गणतन्त्रको भोज अनि सत्ताको अपुङ्गो !

Read Time = 15 mins

अब लेखिने विषय आफैँ भइएछ । अरूका बारेमा लेख्नेले आफ्नो सुरक्षा खोज्दोरहेछ । सधैँ आफू सुरक्षित बसेर अरूलाई प्रश्न गरिरहने लेखकलाई पाठकले प्रश्न सोधे । ‘तिमी कथा बन्ने कहिले ? या अरूलाई मात्र कथाका पात्र बनाइरहने ?’ यो आक्रोश हो कि सहानुभूति ? उसले बुझ्न सकेन । त्यत्तिकैमा अर्का सज्जन व्यक्ति आएर ठाडै अर्को प्रश्न सोधे ‘भोजमा जानु भएन ?’ झट्ट उसलाई यो प्रश्न असान्दर्भिक लाग्यो । भेट हुने बित्तिकै यो कस्तो प्रश्न हो ? कुनै कुरा थाहा छैन एक्कैचोटी भोजको प्रश्न ? म हिँड्दै छु प्रश्नहरू पनि मतिर आउँदै छन् । ‘सरलाई आज भोजमा देखिन नि ?’ मलाई राम्ररी चिन्ने एकजना भाइले पुनः भोजकै प्रश्न गरे ।

कस्को भोज ? कस्तो भोज ? कहाँ भोज ? मलाई केही थाहा भएन । मैले अनभिज्ञता प्रकट गरेँ । ‘गणतन्त्र बहालीको उपलक्ष्यमा हाम्रो पार्टीले भव्य भोज गरेका थियो नि ? धेरैजनालाई देखेँ तपाईं झन् त्यस्तो मरिमेटेर लागेको मानिस तपाईंलाई नै नदेख्दा आश्चर्य लाग्यो । उनको र मेरो पार्टी एउटै कहिलेदेखि भएछ ? पहिलो कुरा त कुनै पार्टीको थिइन दोस्रो जुन पार्टीको सिद्धान्तलाई म मन पराउँछु त्यसमा उनको विमति मात्रै होइन घृणा नै थियो । म उनको पार्टीमा गएको छैन । यसको अर्थ हो उनी मैले आस्था राख्ने राजनीतिक पार्टीमा आएको हुनुपर्दछ ।

मैले भनेँ ‘कुनै पनि भोज र खबर मेरा लागि सामान्य कुरा हुन् भाइ । म कुनै भोजमा सामेल हुँला मोज गरुँला भनेर विचार बोकेर आन्दोलनमा लागेको व्यक्ति होइन । हामीलाई चाहिएको नागरिक अधिकारसहितको लोकतान्त्रिक गणतन्त्र हो त्यो हामीले पाएका छौँ । भोलि हामीलाई सबै कुरा यही गणतन्त्रले दिइहाल्छ नि भाइ । बुझ्नुभयो यो संसारको अब्बल पद्धति हो नि ?’ उसलाई यति भनेर अलमल्याउने प्रयत्नत गरेँ तर मलाई उसको कुराले भित्री मनसम्म छोयो । यसो भनिरहँदा मेरो अनुहारमा परिवर्तनको केही झलक आएको पनि हुनसक्थ्यो । एक जना मसँग सधैँ बहस गरिरहने, तिम्रो पार्टीले तिमीलाई के दियो भनेर प्रश्नगरिरहने एन्टी पार्टीको मित्रसँगै थिए । मलाई उनीसँग केही लाज लाग्यो ।

हामी र हाम्रो आन्दोलनलाई खिसी उडाउने मौका परे डस्ने सङ्गठनमा उनी अग्रणी नै थिए भन्ने सुनेर पनि सबैको एउटै विचार भएको भए किन यस्तो हुन्थ्यो र । सबैलाई आ–आफ्नै विचारमा बाँच्ने स्वतन्त्रता हुनुपर्छ भनेर हामी नै उनको समर्थन गथ्र्यौं ।

