिक शिक्षाका रूपमा राख्यौँ । यसले विद्यार्थीलाई आफूमा भएको क्षमतालाई पहिचान गर्न सहयोग पुग्यो । धेरै विद्यार्थी त्यही पहिचानका कारणले गर्दा धेरै राम्रो ठाउँमा पुग्न सफल भएका छन् । मलाई के लाग्छ भने विद्यालयमा गुणस्तरीयता छ वा छैन भनेर थाहा पाउन त्यो विद्यालयमा पढेका विद्यार्थीले सही रूपमा आफ्नो जीवनयापन गर्न सकेको छ कि छैन भन्ने हेर्नुुपर्ने हुन्छ । यदि विद्यार्थीले सही रूपमा आफूलाई बजारमा प्रयोग गर्न सकेका छन् भने त्यहाँ गुणस्तरीयता छ, सकेका छैनन् भने गुणस्तरीयता छैन भन्ने बुझिन्छ । यसका साथै विद्यालयको शिक्षा तथा कामप्रति अभिभावक तथा विद्यार्थी सन्तुष्ट छन् भने विद्यालयमा गुणस्तरीयता छ भन्न सकिन्छ । गुणस्तरीयता समयसापेक्षरूपमा परिवर्तन हुने गर्दछ । विद्यार्थी तथा अभिभावकको रुचि तथा चाहना समयानुसार परिवर्तन हुने गर्दछ । त्यहीअनुसार शिक्षामा पनि परिवर्तन हुनुपर्छ, जुन परिवर्तन यस विद्यालयले स्वीकार गर्न सकेको छ ।

आफ्नो जीवन यहाँले शिक्षामा समर्पित गर्नुभएको छ, कसरी लिनुहुन्छ यो समयलाई ?
मेरो जीवनको महत्वपूर्ण समय शिक्षामा समर्पण गरेँ । यो क्षेत्रमा लाग्दा मैले आफैंलाई धेरैपल्ट बिर्सिएकी छु । शिक्षा नै मेरो जीवनको पहिलो र अन्तिम लक्ष्य हो । शिक्षा प्रत्येक नागरिक, नागरिक समाज र राष्ट्रको मेरुदण्डमात्र होइन मस्तिष्क र प्राणसमेत हो । मैले यस विश्वासलाई यथासम्भव मूर्तरूपमा व्यवहारमा उतार्न प्रयत्न गरेकी छु । मलाई के लाग्छ भने शिक्षा सर्वसुलभ गर्नुुपर्छ । मास एजुकेसनमा जोड दिनुपर्छ । अनावश्यक प्रतिस्पर्धालाई रोक्नुपर्छ ।
अन्त्यमा,
विद्यार्थी, अभिभावक र शिक्षक सबैले सबैभन्दा महत्व शिक्षालाई नै दिनुपर्छ । कलेजले विद्यार्थी पाइसकेपछि पहिलो दिनदेखि नै केयर गर्नुपर्छ । अभिभावकले पनि आफ्ना बच्चाहरूका गतिविधिलाई निगरानी गर्नुपर्छ । अनि पढ्ने भनेको विद्यार्थीले हो । प्लस टु पढ्ने विद्यार्थी आफैंमा बुझ्ने भइसकेका हुन्छन्, उनीहरूले पनि आफ्नो पढाइबारे आफैंले बढी ध्यान दिनुपर्छ । त्यो गर्दा विद्यार्थीले सफलता हासिल गर्छ ।

गीता राणा ग्यालेक्सी पब्लिक स्कुलको संस्थापक प्रिन्सिपल हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?