ऋण लिने नभेटेपछि बैंकमै थुप्रियो पैसा

Read Time = 7 mins

-रमेश भारती
काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब तान्न खोज्दा बैंकहरूले ५३ अर्ब रुपैयाँ जम्मा गर्ने आवेदन दिएका छन् । राष्ट्र बैंकले मंगलबार अधिक तरलता भएको भन्दै २० अर्ब प्रशोचन गर्नको लागि रिभर्स रिपो जारी गरेको थियो । बैंकहरूमा अधिक तरलता भएपछि न्यून ब्याजदरमा नै राष्ट्र बैंकमा पैसा राख्न बैंकहरू इच्छुक देखिएको राष्ट्र बैंकले जनाएको छ । रिपोमा बैंकहरूले ५३ अर्ब ५० करोड रुपैयाँको लागि आवेदन दिएका हुन् भने, रिपोमा औसत ब्याजदर नै २.५४०९ प्रतिशत कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।

अन्तरबैंक ब्याजदर एक प्रतिशतमा झरेपछि केन्द्रीय बैंकले मंगलबार रिभर्स रिपो जारी गरी २० अर्ब रुपैयाँ खिच्न लागेको हो । उक्त रकम केन्द्रीय बैंकले दुई साताको लागि खिच्न लागेको छ । बैंकहरूले ब्याजदर पनि निकै घटाएर आवेदन पेस गरेको राष्ट्र बैंकका डा. गुणाकर भट्टले जानकारी दिनुभयो । बैंकमा लगानीयोग्य रकम अधिक हुँदा त्यसले खर्च मात्रै बढ्ने भएकाले पनि बैंकहरू न्यून ब्याजदरमा नै रकम राख्न इच्छुक भएको उहाँले बताउनुभयो ।

‘पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएको छ । तर, कर्जा प्रवाह हुन सकिरहेको छैन । अब बैंकले यो विषयमा ध्यान दिनुपर्छ । यो गम्भीर विषय हो ।’ उहाँले भन्नुभयो, ‘बैंकको पछिल्लो अवस्थाका बारेमा हामीले अध्ययन गरिरहेका छौँ । बैंकिङ प्रणालीमा अधिक तरलताका बारेमा सम्बन्धित पक्षलाई जानकारीसमेत भएको छ ।’

अहिले बैंकहरूमा निक्षेप संकलन बढिरहेको छ तर कर्जा लगानी बढ्न सकेको छैन । कर्जा लगानी नबढ्दा बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको अवस्था छ । अहिले एक बैंकले अर्को बैंकसँग लिने सापटी अर्थात् अन्तरबैंक सापटीको ब्याजदर एक प्रतिशतमा झरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नै उक्त कुरा उल्लेख गरेको छ । सोहि अनुसार केन्द्रिय बैंकले बजारबाट तरलता तान्न खोजेको थियो ।

राष्ट्र बैंकले नीतिगत दरलाई सात प्रतिशतमा राखेको भए पनि अन्तरबैंक निकै तल झरेको छ । नेपाल राष्ट्र बैंकले अन्तरबैंक र दर नीतिगत दरभन्दा दुई प्रतिशत तल झरेमा बजारबाट तरलता प्रशोचन गर्ने जनाएको छ । आर्थिक वर्षको अन्तिममा सरकारको खर्च पनि बढ्ने भएकाले बैंकहरूमा निक्षेप संकलन बढ्नेछ । तर, कर्जा लगानी भने नभएकाले अझै तरलता बढ्दै जाने देखिएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरूको औसत सिडी रेसियो ८२ प्रतिशतमा झरेको छ ।

बैंकले चालु मौद्रिक नीतिमा गरेको व्यवस्थाअनुरूप नै ऋणपत्र जारी गर्न लागेको हो । राष्ट्र बैंकले पहिलोपटक ऋणपत्र जारी गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले ६ महिनादेखि एक वर्ष अवधिसम्मको ऋणपत्र जारी गर्ने भएको छ । बजारमा थुप्रिएको अधिक तरलताको व्यवस्थापनका लागि राष्ट्र बैंकले ५० अर्ब रुपैयाँसम्मको ऋणपत्र जारी गर्न लागेको हो । यसका लागि केन्द्रीय बैंकको राष्ट्र ऋण विभागले प्रक्रियासमेत अघि बढाइसकेको राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र जारी गर्ने विषयमा विभागीय निर्णय भइसकेको बताइएको छ ।

ब्याजदर शून्य दशमलवतिर
बैंक तथा वित्तीय संस्थाहरूले असार महिनामा भने बैंकहरूले व्यक्तिलगत मुद्दती निक्षेपमा १.९९ प्रतिशत र संस्थागत मुद्दतितर्फ ७.९९९ प्रतिशत ब्याजदर तोकेका थिए । यस्तै, बचत खातामा भने ५.४ प्रतिशतदेखि ७.४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् । सो महिनाका लागि बैंकहरूले कर्जाको ब्याजदर पनि केही घटाएका थिए । बैंकहरूले बेस रेट (आधार दर) को आधारमा कर्जाको ब्याजदर शून्य दशमलव दुई प्रतिशतदेखि शून्य दशमलव २४ प्रतिशतसम्म घटाएका थिए ।

बैंकहरूमा तरलता सहज हुँदै गएपछि अन्तरबैंक कारोबारको ब्याजदर पनि निरन्तर घटिरहेको छ । हाल अन्तरबैंक ब्याजदर १.३६ प्रतिशतमा झरेको छ । विशेषगरि बैंकिंक प्रणालीमा निक्षेप बढ्दै गएपछि नै यस्तो ब्याजदर घट्को हो ।

बैंकिङ प्रणालीमा एकैदिन २० अर्ब रुपैयाँ निक्षेप बढेको छ । राष्ट्र बैंकका अनुसार आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप बढेर ५७ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरूमा मात्रै ५० खर्ब ५० अर्ब रुपैयाँ निक्षेप पुगेको छ । अहिले बैंकहरू करिव पाँच खर्ब बढी ऋण लगानी गर्ने अवस्थामा रहेका छन् । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी ४८ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । यो आइतबारसम्मको तथ्यांक हो । तर, त्यसको अघिल्लो दिन पनि कर्जा लगानी सोही हाराहारीमा नै थियो । बैंकहरूमा पछिल्लो समय निक्षेप निरन्तर बढिरहेको छ । तर, कर्जाको माग भने न्यून छ । करिब ठप्प जस्तै छ । निक्षेप निन्तर बढिरहेको अवस्थामा पनि कर्जा प्रवाह ठप्प देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?