म नैतिक रूपले केही पातलो भएको अनुभव गरेँ तापनि ठाडो प्रतिक्रिया लगाएँ । ‘भाइ म पार्टीको व्यक्ति होइन नि ? म त खास विचारधारा बोकेर हिँडेको स्वतन्त्र व्यक्ति हुँ । मलाई पार्टीको हृवीप पनि लाग्दैन तर म सिद्धान्तप्रति बफादार छु । अनि अमुक पार्टीको भोजमा म नहुनु स्वाभाविक कुरा हो । मेरो अनुपस्थिति कुनै आश्चर्यको कुरा होइन ।’ यसरी अनधिकृत बाटो भएर मसँग आउने प्रश्न धेरै हुनेछन् ।

अब म ती प्रश्नको उत्तरका निम्ति पनि तयार भइरहन पर्छ भनेर मानसिक रूपले तयार हुँदै थिएँ । किन कि यस प्रकृतिका अन्य केही घटनाहरू मेरो आस्था जोडिएका पार्टीबाट यसभन्दा पहिला पनि हुँदै आएका थिए र फाट्टफुट्ट तिनको ओठे जबाफ दिन पनि थालिसकेको थिएँ । र सुस्तसुस्त म मेरै आस्थाले उपहास गर्दै जानथालेको पात्र बनिरहेको थिएँ । मेरो सैद्धान्तिक इतिहास मेरै अगाडि लड्खडाएर ढल्दैछ र म किचिँदै छु भन्ने लाग्नथालेको थियो । र मैले भनेँ ‘म त गइन तर तपाईं त त्यस पार्टीको मानिस होइन तपाईं त्यहाँ कसरी नि ?’

‘ज्या सर म त पुरानै व्यक्ति हुँ नि ? मेरा हजुरबा अमुक नेताको सम्धी । मेरा बुवा अमुक नेताको साथी । म पनि पर्टीमा लागेर लामो समयदेखि काम गर्दै आइरहेको छु नि ? अनि म आमन्त्रित नहुने हुन्छ ।’ मैले बुझे हिजोका कुनै पनि मोर्चामा कहीँ कतै देखा नपर्ने ऊ अब्बल नेता नै भइसकेको रहेछ । यसरी नै छेपाराले झैँ रङ्ग फेरिरहनेहरूको समय थियो त्यो । मेरो ढाड दुःखेकाले केही सजिलो पारेर उभिएँ । खुट्टामा उठेर फुटेका फोरा ठेलामा परिणत भएका थिए र तिनमा चप्पल बिझाउँदै थिए । लगातार उन्नाइस दिनको अनवरत आन्दोलनको उपस्थिति र बीसौँ दिनको विजय भनिएको जुलुसले शरीर निकै गलिसकेको थियो ।

जनआन्दोलनदेखिका पुराना चोट उकल्चिने र बल्किने क्रम बढ्दै थियो । त्यसमाथि तीन दिनदेखि ज्वरोले ग्रस्त थिएँ । आजमात्रै यसो हिँडडुल गरेको नातागतीले मुख सुकिरहेको थियो । भोजको कुराले मेरोभन्दा ती भाइको मुख निकै प्रसन्न थियो । हुने नै भयो उनी भोजमा सहभागी भएर आफ्नो अब्बल आस्था प्रकट जो गरेर आएका थिए । यतिका दिनको यात्रामा उनलाई कहीँ कतै नदेख्नु र आज यसरी प्रकट हुनु दुवै अनौठा थिए । बरू उनी त कुनै प्रतिगामी सङ्गठनका नाइके थिए भन्ने सुनिन्थ्यो आज त अब्बलै बनेर देखापरेछन् । उनी र उनका केही मित्रहरू गोप्य मन्त्रणामा हुन्थे ।

हिजो हामीले मानेका क्रान्तिकारीहरू होइन नवागन्तुक क्रान्तिकारीहरू सबै सामेल रहेछन् । त्यहाँ नवबुद्धिजीवी, नवप्रोफेसर, नववकिल, नव राजनीतिकर्मी, नवपत्रकार, नवकर्मचारी, नवशिक्षक आदि सबै नववर्गका मानिसहरूको उपस्थिति थियो । जसको प्रभुत्व र प्रभाव आजको गणतन्त्रमा चलिरहेको छ ।

