प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

राजकीय सम्मानका साथ अन्त्येष्टि

अनिल क्षेत्री
Read Time = 13 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ । ६९ वर्षीय दाहालको बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्य अवस्था जटिल भएपछि बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्राध्यापक डा.युवराज शर्माका अनुसार सीता दाहाललाई बुधबार बिहान ८ बजे हृदयाघात भएपछि अस्पताल लगिएको थियो । उपचारकै क्रममा सीताको ८ बजेर ३३ मिनेट जाँदा निधन भएको हो । यसअघि अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गर्दा पनि सीताको रोग निको भएको थिएन ।

सीता दाहालको पार्थिव शरीर राजकीय सम्मानका साथ हिन्दू परम्पराअनुसार पशुपतिनाथ आर्यघाटमा बुधबार नै अन्त्येष्टि गरिएको छ । दिवंगत सीता दाहालको प्रधानमन्त्री प्रचण्ड, उहाँका दुई छोरीहरू रेणु र गंगा दाहालले दिउँसो साढे ३ बजे पार्थिव शरीरमा दागबत्ती दिनुभएको थियो । प्रधानमन्त्री प्रचण्डसँगै रेणु र गंगा पनि चिता वरपर घुम्नुभएको थियो । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सीताको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाउनुभएको थियो । साथै सेनाको टुकडीले राष्ट्रिय सम्मानस्वरूप अन्तिम सलामी दिएको थियो । दिवंगत सीतालाई श्रद्धाञ्जलि अर्पण गर्न एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासहित सांसद, सचिव, कूटनीतिक नियोगका पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, पेसाकर्मी, व्यवसायी तथा शुभेच्छुकलगायत पशुपतिनाथ पुगेका थिए । यसअघि बुधबार मध्यान्ह बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।

नर्भिकबाट दाहालको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलिका लागि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । पेरिसडाँडा पुगेर विभिन्न दलका नेता र विदेशी कूटनीतिज्ञहरूले दाहाललाई श्रद्धाञ्जलि दिएका थिए । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजाल, नेकपा एमालेका उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल लगायतले पेरिसडाँडा पुगेर श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । यस्तै, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि श्रद्धाञ्जलि दिन पेरिसडाँडा पुग्नुभएको थियो ।

विशिष्ट व्यक्तिहरूद्वारा दाहालको निधनमा दुःख व्यक्त
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरेर दुःख व्यक्त गर्नुभएको हो । राष्ट्रपति पौडेलले प्रधानमन्त्रीसहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भन्ने कामना गर्दै गहिरो समवेदना पनि प्रकट गर्नुभयो ।

यस्तै, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत दाहालको निधनको खबरले मर्माहत भएको उल्लेख गर्दै लेख्नुभएको छ, ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । पुष्पकमल दाहालप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु ।’

यस्तै, पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री प्रचण्डकी दिवंगत पत्नी सीता दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । पूर्वराजा शाहले सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्न आफ्ना प्रतिनिधि पशुपतिभक्त महर्जनलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पठाउनुभएको थियो । पेरिसडाँडा पुगेर महर्जनले पूर्वराजाको तर्फबाट सीता दाहालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री प्रचण्डसहित शोकाकुल परिवारमा समवेदना प्रकट गर्नुभएको हो ।

प्रचण्डको राजनीतिक सारथि हुनुहुन्थ्यो सीता
सीता कम बोल्ने सरल र सौम्य स्वभावकी हुनुहुन्थ्यो । पार्टी र नेतृत्वको हितमा बोल्ने सीताको बानीले नेता तथा कार्यकर्तालाई गहिरो प्रभाव पारेको थियो । माओवादीका नेताहरू सीता जहिले पनि पार्टीको हितमा प्रतिबद्ध रहेको र एउटा इतिहास कोरेर गएको उल्लेख गर्छन् । सीता प्रचण्डको जीवनसाथी मात्र नभई राजनीतिक सारथि अर्थात् प्रचण्डको खास सल्लाहकार भएको प्रचण्ड नजिकका माओवादी नेताहरूको भनाइ छ । सीताको सहयोगबिना करिब साढे तीन दशकदेखि पार्टी नेतृत्वमा रहन आफूलाई सम्भव नभएको स्वयं प्रचण्डले भन्ने गर्नुभएको छ । औपचारिक शिक्षा सामान्य भए पनि सीताले माओवादी आन्दोलनलाई यहाँसम्म ल्याइपु¥याउन ठूलो भूमिका खेलेको माओवादी नेताहरूको भनाइ छ ।

