एमसिसी कार्यान्वयनमा लुको ताकेता

यज्ञराज पाण्डे
Read Time = 9 mins

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आफ्नो काठमाडौं भ्रमण सकेर फर्किनुभएको छ । भारत र बंगलादेश भ्रमण सकेर शुक्रबार दिउँसो काठमाडौं आइपुग्नु भएका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री लु शुक्रबार राति नै फर्किनुभएको हो । लुले नेपालमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री एनपी साउद, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । अमेरिकी सहायक विदेशमन्त्री लुले अमेरिकी कम्पनी तथा व्यवसायहरूलाई सहयोग गर्ने उद्देश्यले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थाले सञ्चालन गरेको ‘इन्सेसान्ट रेन स्टुडियो’को निरीक्षण गर्दै संस्थाका सदस्यहरूसँग पनि भेट गर्नुभएको थियो ।

परराष्ट्रमन्त्री र शीर्षस्थ नेतासँग ‘वान टु वान’ भेट
अमेरिकी सहायक विदेशमन्त्री लुले राजनीतिक भेटघाटका क्रममा अमेरिकी अनुदान सहायता परियोजना एमसिसीबारे मुख्य चासो राख्नुभएको थियो । भ्रमणका क्रममा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी अनुदान सहायता परियोजना (एमसिसी) कार्यान्वयनबारे चासो लिनुभएको छ । परराष्ट्रमन्त्री एनपी साउदसँग शुक्रबार अपरान्ह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उहाँले एमसिसी कार्यान्वयनलाई लिएर चासो राख्नुभएको हो । परराष्ट्रमन्त्री साउदसँगको भेटका क्रममा लुले एमसिसी परियोजना अनुमोदन गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिनुभयो । लुले एमसिसी कार्यान्वयन सहज र निर्धारित समयमा सम्पन्न गर्ने गरी सहयोगको अपेक्षा गरेको बताउनुभएको छ ।

त्यस्तै, लुले नेपालमा अमेरिकी लगानीमा बनिरहेका परियोजनाहरूको प्रगतिका बारेमा जानकारी लिनुभएको हो । भेटमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरूको सूचीबाट स्तरोन्नति र त्यसपछि पनि अमेरिकाबाट नेपाललाई सहयोगको निरन्तरताबारे पनि कुरा भएको हो । अमेरिकी सहयोगमा बढोत्तरी र दुवै मुलुकबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको मन्त्री साउदको सचिवालयले जनाएको छ । भेटमा परराष्ट्रमन्त्री साउदले अमेरिकाले गर्दै आएको सहयोग निरन्तर हुने अपेक्षा रहेको बताउनुभएको थियो ।

त्यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटका क्रममा एमसिसी कार्यान्वयनको अवस्था, मानव अधिकार, लोकतन्त्र र आर्थिक समृद्धिका विषयमा छलफल गरेको बताइएको छ । त्यसैगरी, उहाँले प्रधानमन्त्री पत्नी स्व. सीता दाहालको तस्बिरमा फूल चढाउँदै श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

उहाँले पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र केपी शर्मा ओलीसँगको भेटमा एमसिसी कार्यान्वयनबारे नै चासो राख्नुभएको थियो । कांग्रेस सभापतिसमेत रहनुभएका देउवाले भेटबारे ट्वीटरमा लेख्नुभएको छ, ‘नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भयो । शान्ति, लोकतन्त्रको प्रवद्र्धनमा अमेरिकी सरकार र सचिव लुसँग सहयोगबारे छलफल भयो ।’
अमेरिकी सहायक विदेशमन्त्री लुले यसअघि एमसिसीको संसदीय अनुमोदन गराउन पनि ठूलो भूमिका खेल्नुभएको थियो । उहाँले एमसिसीको संसदीय अनुमोदनअघि र पछि गरी दुईपटक नेपाल भ्रमण गर्नुभएको थियो ।

यसअघि, एमसिसी संसदीय अनुमोदन गर्ने विषयमा राजनीतिक दलहरूबीच रस्साकस्सी चलिरहेको समयमा पनि लुले नेपाल भ्रमण गर्नुभएको थियो । लु अमेरिकी सहायक विदेशमन्त्रीको हैसियतमा एमसिसीको संसदीय अनुमोदन हुनु तीन महिनाअघि २०७८ मंसिरमा र नेपालले अमेरिकाको सुरक्षा रणनीति कार्यक्रम स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) खारेजको निर्णय गरेपछि र एमसिसीको संसदीय अनुमोदन भएको पाँच महिनापछि २०७९ साउनमा गरी दुईपटक नेपाल भ्रमण गर्नुभएको थियो ।

त्यसो त लुले एमसिसी अनुमोदनअघि नेपालका तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई टेलिफोन गर्दै फागुन १६ भित्र एमसिसीको संसदीय अनुमोदन गर्न र नगरे नेपाल नीति पुनर्विचार गर्ने चेतावनी दिनुभएको थियो । सहायकमन्त्री लुले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पालैपालो फोन गर्दै उक्त चेतावनी दिनुभएको थियो । उक्त चेतावनी अमेरिका-नेपालबीच सन् १९४७ मा द्विपक्षीय सम्बन्ध स्थापित भएयताकै सबैभन्दा ‘कडा सन्देश’ भएको कूटनीतिज्ञहरूले बताएका थिए ।

लुको भ्रमणपछि एमसिसी परियोजना कार्यान्वयन चरणमा प्रवेश गर्ने समझदारीपत्रमा हस्ताक्षरका लागि एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस पी अलब्राइट नेपाल आउने कार्यक्रम तय गरिएको छ । एमसिसी कार्यान्वयनमा गएको पाँच वर्षभित्र सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख छ । सोही सहमतिअनुसार एमसिसी परियोजना सम्पन्न नभएमा त्यसको सम्पूर्ण खर्च नेपाल सरकारले बेर्होनुपर्ने छ । एमसिसी सम्झौताअनुसार अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर प्रदान गर्नेछ भने नेपालले १३ करोड डलर लगानी गर्नुपर्नेछ ।

भीम रावलको प्रश्न- अमेरिकी सहायक मन्त्रीलाई नेताहरूले भेट्नैपर्ने कुराको रहस्य के हो ?
नेकपा एमालेका नेता भीम रावलले एमसिसी कार्यान्वयनका लागि अमेरिकाले दिइरहेको दबाबबारे प्रश्न उठाउनुभएको छ । अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लुको भ्रमण र दौडधुपप्रति टिप्पणी गर्दै नेता रावलले एमसिसी नेपालको हित र नेपालकै आयोजना भए कार्यान्वयनका लागि किन दबाब दिएको ? भन्दै उहाँले प्रश्न गर्नुभएको हो ।

लुले तारन्तार नेपाल आएर ठूला दलका नेतालाई भेटेको र एमसिसी कार्यान्वयनका लागि धम्की दिएको उहाँको आरोप छ । ‘एमसिसी नेपालको हितमा र नेपालकै आयोजना भएको भए त्यसलाई लिनैपर्छ भनी अमेरिकीहरूले कहिले धम्की दिने र तारन्तार कार्यान्वयनका लागि नेपाल आई सबै ठूला दलका नेतालाई भेट्नुपर्ने किन ?’, उहाँ प्रश्न गर्नुहुन्छ, ‘अमेरिकी सहायक मन्त्री आउँदा प्रमदेखि ठूला दलका नेताहरूले भेटवार्ता गर्नैपर्ने कुराको रहस्य के हो ?’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?