हामी र हाम्रो आन्दोलनलाई खिसी उडाउने मौका परे डस्ने सङ्गठनमा उनी अग्रणी नै थिए भन्ने सुनेर पनि सबैको एउटै विचार भएको भए किन यस्तो हुन्थ्यो र । सबैलाई आआफ्नै विचारमा बाँच्ने स्वतन्त्रता हुनुपर्छ भनेर हामी नै उनको समर्थन गथ्र्यौं । आज त आफ्नै विचारका अगुवा नेता बन्ने दाउमा रहेछन् । यो टोलमा म र मेरा एक दुई जना साथीबाहेक अरू धेरै मानिस निस्क्रिय थिए र हामीलाई आन्दोलनकारी भनेर खिज्याउँथे । गाउँका ठालु महाजनका व्यवहार देखेर हामी चकित हुन्थ्यौँ । तिनको अपूर्णतामा दया गर्न मन हुन्थ्यो तर उनीहरू नै हामीलाई दयाको दृष्टिले हेर्थे ।

म क्याम्पस हिँडेको थिएँ । भोजको निम्ता मसम्म आइनपुग्नाको कारणको अनुमान गर्न थालेँ । हुनसक्छ निम्ता कतै कसैको हातबाट तलमाथि भयो होला अन्यथा म ननिम्त्याइने मानिस त होइन वा छोटो समयमा घर सम्पर्क थाहा लागेन होला वा हुनसक्छ मेरो नम्बरमा सम्पर्क हुन सकेन । फेरि अर्को मनले सम्झिएँ हिजो आन्दोलनको समयका त कुनै खबर र सूचनाहरू कत्ति पनि तलमाथि नभई आउँथे त । त्यतिखेर म महत्वपूर्ण थिएँ । त्यो सम्पर्कको सञ्जाल त आज पनि नछुट्नुपर्ने हो । केही महिना त भयो हाम्रो आन्दोलन सफल भएको यति छिट्टै सम्पर्क मेटिनु नपर्ने हो ।

भोजको भोक होइन कुरा संस्कार र प्रवृत्तिमाथिको हो र प्रश्न पनि त्यतैतर्फ हो । क्याम्पसको गेटमै अर्का नवलोकतन्त्रवादी भेट भए । उनले पनि अचम्मको भाषामा प्रश्न दोहो¥याए ‘भोजमा जानुभएन ?’ मभित्रको संयम खल्बलिँदै थियो । सायद त्यसैले होला ‘त्यो भोज तपाईंहरू जस्ता क्रान्तिकारीहरूको लागि हो । म बिचरो शिक्षक कुन महत्त्वको मानिस हुँ र ?’ उनी मलिनो मुख लगाएर जालान् भन्ने मेरो अनुमानका विपरीत उनी ममाथि बर्सिए । ‘तपाईंले के भन्न खोज्या ? मलाई व्यङ्ग्य गर्ने तपाईंको भन्दा बढी योगदान मेरो छ बुझ्नुभयो ?

मेरो परिवारको इतिहास हेर्नुहोस् तपाईं को हो ? मेरो योगदानलाई अवमूल्यन गर्न खोज्ने ? मैले चाहेँ भने जे पनि गर्न वा गराउन सक्छु ।’ उनी मेरो जागिरसम्म ताक्नपछि परेनन् । मैले भनेँ ‘म केही होइन र मेरो भूमिकाबाट तपाईंलाई कुनै असर पर्दैन बरु म तपाईंको निगाहले बाँच्नुपर्ने मानिस भएँ माफ गर्नुहोला ।’ यो स्थिति बढेर जाने र कुनै समयमा म नै प्रतिगामी हुनुपर्ने अवस्थाबाट म सजग भएँ । मेरो मानसिक अवस्था नाजुक भएको र शरीर पनि कमजोरीले थरथरी कामिरहेको मैले अनुभव गरेँ र म नजिकैको चौतारीमा बसेँ ।

