वडाबाटै सामाजिक सुरक्षा भत्ता, वृद्धवृद्धा भत्ता लिन बैंक जानुपर्ने बाध्यता हट्यो

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 10 mins

पाल्पा । सरकारले २०७३ सालबाटै सामाजिक सुुरक्षा भत्ता वितरण बैंकिङ प्रणालीबाट शुरु गरेको थियो । तर, भत्ता बैंकमार्फत वितरण गर्ने प्रणाली पारदर्शी भए पनि सेवाग्राहीका लागि कष्टकर बनेको छ । जनप्रतिनिधि र वडाका कर्मचारीमार्फत घरैमा बसेर भत्ता बुझ्दै आएका पाल्पाका लक्षित वर्गका लाभग्राहीलाई बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुन थालेपछि बैंकसम्म पुग्न, बैंकिङ प्रणालीका कागजी प्रक्रिया मिलाउन र भत्ता बुझ्न सास्ती भइरहेका बेला केही स्थानीय सरकारले भने वडा–वडामा पुुगेर भत्ता वितरण थालेका छन् ।

सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता खोल्न र भुक्तानीका लागि अनिवार्य आफैँ बैंक पुग्नुपर्ने र बैंकमा कागजी प्रक्रिया पनि आफैँले मिलाउनुपर्ने भए पनि जेष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिले सास्ती भोग्नुु परेपछि जिल्लाको बगनासकाली गाउँपालिका र माथागढी गाउँपालिकाले भने वडामै पुुगेर भत्ता दिन थालेका हुन् ।

वृद्धवृद्धाहरुलाई वर्षौदेखि सामाजिक सुरक्षा भत्ता बुझ्न नै महाभारत हुँदै आएको अवस्थामा स्थानीय सरकारले वडामै पुगेर भत्ता दिन थालेका छन् । गाउँ घरबाटै भत्ता पाउन थालेपछि जेष्ठ नागरिक उत्साहित भएका छन् । माथागढी गाउँपालिका–७ का पहलमान थापा उमेरले ८५ पुग्नुुभयो । उहाँलाई सामाजिक सुरक्षा भत्ता बुझ्नै महाभारत हुन्छ । घरबाट गाउँपालिकाको कार्यालय झडेवा पुग्नै ३ घण्टा लाग्छ । वर्षौदेखि वृद्ध भत्ता बुझ्न गाउँपालिका नै पुग्नुपर्ने बाध्यताले सेवाभन्दा बढी सास्ती हुन्छ । तर अहिले यी समस्याबाट उहाँ जस्ता हजारौं लक्षित व्यक्तिले छुटकारा पाएका छन् । गाउँपालिकाले वडाबाटै भत्ता बाँड्न थालेपछि नागरिकलाई सास्ती कम भएको छ । ‘बुढेसकालमा धेरै सहज भयो, दुई खुड्किलो टेक्दा वडा कार्यालय पुगिन्छ, त्यहीबाट भत्ता पाउन थालेको छु’ थापा भन्नुहुन्छ, ‘टाढा हुँदा न बैंकबारे केहि बुझिन्थ्यो न भत्ता लिन जानै सजिलो थियो, सबै सास्ती कम भयो ।’ माथागढीकै केशव राना अपाङ्ग हुनुहुन्छ । उहाँको शारीरिक दुर्बलताले पाउने सामाजिक सुरक्षा भत्ता लिनै सधैं कष्ट हुन्थ्यो । वरपरका छिमेकीको सहयोगमा बोकेरै उहाँलाई लैजानुपथ्यो । तर वडाबाटै भत्ता वितरण सुरु भएपछि अहिले राहत मिलेको छ । अहिले वडाबाटै बाँड्न थालेपछि गाउँपालिकाको कार्यालय धाउनुपर्ने बाध्यता कम भएको राना बताउनुहुन्छ ।

गाउँपालिकाले आफ्ना नागरिकलाई वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । नागरिकको सेवालाई सहज बनाउने उद्देश्यले वडाबाटै भत्ता वितरण गरिएको हो । भौगोलिक विकटताका कारण बैंकिङ सेवा र गाउँपालिका केन्द्रसम्म कष्टकर यात्रा गरी धाउनुपर्ने सास्तीलाई कम गर्न स्थानीयस्तरबाटै भत्ता वितरण गर्न थालिएको सामाजिक विकास समितिका संयोजक तथा वडा १ वडा अध्यक्ष राजकुमार पन्थीले बताउनुभयो । गाउँपालिका पञ्जिकरण सेवा ईकाईको आयोजना तथा नेपाल ईन्भेष्मेण्ट मेघा बैकको समन्वयमा पालिकाले वडामा पुगेर समुदायस्तरा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । यातायातको पहुँच कम भएका वडाहरु वडा ४, ५, ६, ७ र ८ वडाका टोलबस्तीमै पुगेर अहिले भत्ता वितरण गरिएको पन्थीको भनाई छ । उहाँका अनुसार छिट्टै वडा १, २ र ३ का वडामा पुगेर घुम्तीमार्फत भत्ता वितरण गरिने छ ।

