उद्योगमा अघोषित लोडसेडिङ, मारमा उद्योगी-व्यवसायी

Read Time = 3 mins

भैरहवा

कोभिडले थला पारेको उद्योगधन्दाहरु विस्तारै चलायमान हुन थालेको छ । तर उद्योग नगरी भनेर चिनिने रुपन्देहीको भैरहवामा भने अघोषित लोडसेडिङ तगारो बनेको छ । अघोषित रुपमा लोडसेडिङ, लो भोल्टेज, ट्रिपिङलगायतका समस्याका कारण यहाँका दर्जन बढी उद्योगको उत्पादन बन्द गर्नुपर्ने अवस्थामा पुगेका हुन् ।

विद्युत अनियमित हुँदा यहाँका उद्योगी, व्यवसायी मात्रै होइन सर्वसाधरण पनि सहज ढंगले काम गर्न पाएका छैनन् । अत्यधिक गर्मीबीच अघोषित रुपमा भइरहेको लोडसेटिङले आमनागरिकको जीवन पनि कष्टकर बन्दै गएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले उद्योगमा एक महिनादेखि दैनिक १२ घण्टा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म गरिएको अघोषित रुपमा लोडसेडिङले उद्योग सञ्चालनमा समस्या आएको बताउनुभयो ।

दिनको समयमा पनि पटक/पटकको ट्रिपिङ, लो भोल्टेजको कारण उद्योगमा उत्पादनमा रहेका कच्चा पदार्थ बिग्रने, उत्पादन गर्न नसकेकाले बजारमा मालवस्तुको अभाव हुने तथा अन्य विविध प्रकारका नोक्सानी व्यहोर्नुपरेको उहाँले बताउनुभयो । घण्टौँ लगाएर कतिपय वस्तुको उत्पादन हुन्छ बीचमै विद्युत गएर ती वस्तु उत्पादन नभई फाल्नु पर्ने हुन्छ जसले लागत पनि बढेको छ, अध्यक्ष न्यौपानेले भन्नुभयो । नेपाल विद्युत प्राधिकरण बुटवल ग्रीड महाशाखा, प्रादेशिक कार्यालय र वितरण केन्द्र भैरहवा, बुटवल र नयाँ मिलमा ध्यानाकर्षण गराइएको उहाँले जानकारी दिनुभयो ।

रुपन्देहीका ३३ केभीए विद्युततबाट चल्ने ५० बढी उद्योगमा वैशाख दोस्रो सातादेखि दैनिक १२ देखि १६ घण्टा अघोषित लोडसेडिङ भइरहेको संघका एशोसियट सदस्य विकास गोयनकाले बताउनुभयो । यी क्षेत्रमा दैनिक बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म विद्युत आपूर्ति ठप्प हुने गरेको छ ।

विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवे विद्युत आपूर्तिमा समस्या भएको कारण उद्योगतर्फ समस्या आएको बताउनुहुन्छ । आएको विद्युत वितरण गर्ने हो, उद्योगको माग अनुसारको आपूर्ति नभएकोले विद्युत अनियमित हुने गरेको छ यो अघोषित लोडसेडिङ होइन, उहाँले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?