आज संसद बस्ने दिन । संविधानसभासम्म जानुपर्ने जनताको मागको सम्बोधन हुने दिन । देशमा चर्किएका विभिन्न खाले आन्दोलन, हत्या र आतङ्कबाट पनि देश र जनता अब मुक्त हुनुपर्ने समय । देशमाथि ठूलो सङ्कट मडारिएको समयबाट निकास निस्कने दिन । यति धेरै जिम्मेवारी भएको पार्टीमा आजै भोजको हतारो किन परे होला ? यत्तिकैमा मेरा सहयोद्धामध्येका एकजना मित्र आइपुगे । मैले उनलाई सबै कुरा बताएँ । उनी मभन्दा फरक यस मानेमा रहेछन् उनलाई भोजका बारेमा थाहा रहेछ तर आफ्नै कारणले जान सकेका रहेनछन् । र, उनले थाहा पाएअनुसार उक्त भोजमा क्रन्तिकारीहरूभन्दा बढी प्रतिगामी रहेछन् ।

त्यहाँ हिजो हामीले मानेका क्रान्तिकारीहरू होइन नवागन्तुक क्रान्तिकारीहरू सबै सामेल रहेछन् । त्यहाँ नव बुद्धिजीवी, नवप्रोफेसर, नववकिल, नव राजनीतिकर्मी, नवपत्रकार, नवकर्मचारी, नवशिक्षक आदि सबै नववर्गका मानिसहरूको उपस्थिति थियो । जसको प्रभुत्व र प्रभाव आजको गणतन्त्रमा चलिरहेको छ । गणतन्त्रको स्वादिलो भोज कुनै प्रतिगामी चरित्रको व्यक्तितकै सौजन्यमा सम्पन्न भएको रहेछ । त्यस भोजमा सबै कुुरा खाने र पिउने कुरा भएछ । यहाँसम्म कि आवश्यक परेको खण्डमा देशै खाने वा पिउनेसम्म कुराको प्रतिज्ञा गरिएछ । यतिसम्म पनि ठिकै ठानिँदो हो सत्ता नै प्रतिगामीहरूका हातमा गएको उपलक्ष्यको सुखद् भोज रहेछ त्यो ।

त्यसैले गर्दा हामी जस्ता मानिसहरू त्यहाँ छुटेका रहेछौं । त्यसपछि मलाई मानिसको बुद्धि पक्षमा घृणा गर्न मन लाग्यो । हिजो सडकमा क्रान्ति र विद्रोहका नारा घन्किँदा नसुन्ने कान, प्रतिगमनका पुत्ला जलेको गन्ध थाहा नपाउने नाक, जनसागर उर्लिएको नदेख्ने आँखा र जनभावनालाई नबुझ्ने मनहरू सबैले त्यो भोजको खबर त्यति छिटो पाउनु कति अनौठो कुरा हो । र, थप अनौठो त म हुँ जसलाई हिजोका सबै कुरा थाहा भए तर आजको त्यत्रो ठूलो भोजका बारेमा कुनै थाहा लागेन ।

म कोठामा फर्कें । मलाई नवसत्ताबाट केही लिने अभिलासा पनि थिएन । न गुमेको चिन्ता न पाउने आशा भएर पनि म आज दुःखी थिएँ अबको सत्ता यसै भोजले चलाउने छ । त्यसै दिनदेखि हाम्रा सबै सपना पूरा गर्ने गणतन्त्रका सक्कली अंशियारका अनुहार देखेर मलाई विरक्त लाग्यो । त्यसपछिका यी तमाम गतिविधिहरू त्यही गणतान्त्रिक भोजका प्रतिक्रियाहरू हुन् । प्रिय सञ्चेतना ! त्यसपछि नेतृत्वमा आउने हरेक व्यक्ति गणतन्त्रको उपहास गर्दै जाँदो छ अनि सत्ताको अपुङ्गो चाखेर मुख मिठ्याउने गरेको छ भन्ने समाचार प्रसारण गरिरहनु पर्दाको दुःख त्यो गणतान्त्रिक भोजको निम्ताभन्दा पनि पेचिलो भएर आउने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?