यस्तै बगनासकाली गाउँपालिकाले पनि वडाबाटै सामाजिक सुरक्षा भत्ता बापतको रकम वितरण थालेको छ । गाउँपालिकाले चालु आवको पहिलो त्रैमासिकदेखि नै वडातमै पुगेर सामाजिक सुरक्षा वितरण थालेको हो । बैंकमा घण्टौं लाइन बसेर टाढाबाट भत्ता लिन जान कठिन परेको बेला वडाबाटै भत्ता बुझ्न पाएपछि वृद्धवृद्धाहरूको उत्साहित भएका छन् । वडा २ पोखराथोकका ७९ वर्षीय हेमलाल नेपालीले वडाबाटै भत्ता बुझ्न पाएपछि निकै उत्साहित हुनुभयो । उहाँ भन्नुहुन्छ ‘निर्वाचनका बेला भोट माग्न आउँदा बृद्ध भत्ता वडाबाट दिन्छौं भन्थे, त्यतिबेला विश्वास लागेको थिएन, अहिले भने निर्वाचनमा मतदातासँग गरेको प्रतिवद्धता अनुसार नै काम सुरु गरेकोमा निकै खुसी लागेको छ ।’ मानकुमारी कुमाल पनि वडाबाट भत्ता बुझ्न पाउँदा स्थानीय सरकार घर आँगनमै आएको जस्तो लागेको बताउनुहुन्छ । ‘भत्ता बुझ्नका लागि एक डेढ घण्टा हिंडेर बैंक जानुपथ्यो, बुढेसकालमा आउन जानै समस्या’ उहाँले भन्नुभयो, ‘अहिले त गाउँपालिका र जनप्रतिनिधिले जेष्ठ नागरिकको मनको कुरा बुझेर होला वडाका गाउँबाटै भत्ता बुझ्ने व्यवस्था गरेका छन् ।’ गाउँपालिकाको चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण असार २३ देखि साउन ८ गतेसम्म जारी राखेको गाउँपालिकाका एमआईएस अपरेटर भोजराज भट्टराईले बताउनुभयो । सामाजिक सुरक्षा भत्ता वितरणसँगै गाउँपालिकाले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमलाई समेत निरन्तरता दिएको छ ।

यसअघि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कर्मचारीबाट बदमासी भएको भन्दै लाभग्राहीलाई बैंक खातामार्फत भत्ता दिने नीति बनाए पनि भत्ता लिन सदरमुकाम नै पुग्नुपर्ने भएकाले वृद्ध तथा अशक्तले झन्झट र दुःख सास्ती व्यहोर्नु परेको थियो । अझ साहारा कोही नहुने र आफैं हिँडडुलसमेत गर्न नसक्ने अशक्त, अपांगले बिचौलिया खोज्नुपर्ने बाध्यता समेत थियो । बैंक खाता अनिवार्य गरेपछि बैंकसम्म पुग्न भौगोलिक कठिनाइले सकस हुने गरेको लाभग्राहीहरूबाट गुनासो आएपछि कर्मचारी र जनप्रतिनिधिको उपस्थितिमा भत्ता वितरण गर्न थालिएको पालिकाहरुले जनाएका छन् ।

बैंकहरूले सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीको सहजताका लागि छुट्टै व्यवस्था नगरेका कारण यहाँका अन्य पालिकाका नागरिकले सास्ती भोग्नु परेको छ । पालिकाहरूले पालिकाभित्रैका बैंकमार्फत भत्ता वितरण गर्ने नीति ल्याए पनि पालिकाको केन्द्र पुग्न दिनभर हिँड्नुपर्ने वा महँगो रकम तिरेर सवारी रिजर्भ गर्नुपर्ने बाध्यता छ । अधिकांश सामाजिक सुरक्षा भत्ता लिने उमेर समूहका मानिस अरूको सहारा लिनुपर्ने अवस्थाका छन् । परिवारका सदस्य वा छिमेकीको सहारा लिने लाभग्राहीले बुझेको भत्ताको केही प्रतिशत सहयोग गर्नेलाई दिने गरेका छन् ।

नियमित सवारी नचल्ने भएकाले रिजर्भ गर्दा भाडा महँगो हुने अझ आवतजावत र अन्य खर्चसमेत स्वयं लाभग्राहीले व्यहोर्नुपर्ने भएपछि भत्ताबापत आउने रकम आधाभन्दा बढी खर्च भइसक्ने समस्या छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?