पाँच वर्षमै राप्रपामा विलय भयो मिश्रको वैकल्पिक राजनीतिक धार

डिबी शर्मा
Read Time = 8 mins

काठमाडौं । विवेकशील साझा पार्टीका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ । बुधबार भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा मिश्र राप्रपा प्रवेश गर्नुभएको छ । राप्रपा तथा रविन्द्र मिश्र पक्षको एकता नाम दिइएको सभामा अध्यक्ष राजेन्द्र लिङ्देनले मिश्रलाई राप्रपामा स्वागत गर्नुभयो । राप्रपा अध्यक्ष लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गर्नुभयो । घोषणा अनुसार मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनुभएको छ । मिश्रसँगै आएका अरू नेताहरूको कार्यसम्पादन समिति, पदाधिकारी तथा केन्द्रीय समितिमा समायोजन एक हप्ताभित्रमा लिङ्देन र मिश्रले टुंग्याउने घोषणापत्रमा उल्लेख छ । त्यस्तै प्रदेश र अन्य तहको समितिको समायोजन गर्नका लागि चार सदस्यीय कार्यदल बनाइएको छ । एकता घोषणाका क्रममा बटुकहरूले स्वस्ती वाचन गर्नुका साथै शंख र घण्ट बजाएका थिए ।

स्थानीय तहको चुनावमा विवेकशीलले लज्जास्पद हार व्यहोरेपछि मिश्रले अध्यक्षबाट राजीनामा दिनुभएको थियो । गत सोमबारमात्रै उहाँले विवेकशील साझा पार्टी परित्याग गर्नुभएको हो । मिश्रसँगै विवेकशील साझाका केही नेता-कार्यकर्ता पनि राप्रपा प्रवेश गरेका छन् ।

मिश्र राप्रपा प्रवेश गरेसँगै करिब पाँच वर्षअघि विकृत राजनीतिको विकल्प दिने भन्दै गठित विवेकशील साझाको अभियानमा लागेको छ । यद्यपि पटक-पटक टुटफुट र विभाजनको सिकार भएको विवेकशील साझा पार्टी भने अस्तित्वमै छ । तर वैकल्पिक राजनीतिको जग बसाउने उज्ज्वल थापा दिवंगल भइसकेका छन् भने मिश्र पनि मार्ग परिवर्तन गर्दै राप्रपामा प्रवेश गरेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा जित हात नपारे पनि विवेकशील नेपाली र साझा पार्टीले उल्लेख्य मत ल्याएका थिए । २०७४ सालको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मिश्र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग मात्रै आठ सय मतले पराजित हुनुभएको थियो भने बागमतीमा तीन सिट जितेको थियो ।

राप्रपा अब अगाडि बढ्यो, यसको गतिलाई कसैले चाहेर पनि रोक्न सक्दैन : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी चुनावमा राप्रपा पहिलो शक्ति बन्न सक्ने दाबी गर्नुभएको छ । बुधबार रवीन्द्र मिश्र पक्षसँगको एकता कार्यक्रमलाई सम्बोधन गर्दै अब चुनावमा पहिलो बन्ने दाबी गर्नुभएको छ । आगामी चुनावमा जनताले विश्वासिलो विकल्प खोजिरहेको उहाँको भनाइ थियो । ‘देशले तीन दशकदेखि प्रजातन्त्र र गणतन्त्रको नाममा जारी लुटतन्त्रको अन्त्य खोजिरहेको छ । विश्वासिलो शक्तिको आवश्यकता छ,’ उहाँले भन्नुभयो, ‘अहिले त्यस्तो विकल्प खोज्नेहरूले राप्रपालाई आशाको नजरले हेरिरहेका छन् । राप्रपा अब अगाडि बढ्यो, बढ्यो, यसको गतिलाई अब कसैले चाहेर पनि रोक्न सक्दैन ।’ लिङ्देनले मिश्रसहित पार्टीमा आएका नेताहरूले कत्ति पनि असहजता महसुस गर्नु नपर्ने प्रत्याभूति दिलाउनुभयो । आफूहरूले पदका लागि राजनीति नगरेको भन्दै उहाँले भोलि पनि पदकै कारण झगडा नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कांग्रेस विकृत वामपन्थीकरण र प्रचण्डीकरण भयो, त्यही स्पेस लिएर राप्रपा पहिलो पार्टी बन्छ : मिश्र
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले २०४६ सालको जनआन्दोलनपछि नेपाली कांग्रेस पार्टीमा गम्भीर वैचारिक विचलन आएको आरोप लगाउनुभएको छ । बुधबार राप्रपा प्रवेश गर्दै मिश्रले कांग्रेसमा आएको विचलनपछि खाली भएको नरम दक्षिणपन्थी स्पेसलाई अब राप्रपाले उपयोग गर्ने बताउनुभयो । कांग्रेसप्रति आक्रोश व्यक्त गर्नुभएका मिश्रले मौलिक विचारबाट च्यूत भएर माओवादीको पछिपछि हिँडेको आरोप लगाउनुभयो । ‘कांग्रेस विकृत वामपन्थीकरण र प्रचण्डीकरण भएको छ । कांग्रेसले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको ‘मोडरेट कन्जरभेटिभ’ धार छाडेको छ । त्यही स्पेस लिएर राप्रपा पहिलो पार्टी बन्छ,’ उहाँले भन्नुभयो, ‘राप्रपाले त्यो स्पेसमा काम गर्नेछ । त्यो स्पेसमा धेरै ठूलो जनसंख्या छ ।’

केही समय अलमलमा रहे पनि अन्ततः गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता नेपालको हितमा नरहेको निष्कर्षमा पुगेपछि आफूले मार्ग परिवर्तन गरेको मिश्रले स्पष्टीकरण दिनुभएको छ । ‘देशको बेथितिले पोलेर २०७४ सालमा साझा पार्टी गठन गरेँ । देशमा आएको परिवर्तन आत्मसात गर्ने भनेर सुरु गरेको हो,’ उहाँले भन्नुभयो, ‘तीन वर्षपछि यसो फर्केर हेरेँ । नेपाल बदलिँदो भूराजनीतिको केन्द्र बनिसकेको छ । राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले आफ्नो काम, कर्तव्य, इमानदारीपूर्वक निर्वाह गरेका छैनन् । बदलिँदो भूराजनीतिक परिवेश, नेपालभित्र क्षयीकृत संस्था, विकृत वामवादले सौहार्दपूर्ण रूपमा बसेका भाषाभाषी, जातजातिलाई चिराचिरा पारिदिएको छ, धर्मान्तर व्यापक भइरहेको छ । यो सबै हेरेपश्चात म निष्कर्षमा पुगें कि यो देशमा राजसंस्था हुनुपर्ने रहेछ । संघीयता पनि देशका लागि घातक रहेको मेरो निष्कर्ष छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?