पार्टीमा अन्तरसंघर्ष चर्किँदा पनि सीताले प्रचण्डलाई सम्झाउने गरेको माओवादी नेताहरू स्मरण गर्छन् । सशस्त्र युद्धको बेला होस् या शान्तिपूर्ण राजनीतिमा दाहालले कहिल्यै शक्तिको दुरुपयोग नगरेको माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल बताउनुहुन्छ । माओवादीकी पूर्वनेतृ हिसिला यमीले प्रधानमन्त्री प्रचण्डले असल सल्लाहकार गुमाएको बताउनुभएको छ । २०७४ मा छोरा प्रकाशको अल्पायुमै निधन भएपछि सीताको स्वास्थ्य झन् कमजोर हुँदै गएको थियो । बुवाको पदचाप पछ्याउँदै अघि बढेका प्रकाशको निधनले सीतामाथि बज्रपात भएको थियो । बुवाको सफलतापछि प्रकाशलाई राजनीतिमा अघि बढाउने सीताको सपना थियो । जुन साढे पाँच वर्षअघि अवशान भइसकेको छ ।

एक दशकमा प्रचण्डलाई तीन वियोग
पत्नी सीताको निधनसँगै प्रचण्डले एक दशकमै आफ्नो परिवारभित्रै तीन वियोग खेप्न पुग्नुभएको छ । प्रचण्डले दुई सन्तान र श्रीमतीसमेत गुमाउनुभएको छ । प्रचण्डले २०७० चैत १३ गते जेठी छोरी ज्ञानु दाहाललाई गुमाउनुभएको थियो । झण्डै आठ वर्षदेखि स्तन क्यान्सरबाट पीडित ज्ञानुको काठमाडौंमा निधन भएको थियो । उपचारको क्रममा ज्ञानुको ४० वर्षको उमेरमा अस्पतालमै निधन भएको थियो । प्रचण्डले एक मात्र छोरा प्रकाश दाहाललाई पनि २०७४ मंसिर ३ मा गुमाउनुभएको थियो ।

निधन हुँदा प्रकाश ३६ वर्षका मात्र हुनुहुन्थ्यो । चुनावी माहोलले छोपेका बेलामा प्रचण्डसमेत चुनावी प्रचारका लागि झापामा हुनुहुन्थ्यो । प्रायः बाबुकै वरपर रहने र सहयोगीको भूमिकामा रहने प्रकाश त्यस समय भने काठमाडौंस्थित निवास लाजिम्पाटमै हुनुहुन्थ्यो । तर, मंसिर ३ गते बिहान सबेरै स्वास्थ्यमा समस्या देखिएपछि तत्कालै नर्भिक अस्पताल पु¥याइएका प्रकाशको उपचारको क्रममा निधन भएको थियो । प्रकाशको निधनपछि नै उहाँकी आमा सीतामा स्वास्थ्य समस्या देखिन थालेको थियो ।

सीता दाहालको निधनपछि राजनीतिक गतिविधि ठप्प
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि बुधबार राजनीतिक गतिविधि ठप्प भए । बुधबार बिहान ८ बजे दाहालको निधन भएपछि निर्धारित राजनीतिक कार्यक्रम स्थगित भएका हुन् । बुधबार बिहान ११ बजेर १ मिनेटमा बोलाइएको राष्ट्रियसभा बैठक विशेष कारण देखाउँदै बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको छ । विशेष कारण भनिए पनि प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि बैठक स्थगित गरिएको बुझिएको छ । सीताको निधनपछि बुधबार चार बजे बस्ने भनिएको समाजवादी मोर्चाको बैठक पनि स्थगित भयो । दाहालको निधनमा कांग्रेसले पनि केन्द्रीय कार्यसमिति बैठक स्थगित ग¥यो ।

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक साउन २ गतेदेखि बस्ने गरी स्थगित गरिएको हो । चैत १७ मा मन्त्री बनेकाहरूले बुधबार आफ्नो सय दिनको प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम पनि स्थगित गरेका छन् । यस्तै, संसद्का विषयगत समितिअन्तर्गत अर्थ र उद्योग वाणिज्य तथा उपभोगक्ता हित समितिको बैठक पनि स्थगित गरिएको छ । प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधनमा मधेश प्रदेशसभामा शोक प्रस्ताव पारित भएको छ । शोक प्रस्तावपछि १ मिनेट मौनधारण गर्दै प्रदेशसभा बैठक स्थगित गरिएको छ । यस्तै, प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधनमा बुधबार सुदूरपश्चिम प्रदेशसभा बैठकमा शोक बिदा दिइएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?